काठमाडौं । देशभरिका उद्योगपति, व्यापारीहरु चुनावमा व्यस्त छन् । चैत २८ र २९ गते नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा बस्दैछ । उक्त साधारणसभाले भावी नेतृत्व पनि चयन गर्ने हुँदा भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
तीन गुटमा विभाजित महासंघको भावी उम्मेदवारहरुले आ–आफ्नो टिमको घोषणा पनि गरेका छन् । सुरुमा अन्जन श्रेष्ठको टिमबाट एशोसिएटको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्ने चर्चा थियो । तर, अन्तिममा ज्योत्सनाले क्याम्प परिवर्तन गरेर संघाईको टिमबाट उपाध्यक्षमा उठ्ने घोषणा गरिन् ।
ज्योत्सनाको बहिर्गमनसँगै संकटमा परेका अन्जनलाइ साथ दिन प्रवलजंग पाण्डे अघि सरे । पाण्डे अघि सरेपछि महासंघको राजनीतिमा तरंग पैदा भयो । तर, घोषणासभामा अन्जनको टिमबाट एशोसिएटका उम्मेदवारका रुपमा भरतराज आचार्यको नाम सार्वजनिक भयो ।
आचार्यको नाम सार्वजनिक हुँदा महासंघभित्र खैलाबैला मच्चियो । पाण्डे किन व्याक भए भन्ने जिज्ञासा धेरैमा जाग्यो । कुरा के परेछ भने, पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको रहेछ । पाण्डेले उदयपुर मिनरल्स टेक प्रालिको नाममा चुनढुंगा उत्खनन गर्दा राज्यलाई ठूलो हानी नोक्सानी पु¥याएका रहेछन् ।
अख्तियारले पाण्डेविरुद्ध १ करोड ७९ लाख बिगोसहित मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेषले सफाइ दिए पनि अख्तियार पुनः पुनरावेदनमा जाँदैछ । त्यही मुद्दा उल्टिने डरले पाण्डेले मैदान छाडेको व्यापारीहरु बताउँछन् ।
स्मरण रहोस्, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डे पनि भ्रष्टाचारकै कारण एक वर्ष बित्दा नबित्दै महासंघको अध्यक्षबाट हटेका थिए । पाण्डेले खानेपानी संस्थानको लेखापाल हुँदा भ्रष्टाचार गरेको फैसला अदालतले सुनाएको थियो । तर, पाण्डे फरार अभियुक्तका रुपमा महासंघको अध्यक्ष बनेका थिए । धेरै पछाडि यो रहस्य खुलेपछि पाण्डे जेल परे । पूर्वराष्ट्रपति डा. रामवरण यादवसँगको सेटिङमा उनी जेल मुक्त भए ।
प्रवलजंग पाण्डे प्रदीपका जेठा छोरा हुन् । बाबुकै नियति भोग्नुपर्ने डरले प्रबलले यसपटक उपाध्यक्षको उम्मेदवारबाट पछाडि हटे भन्ने चर्चा उद्योगपतिबीच चलेको छ ।