Logo
Logo

नलेख्ने पनि पत्रकार रै छन्ः मन्त्री शर्मा


1.1k
Shares

काठमाडौं । ‘विद्यार्थी राजनीति गर्न नेताहरुले कलेज ‘ज्वाइन’ मात्र गर्छन्, पढ्दैनन् भन्ने सुनेको थिए । यहाँ त समाचार नै नलेख्ने पत्रकारहरु छन् भन्दा अचम्म लाग्यो ।’ सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले गत शुक्रबार लुम्विनीमा नेपाल पत्रकार महासंघले आयोजना गरेको मिडिया सम्मेलनमा प्रमुख अतिथिको रुपमा बोल्दा उपस्थित पत्रकारहरु लाजले भुतुक्कै भए ।

नेपाल पत्रकार महासंघमा गैरपत्रकार अर्थात् नलेख्ने पत्रकारहरु बढ्दै गएको कुरा महासंघले शुद्धीकरण अभियान थालेबाट पनि पुष्टि हुन्छ । महासंघको नेतृत्वमा पुग्न महासंघकै नेताहरुले गैरपत्रकारलाई भित्र्याउने गरेको तथ्यलाई नकार्न सकिन्न ।

त्यसमाथि महासंघको नेतृत्वमा विशुद्ध पत्रकारिता पेसा गरेको भन्दा पनि विभिन्न पार्टीको कार्यकर्ता हाबी भएको कारण महासंघको अस्थित्व संकटमा पर्दै गएको छ ।

महासंघको विधानले प्रत्यक्ष नेतृत्व चयनको व्यवस्था गरेपछि मुलतः प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी देशैभरि गैरपत्रकारलाई महासंघको सदस्यता दिने होडबाजीमा लागेको कुरा लुम्विनी सम्मेलनमा सहभागी पत्रकारहरुको मुखबाट सुनियो । त्यसैले महासंघको सदस्यता बार काउन्सिलको जस्तो प्रक्रियाबाट वितरण हुनुपर्ने कुरा पनि उठ्यो ।

अर्को वर्ष महासंघको नेतृत्व परिवर्तन हुँदैछ । त्यसका लागि सदस्यता वितरण सुरु भएको छ । नयाँ सदस्य बन्नका लागि महासंघको आफ्नै विधान र मापदण्ड भए पनि नेतृत्व हत्याउन कांग्रेस र कम्युनिष्टका पत्रकार नेताहरुले गैरपत्रकारहरु भित्र्याउनुपर्ने बाध्यतामा छन् ।

सञ्चारमन्त्री शर्माले भनेझैं लेख्ने पत्रकारहरुको मात्र महासंघ बनाउने हो भने गैरपत्रकारहरुलाई शुद्धीकरण अभियानबाटै फाल्नुपर्छ । र, गैरपत्रकारहरुको सिफारिस गर्ने सञ्चार माध्यमहरुमाथि कारबाही गर्नुपर्छ ।

तर, दुर्भाग्य शुद्धीकरण अभियानका हर्ताकर्ताहरु नै गैरपत्रकार भित्र्याउने र त्यसरी भित्र्याएका गैरपत्रकारहरुलाई भागबण्डाको आधारमा सदस्यता दिने पक्षमा भएकोले महासंघको अस्तित्व खतरामा पर्दै गएको छ ।

बेलाबखत राजनीतिक पार्टीको सदस्यता लिएको व्यक्तिलाई महासंघको सदस्यताबाट बञ्चित गरिनुपर्ने आवाज उठे पनि महासंघको नेतृत्वमा राजनीतिक दलका भातृ संगठनका कार्यकर्ताको हालीमुहाली भएकोले तत्कालको लागि त्यो सम्भव छैन । तर, पेसा राजनीति र कुखुरापालनको सदस्यता महासंघको लिने व्यक्तिको हकमा भने यो कुरा लागू गर्न सके महासंघमा शुद्धीकरण सफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्