काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुशासनको नारा लगाइरहँदा उनका हरेक कदममा भने भ्रष्टाचारको गन्ध आउन थालेको छ । एक सय दिनमा कुनै राम्रा काम गर्न नसकेका प्रचण्डको ध्यान सरुवा, नियुक्ति र आर्थिक विषयमा मात्र केन्द्रित भएको बालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्रीमा कुन हदको आर्थिक अनुशासनहिनता छ भन्ने कुरा सुराकी रकमको दुरुपयोगबाट पनि प्रष्ट हुन्छ । दुई महिना गृह मन्त्रालय समेत आफैं राखेका उनले यो अवधिमा सुराकी रकमको समेत दुरुपयोग गरेका छन् । स्रोतका अनुसार दुई महिनाको अवधिमा करिब १५ लाख रुपैयाँ सुराकी रकम उनको नाममा गृहले उपलब्ध गराएको छ । गत साता मात्र सो रकम निकासा भएको गृह मन्त्रालय स्रोत बताउँछ ।
रवि लामिछाने ३३ दिन गृहमन्त्री हुँदा उनले एक रुपैयाँ पनि सुराकी रकम लिएका थिएनन् । मन्त्रीले नलिएपछि गृहसचिव विनोद प्रकास सिंहले पनि लिन पाएनन् । तर, लामिछाने हटेसँगै सुराकी रकम दुरुपयोग बढ्यो । सचिव सिंहले पनि सुराकीमा करिब २५ लाख लिइसकेको स्रोत बताउँछ ।
गृहमन्त्रीले दैनिक ५० हजार तथा गृहसचिवले दैनिक २५ हजारसम्म यस्तो खर्च लिने गरेका छन् । खासमा शान्ति सुरक्षाका लागि विगतमा सुत्र परिचालन गर्न यस्तो निर्णय गरिएको हो । तर, यसको व्यापक दुरुपयोग हुँदै आएको छ ।
सुराकीसम्बन्धि खर्चको बिल भरपाई समेत पेश गर्नु नपर्ने भएकाले यसमा लुट हुँदै आएको छ । जबकी प्रहरी महानिरीक्षकले नै यस्तो सुविधा केही वर्षयता लिदैनन् । राष्ट्रिय अनुसन्धान विभागलाई जम्मा करिब दुई करोड रुपैयाँ दिइन्छ । तर, गृहमा भने करोडौँ दुरुपयोग हुँदै आएको छ । प्रधानमन्त्रीले समेत यसको दुरुपयोग गरेका छन् ।
नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सुराकी खर्च नलिने र यसलाई खारेज गर्ने पहिलो निर्णय गरेका छन् । यो प्रस्ताव उनले मन्त्रिपरिषद्मा पनि लिएर गएका छन् । सस्तो लोकप्रियताका लागि मात्र उनले यो निर्णय गरे कि गृहमा साँच्चिकै मितव्ययिता अपनाउनेछन्, त्यो भने उनका आगामी कदमहरुबाट थाहा हुनेछ ।