Logo
Logo

चलचित्रको संख्या होइन, गुणास्तर बृद्धि गरौँ : सञ्चारमन्त्री


315
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको संख्याभन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताएकी छन् । नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धीत विभिन्न संघसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई बधाई दिन तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान गर्न नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले चलचित्रको गुणस्तरीयता बृद्धिमा जोड दिएकी हुन् ।

‘हिजो चलचित्रको संख्या कम रहेको र प्रविधिको प्रयोग नहुने बेलामा चलचित्रको संख्या बढाउनु महत्वपूर्ण नै हुन्थ्यो’, उनले भनिन्, ‘तर, अब छायाँकनदेखि प्रदर्शनसम्ममा प्रविधिको उच्चतम प्रयोग भइरहेको र अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग समेत प्रतिष्पर्धा गर्ने समय आएकाले गुणस्तरमा ध्यान दिनु आवश्यक छ ।’

नेपाली चलचित्र क्षेत्रको विकास गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्नलायक बनाउन चलचित्रकर्मीहरुलाई आग्रह गर्दै उनले यसमा आवश्यक कानुन र नीति निर्माणको सवालमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । चलचित्र क्षेत्रको नीतिगत कामका लागि सरकारी निकायको रुपमा रुपमा चलचित्र बोर्ड सक्रिय रहेको उल्लेख गर्दै उनले बोर्डमार्फत चलचित्र क्षेत्रका समस्या र नीतिगत समाधानका उपायहरु केन्द्रिकृत गर्न आग्रह गरे ।

अहिले पनि नेपाली चलचित्र क्षेत्र २०२६ सालको ऐनद्वारा निर्देशित भएको उल्लेख गर्दै मन्त्री शर्माले हिजो श्वेत चलचित्र चलाउने कानुनले आजको डिजिटल युुगलाई प्रतिनिधित्व गर्न नसक्ने भएकाले चलचित्र ऐन परिमार्जन थालिएको बताए । अहिले चलचित्र बोर्डले मस्यौदा तयार गरिरहेको उल्लेख गर्दै उनले जतिसक्यो चाँडो मन्त्रालयबाट टुंग्याएर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

चलचित्र आम सञ्चार क्षेत्रको सशक्त माध्यम भएकाले यसलाई राजनीतिक सामाजिक परिवर्तनका सन्देश प्रवाह गर्ने माध्यमको रुपमा पनि परिचालन गर्नु आवश्यक रहेकोमा उनले जोड दिइन् । ‘चलचित्र क्षेत्र मनोरञ्जनको साधन मात्र होइन, यो सन्देश प्रभावको माध्यम पनि हो’, मन्त्री शर्माले भनिन्, ‘त्यसैले चलचित्र निर्माण गर्दा विषयवस्तुु, सन्देश र कला पक्षको सन्तुलनमा बराबरी ध्यान दिनु आवश्यक छ ।’

चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा चलचित्र क्षेत्रसँथ सम्बन्धीत विभिन्न संघसंस्थाका निर्वाचित तथा नियुक्त पदाधिकारी र सदस्यलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्