काठमाडौं । जावलखोलस्थित सेन्ट जेभियर्समा ललितपुर महानगरपालिकाले भर्ना प्रक्रिया रोकेको छ । भर्ना पारदर्शी नभएको भन्दै महानगरपालिकाले पत्र नै लेखेर १ कक्षामा भर्ना प्रक्रिया रोकेको हो ।
देशकै चर्चितमध्ये एक सो स्कुलले भर्नाका लागि अन्तर्वार्ता अघि बढाएपछि महानगरले प्रक्रिया एक साताअघि पत्र लेखेको हो । भर्ना प्रक्रिया सुचारुका लागि बिद्यालयले पहल गरेपनि महानगरपालिकाले मानेको छैन । महानगरबाट आफुहरुमाथि हस्तक्षेप भएको बिद्यालयले जनाएको छ भने महानगरले भने भर्नालाई पारदर्शी बनाउन त्यसरी रोकिएको जनाएको छ । क्रिश्चियन ट्रष्टमार्फत सञ्चालन हुँदै आएको सो बिद्यालयमा बिद्यार्थी भर्नाका लागि उच्च आकर्षण छ । यो वर्ष १ कक्षामा भर्नाका लागि ५ हजार भन्दा धेरै बालबालिकाले फर्म भरेका छन् ।
बिद्यालयको भर्ना पारदर्शी नभएको भनेर नगरवासीबाट गुनासो आएपछि भर्ना रोकिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । ‘भर्नामा सबैलाई समान व्यवहार भएन, व्यवस्थापन समितिका केहीलाई कोटा दिएको गुनासो आएपछि भर्ना प्रक्रिया रोकेर छलफल थालेका हौं,’ उनले भने,‘उहाँहरुले व्यवस्थापन समितिमा छलफल गरेर आउँछौं भन्नुभएको थियो, तर थप छलफल हुन सकेको छैन ।’ स्कुलका एक उच्च अधिकारी भने महानगरपालिकाले भर्नाका लागि कोटा मागेको र दिन नसकेपछि यसरी भर्ना प्रक्रिया नै रोकिदिएको दाबी गर्दछन् ।
विगतमा सो स्कुलको भर्नामा उच्च पदस्थ व्यक्तिहरुलाई कोटो थियो । सोही कारण भर्नामा दबाब थेग्न नसकेर बिद्यालयले दुई वर्षयता प्रारम्भिक अन्तर्वाता लिएर गोलाप्रथामार्फत छानेर भर्ना लिदै आएको छ । यद्यपी बिद्यालयले केही पहुँचवालालाई अझै कोटा दिने गरेको महानगरपालिकाका अधिकारी बताउँछन् । सेन्ट जेभियर्सको भर्नामा हरेक वर्ष तनाव हुने गर्दछ । सस्तो शुल्मा गुणस्तरीय शिक्षा हुने भएकाले यहाँको भर्ना प्रक्रिया विवादमा पर्ने गरेको हो ।