Logo
Logo

४९ वटा गोरु सहित तस्करहरु झापामा पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

झापा, १९ कात्तिक ।
दुई वटा ट्रकमा गाईगोरू तस्करी हुन लागेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, विर्तामोड र सुरुङावाट खटिएको प्रहरी टोलीले भारततर्फ तस्करी गरिरहेको अवस्थामा कन्काई नगरपालिका वडा नं. ३ तुलसीवारीवाट ना.५ख ५९४६ र ना ६ ख ३८४१ नम्बरको दुई वटा ट्रकवाट ४९ वटा पशु चौपाया गोरु नियन्त्रणमा लिई ट्रक र चालक सहित आवश्यक कारवाहीको लागि भद्रपुर भन्सार कार्यालय, झापामा पठाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त गोरुहरु नवलपरासीवाट सोही स्थान वस्ने प्रमोद यादवले कन्काई ३ वस्ने रमेश खरेललाई वुझाउने गरी पठाइएको खुल्न आएको प्रहरीले जनाएको छ । उक्त ट्रकका चालक वारा निजगढका विर वहादुर थिङ र नवलपरासीका विजय चौधरी समेतलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

गोरु तस्करीविरुद्ध बिशेष निगरानी र कारबाही थालिएको इप्रका बिर्तामोडका डिएसपी मोहन थापाले बताए

यस्तो पशु सम्वन्धी कानूनी व्यवस्था
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद –२७ मा पशुपक्षी सम्बन्धी कसूरको वारेमा उल्लेख गरिएको छ । उक्त संहिताको दफा २८९. मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन । त्यस्तो काम कारवाहीवाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुनेछ भन्ने व्यवस्था गरेको छ । कसैले गाई वा गोरुलाई कुटी अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पुर्याएमा पचास हजार रुपैयासम्म जरिबाना हुने व्यवस्था छ ।
त्यसैगरी उक्त संहिताको दफा २९० मा कसैले कुनै पशुपक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाई वा सामथ्र्यभन्दा बढी दौडाई वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफुले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न हुँदैन । उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।


पशु ढुवानी मापदण्ड, २०६४
नेपाल सरकारले पशु ढुवानी मापदण्ड, २०६४ निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । जसमा अव्यबस्थित ढुवानीका कारण पशुको स्वास्थ्य, कार्य क्षमता, उत्पादन क्षमता र गुणस्तरीयतामा समेत प्रतिकूल प्रभाव पर्ने भएको र उपभोक्तालाई गुणस्तरीय पशुजन्य पदार्थ उपलव्ध गराउनका लागि ढुवानी सम्बन्धमा व्यबस्थित गर्ने उद्धेश्य रहेको छ । उक्त मापदण्डको नियम ५ मा पशुलाई ढुवानी गर्दा हलचल गर्न सकिने, घाउ चोट नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाइ, एक आपसमा ठोक्किएर अगंभगं नहुने गरी सावधानी पूर्बक ढुवानी गर्नु पर्ने र पशु ढुवानी गर्दा पशुमा तनाव हुने, सास फेर्न गाह्रो हुने, डाम पार्ने, हृदयघात, धपेडी, घाममा अत्यधिक जलन हुने, पेट ढाडीने, विषाक्तपन, शिकार, जलवियोजन, थकावट, घाउचोट, पिडा, जुध्ने र अंगभंग हुने जस्ता अवस्था सृजना हुन गएमा पशु प्रति असावधानी व्यवहार भएको ठहरिने व्यवस्था गरेको छ । नियम १२ मा देश भित्र आन्तरीक ओसार पसार हुने पशुको हकमा गोठालासंगै पशु निर्दिष्ट ढाँचाको पशु चिकित्सकद्वारा प्रदान गरिएको स्वास्थ्य प्रमाणपत्र हुनु पर्ने, आकस्मिक उपचारको लागि प्राथमिक उपचार सामग्री ढुवानी साधनमा रहनु पर्ने, हरेक गाडीमा पशु पठाउने र पाउनेको नाम, ठेगाना, पशुको जात तथा संख्याको विवरण प्रष्ट देखिने गरी टांसिएको हुनु पर्ने, पशु लोड गरिएको गाडिको विवरण र गन्तब्य स्थानमा पुग्ने समय पशु पाउने पक्षलाई अग्रिम जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ ।
नियम १५ मा ढुवानी गर्ने गाडीमा पशुलाई अस्वाभाविक रुपमा शरीर, नाके डोरी, पुच्छर वा खुट्टा बाध्नु हुदैन । नियम १७ मा पशु ढुवानी गर्दा गाडीमा जबरजस्ति कोचेर राख्नु हुंदैन भन्ने व्यवस्था छ ।
नियम २६ मा ढुवानी मापदण्ड अनुसार भए नभएको सुपरिवेक्षण तथा अनुगमन गर्ने कार्य पशु क्वारेन्टाइन कार्यालय, पशु क्वारेन्टाइन चेकपोष्टहरू, जिल्ला पशु सेवा कार्यालयहरू, पशु सेवा केन्द्रहरुलाई तोकिएको छ भने सुपरिबेक्षण तथा अनुगमन कार्यमा सहयोग पुर्याउने दायित्व सुरक्षाकर्मीको हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्