काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र सेन्ट जेभियर्स कलेजबीच विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
यही चैत २२ गते सेन्ट जेभियर्स कलेजमा एक कार्यक्रमबीच सेन्ट जेभियर्स कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापनसहित पूँजी बजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा सम्झौता भएको हो ।
कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर डा. अगस्टिन थोमस एस जेबाट हस्ताक्षर भएको छ ।
उक्त कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा र श्रीया कुटु तथा सेन्ट जेभियर्स कलेजको तर्फबाट उप–प्राध्यापक सलुजा चन्द तथा व्यवस्थापन विभाग प्रमुख महप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।
सम्झौताअनुसार प्रभु क्यापिटल लिमिटेडले कलेजका विद्यार्थीहरू, कर्मचारीलाई आफ्नो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजारसम्बन्धी सामान्य, आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।