काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ नौटंकी, ढोंगी नेता हुन् । उनले सुशासनका चर्का कुरा गर्छन् । तर व्यवहारमा सबैभन्दा धेरै बेथिति उनकै मन्त्रालयमा छ । ठेक्कादेखि कर्मचारी सरुवासम्म चरम बेथिति देखिएको छ ।
आफ्नो अन्य मन्त्रालयमा जिम्मेवारी हेरफेर हुने भएपछि आइतबार हतार–हतार उनले सडकका आयोजना प्रमुखहरुको सरुवा गरेका छन् । आर्थिक चलखेलका आधारमा देशभरिका आयोजना प्रमुखहरुको सरुवा भएको स्रोत बताउँछ ।
उनले ३७ जना सिनियर डिभिजनल इन्जिनियरहरूको हेरफेर गरेका हुन् । जसमा एकै कर्मचारीको सरुवामा ५० लाखसम्मको लेनदेन भएको स्रोत बताउँछ । मन्त्रिपरिषद् हेरफेरको मुखमा भएको सरुवाको नियत नै ठिक नभएको मन्त्रालयका एक अधिकारी बताउँछन् ।
उनले यातायात व्यवस्था विभागमा पनि एक महिना पनि नपुग्दै महानिर्देशक हेरफेर गरेका थिए । तुलसी गौतमलाई हटाएर आफू अनुकूल काम गराउन नारायणप्रसाद भट्टराईलाई खटाएका थिए । भट्टराई गएपछि व्यवसायीको पक्षमा निर्णय हुन थालेका छन् ।
त्यस्तै, आफ्नो गृहजिल्ला गोरखामा तीन अर्ब बजेट लैजान उनले मरिहत्ते गरेका थिए । जिल्लाको आफ्नो निर्वाचन क्षेत्रमा मात्र तीन अर्ब बजेट सुनिश्चित गर्न उनले अर्थ मन्त्रालयमा दबाब दिइरहेको स्रोत बताउँछ । जबकि देशमा सम्पन्न भइसकेको कामको समेत भुक्तानी हुनसकेको छैन । कर्मचारीलाई तलब नपुग्ने अवस्था छ ।
नयाँ बजेट निर्माणको प्रक्रिया सुरु भइसकेको छ । यस्तो अवस्थामा उनले यसरी निश्चित ठाउँमा बजेट सुनिश्चितताका लागि लागेको देखेर अर्थका अधिकारी पनि दिक्क भएका छन् । कतिपय आयोजनामा बजेट सुनिश्चित गरेलगत्तै कमिसन सुनिश्चित हुने भएकाले यसरी उनी लागिपरेको चर्चा पनि छ ।