काठमाडौं । बलिउड अभिनेता शाहरुख खान विश्वका सबैभन्दा प्रभावशाली व्यक्ति घोषित भएका छन् ।
भारतीय फिल्म उद्योगका स्टार शाहरुख खानलाई ‘टाइम म्यागजिन’ले संसारका प्रभावशाली व्यक्तिको सूचीको शीर्षस्थानमा राखेको छ । स्मरणीय के छ भने शाहरुखले यसअघि शीर्षस्थानमा रहन सफल चर्चित अन्तर्राष्ट्रिय सेलिब्रिटीलाई समेत उछिनेका छन् । एलन मस्क, लियोनल मेसी, मिसेल योह, सेरेना विलियम्स, मार्क जुकरबर्ग, बेयोन्सेजस्ता हस्तीहरुलाई उछिन्दै यस वर्ष उनले संसारकै सबैभन्दा प्रभावशाली व्यक्तिको उपाधि पाए हुन् ।
प्रतिष्ठित टाइम म्यागजिनले सञ्चालन गरेको ‘टाइम हन्ड्रेड पोल’मा यो नतिजा आएको उल्लेख छ । म्यागजिनले शाहरुखलाई भारतका लोकप्रिय सुपरस्टार भएको बताउँदै उनलाई ‘नाइट राइडर्स ग्रुप’जस्ता क्लबको सहसंस्थापकको रुपमा चिनाएको छ । ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’ र ‘कुछ कुछ होता है’ जस्ता हिट फिल्मबाट बलिउडमा शाहरुखको छवि सुपरस्टारको रुपमा स्थापित भएको टाइम म्गाजिनले जनाएको छ ।
शाहरुखको पछिल्लो फिल्म ‘पठान’ले विश्वव्यापी १३० मिलियन डलर कमाएको समेत टाइमले उल्लेख छ । शाहरुखपछि टाइमको यो सूचीमा इस्लामिक गणतन्त्रविरुद्ध प्रदर्शन गर्ने इरानी महिलाहरुलाई राखिएको छ । तेस्रो र चौथो स्थानमा प्रिन्स ह्यारी र मेगन मर्केल छन् । प्रभावशाली व्यक्तिको पाँचौं स्थानमा फुटबल खेलाडी मेसी छन् । सूचीको पूर्णपाठ भने १३ अप्रिलमा सार्वजनिक हुने बताइएको छ ।