वालिङ, २२ कार्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार नअल्मलिने बताएका छन् ।
देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अंकित हुलाक टिकटको शुक्रबार अनावरण गर्दै मन्त्री बाँस्कोटाले सीमाका विषयमा सरकारको स्पष्ट दृष्टिकोण आइसकेको बताए ।
‘सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ’, सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले भने, ‘विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुंगोमा पु-याउँछौँ ।’
‘सरकारसँग राष्ट्रप्रेमको अडान छ त्यसैले तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन’, प्रवक्ता बाँस्कोटाको भनाइ थियो । उनले भने, ‘सरकारले आशा जगाउँदै गएको छ हामीलाई थाहा छ निराशाको खेती गरेका छैनौँ । सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प छैन । विश्वास गर्नुहोस् मुलुकले काँचुली फेरेर छाड्ने छ ।’
आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले ढुक्क हुन आग्रह गरे । राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेको उनको भनाइ छ ।
एकसय उत्कृष्ट गन्तब्यमा परेको स्याङ्जाको कालीगण्डकी गाउँपालिका ३ नं वडामा पर्ने शाह वंशको कुल देवताका रुपमा रहेको आलमदेवी मन्दिर स्याङ्जाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको स्थल हो ।
वेगमाता वेगेश्वरी कुल देवी अलप भएको र पवित्रताका लागि अलप भएको ठाउँदेखि करीब एक हजार मिटरभित्रबाट सुरुङ हुँदै कालीगंगाको जल र शालिग्रामको पवित्रता प्राप्त गरी पुनः सोही मार्गबाट भीमसेन पातीको फेदमा आएर बसेको किंवदन्ती रहेको छ ।