कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेल थियो । उक्त खेलको उद्घाटन गर्न पुगेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । साथमा थिइन् छोरीहरू रेणु र गंगा ।
नेपाली क्रिकेट खेल जगतको लागि निकै महत्त्वपूर्ण थियो त्यो दिन । दर्शकको अत्याधिक चापका कारण खेलमैदानमा पाइलो टेक्ने ठाउँ थिएन । त्यतिमात्रै होइन, क्रिकेट मैदान वरिपरिका रूखहरूमा पनि दर्शकको जोखिमपूर्ण तैनाथी थियो ।
यतिसम्मकी बल गुडेर घेरा क्रस हुँदा चौका हुन्छ र बल उडेर घेरा क्रसः हुँदा छक्का हुन्छ भन्नेसम्मको मात्रै ज्ञान भएकाहरुको पनि हजारौं संख्यामा उपस्थिति थियो ।
क्रिकेटप्रतिको माया मात्रै नभएर नेपालका खेलाडीहरूको आत्मबल उच्च बनाउने उद्देश्यले पनि हजारौं क्रिकेटप्रेमी कीर्तिपुर मैदानमा पुगेको सहज अनुमान गर्न सकिन्छ ।
हुन पनि युएईले दिएको ३११ रनको विशाल लक्ष्यलाई नेपालले डिएल मेडथमा ९ रनले हरायो । खेलाडीहरूले घरेलु मैदानमा पाएको यो साथले विश्वको ध्यान तान्यो । नेपाली दर्शक अन्तर्राष्ट्रिय समाचार बने ।
त्यतिमात्रै होइन, उक्त दिन टिप्पणी गर्न लायक केही दृश्यहरू पनि देखिए । प्रधानमन्त्री प्रचण्डविरूद्ध दर्शकहरूले लगाएको नाराबाजी र प्रतिद्वन्द्वी टिमप्रतिको व्यवहार टिप्पणी गर्न लायक थियो । जसलाई राजनीतिप्रतिको वितृष्णाका रूपमा बुझ्न सकिन्छ ।
प्रचण्डविरूद्ध नाराबाजी गर्न नपाइने भन्ने आसय हुँदै होइन । तर, नेपाली खेलाडीहरूको मनोबल उच्च राख्न र विदेशी खेलाडीहरूलाई सम्मान गर्न खेलमैदानमा पुगेका प्रधानमन्त्रीविरूद्धको नाराबाजी शोभनीय थिएन ।
खैर, प्रचण्डविरुद्धको नाराबाजी नेपाली राजनीतिप्रतिको बढ्दो वितृष्णासँग जोडेर हेर्न सकिन्छ । राजनीतिप्रतिको वितृष्णा, यसका कारण र परिणामबारे यथेष्ट मन्थन गर्नसमेत आवश्यक छ ।
वैचारिक कारण
‘प्रचण्ड चोर, देश छोड’ भन्ने ठाउँ पक्कै पनि क्रिकेट रंगशाला होइन । विश्वले प्रत्यक्ष प्रसारणमार्फत टेलिभिजन, सामाजिक सञ्जाल हेरिरहेको खेलमा अनावश्यक नाराबाजी किन भयो ? यसका पछाडि मुख्य तीन कारण छन् ।
पहिलो, प्रचण्डप्रतिको वैचारिक पूर्वाग्रह हो । त्यहाँ केपी ओली, रवि लामिछाने जिन्दावाद भन्नेहरूले नै प्रचण्ड मुर्दावाद भनिरहेका थिए ! वर्तमान व्यवस्था ल्याउनुमा प्रचण्डको ठूलो भूमिका छ । ओली र लामिछानेलाई प्रचण्डसँग जोड्दा पनि उनीमाथि अन्याय हुन्छ ।
पछिल्लो समय लोकतान्त्रिक व्यवस्थालाई असफल बनाउनका निम्ति यथास्थितिवादी, प्रतिगामी शक्तिका मतियारहरू जोडबलले लागिपरेका छन् । संविधान र लोकतन्त्र विरोधीतत्वहरू प्रचण्डमाथि खनिनुलाई अन्यथा मान्नुपर्ने कारण छैन । तर, अनावश्यक विरोध र आलोचनाले लोकतन्त्रलाई बलियो बनाउँदैन ।
अनावश्यक र गतल स्थानमा आफ्नो देशको पधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा अन्तर्राष्ट्रमा नेपालको गरिमा घटेको कुरा पनि हेक्का राख्नुपर्छ ।
सच्चिन नसकेको राजनीति
एकात्मक राज्य व्यवस्था फालेर ल्याएको लोकतन्त्रिक शासन व्यवस्था परिस्कृत हुन नसकेको सत्य हो । राजसंस्था फाले पनि राजकीय प्रवृत्तिको अन्त्य गर्न सकिएको छैन ।
मुलुकबाट राजा फालियो । तर, राजकीय प्रवृत्ति फाल्न सकिएको छैन । भलै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले अगुवा र पछुवाबिना हिँड्न गर्न थालेको कुराले सकारात्मक सन्देश प्रवाह भने गरेको छ ।
औंलामा गनिने कामबाहेक, वर्तमान राजनीतिक नेतृत्व ठूलो जडतामा निर्भर छ । अझ खुलेर भन्ने हो भने स्वार्थी छ । घमण्डी छ । पाखण्ड छ । समयानुकूल हिँड्न सक्दैन । युवापुस्तालाई राजनीतिमा आउन दिँदैन । सत्य कुरा बोल्नेलाई भन्दा पनि खुट्टा मोल्नेहरूलाई असल कार्यकर्ता देख्छ ।
