Logo
Logo

अख्तियारले डामेका सुब्बा नै करोडपति


1.3k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेका एक पूर्वनायब सुब्बालाई बचाउने गरी मुद्दा दायर गरेको छ । पहुँचवाला पूर्वनायब सुब्बा रघुनाथ घिमिरेलाई मुद्दा कमजोर पार्ने गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको स्रोतले दाबी गरेको छ ।

घिमिरेले सवा दुई करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ । अख्तियारले घिमिरेलाई सोही रकम र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार कारबाहीको माग गरेको छ । तर, सेटिङमा घिमिरेले अर्बौँ कमाएको स्रोतले बताएको छ ।

जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेटमा करको दर हेरफेर गर्नेमा घिमिरे पनि एक थिए । संसदीय छानबिन समितिले शर्मालाई उन्मुक्ति दिएको थियो । तत्कालीन अर्थमन्त्री शर्मासहित उच्च पदस्थ अधिकारीहरू सँगको सेटिङको आधारमा घिमिरेले अकूत सम्पत्ति आर्जन गरेको स्रोतको दाबी छ ।

त्यो सम्पत्तिमाथि विस्तृत छानबिन गरेर मुद्दा दायर गर्नुपर्नेमा अख्तियार मुद्दा कमजोर बनाउने गरी अघि बढेको बताइएको छ । घिमिरेमाथि विस्तृत छानबिन हुँदा सेटिङ गरेर कमाएको अर्बौँ सम्पत्ति पत्ता लाग्ने थियो । उनले अन्य कुन कुन व्यापारीलाई सम्पत्ति राख्न दिएका थिए भन्ने पत्ता लाग्ने थियो । तर, चलखेलका आधारमा अख्तियारबाटै मुद्दा कमजोर बनाउने प्रयास भएको स्रोतले बताएको छ ।

बजेटपूर्व घिमिरे कुन व्यापारीको स्वार्थका लागि अर्थ मन्त्रालय प्रवेश गरेका थिए, र कुन कुन व्यापारीलाई फाइदा हुने गरी करको दर हेरफेर गरेका थिए भन्ने कुरा माथि मात्रै अख्तियारले थप छानबिन गरेको भए घिमिरेको थप भ्रष्टाचार उदांगिने थियो ।

घिमिरेले सेवा प्रवेश गरेदेखि गत पुस १२ गतेसम्म गरेको आम्दानी र खर्चको हिसाबको आधारमा मुद्दा दायर गरिएको अख्तियारले बताएको छ । घिमिरे २०५२ साल कात्तिक २८ गते सेवा प्रवेश गरेका थिए । आम्दानी र खर्च हिसाब हेर्दा घिमिरेले २ करोड १४ लाख ४६ हजार ६५७ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारको दाबी छ ।

घिमिरे, निजकी पत्नी शारदा गौतम र छोरीको समेत पारिश्रमिक, कर्मचारी सञ्चय कोष, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा, जग्गा बिक्री, घरभाडा, कम्पनीको लाभांशवापत प्राप्त बैधानिक आय लगायतका शीर्षकमा भएको आम्दानीको हिसाब गरिएको छ । यी सबै हिसाब गर्दा ५ करोड २५ लाख १६ हजार ३२७ रुपैयाँ बैधानिक आय देखिएको आएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

घिमिरेको सम्पूर्ण व्ययमध्ये जग्गा खरिद, घर निर्माण, रजिस्टेशन दस्तुर, पुँजीगत लाभकरमा भएको खर्च, विभिन्न कम्पनीमा भएको शेयर खरिदमा भएको खर्च, कर्जाको साँवा ब्याज तिरेको रकम, जीवन बिमाको प्रिमियम तिरेको रकम, अध्ययन तथा विभिन्न कम्पनीमा लगानी भएको खर्च, बैंक मौज्दात, विदेश भ्रमण, सुनचाँदी खरिदलगायत शीर्षकमा भएको खर्च हिसाब गर्दा ७ करोड, ३९ लाख, ६२ हजार ९८४ रुपैयाँ आय भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्