पटक–पटक मुलुकको नेतृत्वमा पुगेर पनि शीर्षनेताहरूले खासै उपलब्धि हासिल गर्न नसकेको पनि सत्य हो । क्रिकेटतर्फ नेपाली खेलाडीहरू विश्वकपको यात्रा तय गर्दासम्म पनि सरकारले एउटा गतिलो क्रिकेट रंगशाला निर्माण नगर्नु लाजमर्दो कुरा हो । यसप्रतिको आलोचना र विरोध स्वभाभिक छ ।
लामो आन्दोलन, क्रान्ति र संघर्षपछि संविधान बनेको कुरालाई नकार्न मिल्दैन । संविधानबमोजिम राष्ट्र निर्माणको अभियान सञ्चालन भएकै छैन । जसको निम्ति संविधान कार्यान्वयन र जनताको सहभागिता पहिलो शर्त हो । उक्त शर्तलाई पूरा गर्न असल र सफल नेतृत्व चाहिन्छ । सचेत र कर्तव्यवान जनता हुनुपर्छ ।
भनिन्छ, ‘नेता हरेक आन्दोलनले जन्माउँछ । तर, नेतृत्व युगले जन्माउँछ ।’ नेतृत्व युगको माग हो । नेता समयको माग हो । राजनीति परिस्थितिको उपज हो । राजनीतिमा आन्दोलन भइरहन्छन् । आजको आवश्यक आन्दोलन भनेको रूपान्तरणकारी आन्दोलन हो । असल र सफल नेतृत्वले रूपान्तरणकारी अभियानको नेतृत्व गर्न सक्छ ।
असल र सफल नेतृत्वले असल र सफल पार्टी निर्माण गर्न सक्छ । समाजलाई लयमा हिँडाउन सक्छ । सही नेतृत्व दिनसक्छ । समाजलाई नयाँ विचार दिनसक्छ । नयाँ पुस्ता र पुराना पुस्तालाई मिलाएर लैजान सक्छ उही सफल नेता हो ।
अझ जोडले भन्ने हो भने, नेता–नेतृत्वहरूको आफ्नो–पराइ कोही हुँदैन । नेतृत्व देश र जनताको सुख र दुःख साझा र आधा–आधा महसुस गर्छ । जसले व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर सत्य बोल्न सक्छ, गतललाई गलत भन्ने आँट गर्छ ।
मुलुकको संविधान, पार्टीको विचार, सिद्धान्त, नीति र विधिको शासनबारे अविचलित हुन्छ त्यही नेता जनतामा स्थापित हुन्छ ।
जब नेतृत्वमा पुगेकाहरू विवादित बन्छन्, आलोचित बन्छन् त्यो बेला लोकतन्त्रमाथि संगीन प्रहार हुन्छ । अनाश्वयक विरोध र आलोचना बढी हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, नेता–कार्यकर्ता, सरकारी कर्मचारीहरूले आफ्नो कर्तव्य र अधिकारको सही सदुपयोग गर्न नसक्दा लोकतान्त्रिक व्यवस्थामाथि प्रहार हुन थाल्छ । सच्चिने कि सक्किने ? राजनीतिकर्मीका सामु उभिएको यो यक्ष प्रश्न हो ।
परिणाममुखी जनता
जनता विचार र सिद्धान्तभन्दा पनि परिणाममुखी बन्दै गएको देखिन्छ । उपभोक्तावादी बजार चेतनाबाट नेपाली समाज अछुतो देखिन्न । राजनीतिप्रतिको वितृष्णाको कारण यो पनि एक हो ।
नयाँ पुस्ता डेलिभरी चाहन्छ । रोजगारी चाहन्छ । सहज सेवा सुविधा चाहन्छ । सार्वजनिक संस्थानहरूको सेवा सरल, सर्वसुलभ होस् भन्ने चाहन्छ । राज्यबाट यस्ता सामान्य कुरा पनि सहज नहुँदा व्यवस्थाविरुद्ध नकारात्मक सोच बनेको छ ।
अन्त्यमा, मानव जीवनसँग जोडिएका विषयहरूको क्रमबद्ध अध्ययन नै राजनीतिशास्त्र हो । सरकार र संविधान राजनीतिक शास्त्रका मुख्य विषय हुन् । जनताहरू यी दुई विषयमा सकारात्मक सन्तुष्ट छैनन् भने लोकतन्त्रको रक्षा र विकास हुन सक्दैन । यस्तो बेला आशाहरू निराशामा परिणत हुन सक्छन् ।
लोकतान्त्रिक व्यवस्थामाथि आवश्यक–अनाश्वयक बढ्दो वितृष्णाले उचित परिणाम निस्कँदैन । बरू, गृहयुद्ध, आर्थिक संकट, अभाव, भोकमरी, दमन, हमला, विदेशी हस्तक्षेप निम्त्याउन सक्छ ।
हाम्रोजस्तो संवेदनशील देशमा जसरी राजनीति, नेता र वर्तमान व्यवस्थामाथि सुनियोजितरूपमा प्रहार भइरहेको छ । यसलाई कुनै हिसाबले पनि राम्रो मान्न सकिन्न । सुनियोजित निराशा, षड्यन्त्र र व्यवस्थामाथिको प्रहारका बारेमा समयमै सचेत नहुने भने सिर्जित परिस्थिति भयानक हुनसक्छ ।