नेपाली कवितामा आफ्नो स्पष्ट पहिचान बनाइसकेका कवि हुन् ज्योति जङ्गल । कविताबाहेक गजल, गीत, कथा तथा निबन्धमा पनि उनको उचाइ चुलिएकै छ ।
कविता, गजल र कथाका तीन पुस्तक प्रकाशित भइसकेको ज्योतिको पछिल्लो कविता कृति हो ‘आधा शिर उचालेर’ । चर्चा र भाइरलभन्दा पनि आफूलाई लेखिरहन मन पराउने ज्योति सरलतामा गम्भीर सिर्जना गर्न रुचि राख्छन् ।
‘आधा शिर उचालेर’ कविता कृति यसको ज्वलन्त उदाहरण हो । पचासको दशकदेखि नै नेपाली साहित्यमा पढिरहेको नाम हो ज्योति जङ्गल ।
तीन दशकदेखि निरन्तर सहित्यमा लागेर उम्दा चार कृति नेपाली साहित्यमा दिएका ज्योतिका कवितामा भेटिने उनको मौलिक शैली निकै लोभलाग्दो छ । उनको लेखनीमा कहाँबाट आउँछन् होला भावनाको तीव्रता, समाजका सुक्ष्म विषयवस्तुहरु । यस्तै कुराहरुले नै ज्योतिलाई नेपाली कवितामा युगौँयुगसम्म जीवन्त बनाइरहन्छ ।
कविता पारखीहरुलाई उनका कविताले निराश बनाउँदैन बरु उत्साहित बनाउँछ, यस्तो पनि कविता बन्दोरहेछ भनेर हरेक पाठकलाई कविता लेखौँलेखौँ बनाउँछ । ज्योति जङ्गलको यो कलाकारिता ‘आधा शिर उचालेर’ कविता कृतिमा छताछुल्ल भएर शब्दमार्फत पोखिएका छन् ।
एउटा नागरिक कहिल्यै पनि पूरा शिर उचालेर हिँड्न नसकेको हाम्रो समाजको सपाट चित्र कवितामार्फत कोरेका छन् ज्योतिले । यो एउटा विम्ब र प्रतीकमात्र हो ।
हाम्रो समाजले कसरी एउटा महिलालाई विभेद गरेको छ, ती विभेदबाट कसरी मुक्ति पाइन्छ होला भन्ने चिन्ता कवितामार्फत पोखिएका छन्– आधा शिर उचालेर सङ्ग्रहमार्फत ।
कस्तो असभ्य देखिन्छ
यावत् नागरिक ढोग्न निहुरिन्छन्
ऊ आइमाइका छातीमा
छड्के नजरको आशीर्वाद घुर्साछ,
बादशाहको चुम्बन
मेरी भाउजुको घाँटीमा सिक्री बन्छ कहिले
कहिले खुट्टाको बन्धन ।
(पृ.१०१)
कहिलेकाहीँ लाग्छ कविहरुलाई मात्र देश दुख्ने किन होला ? जसलाई दुख्नुपर्ने हो उसलाई देश किन नदुखेको होला ? यावत प्रश्नहरुले घेर्न थाल्छ, त्यतिबेला यस्तै–यस्तै कविताका हरफहरु लेखिन पुग्छन् । लेख्दालेख्दै कहिलेकाहीँ कविता पीडितको आँसु बनेर बगिरहेको देखिन्छ, वर्तमानमा पीडाका चित्कार बनेर आउँछ ।
पूरा शिर ठाडो पारेर हिँड्ने दिन नआएका आमा, दिदीबहिनीहरुका आवाजहरु कविताका पंक्तिमा सजिन्छन्, त्यसैको एउटा उपज हो– आधा शिर उचालेर कवितासङ्ग्रह ।
फरक स्वादका ४३ कविताहरुले सजिएको छ, आघा शिर उचालेर कवितासङ्ग्रह । ज्योतिले कवितामार्फत उठान गर्न खोजेका विविध विषयवस्तुसँगै हाम्रै समाजका विविध आयामहरु नै हुन् ।
फरक यति हो आम मानिस ती दुःखलाई सहेर बसेका छन्, तर त्यही समाजमा बसेको एउटा कविले शालिन भावमा विद्रोहको झिल्का बालिरहेका छन् । हो त्यही विद्रोहको झिल्का हो– आधा शिर उचालेर कवितासङ्ग्रहभित्रका कविताहरु ।
संसारमा धेरै भाषा बोलिन्छन्, तर मान्छेका रुने र हाँस्ने भाषा एउटै हुन्छ, दुःख र खुसी प्रस्तुत गर्ने भाषा एउटै हुन्छ । मानवीय संवेदनाका पाटाहरु एउटै हुन्छन्, त्यो महिला होस् या पुरुष । पीडाका पहाडहरु उक्लनु कसैको बाध्यता हुँदैन तर बाध्यतामा पार्ने त्यहाँका शासकवर्गले गरिरहेका हुन्छन् ।
यसैमा सर्जकहरुको विमति हो र, कलम चलाउनुपर्ने बाध्यता पनि हो सर्जकको । अर्को कुरा नलेखे पनि हुन्छ, भन्ने प्रश्न उब्जन सक्ला ? तर एउटा चेतनशील मान्छे कसरी चुपचाप तमासा हेर्न सक्छ दुःखका, त्यसै पनि यी कविताद्वारा प्रस्फुटन गरिएका मान्छेका आवाजहरु हुन् । विवेकहीन बनेका शासक वर्गलाई खबरदारी गर्ने हरफहरु हुन् ज्योतिका यी कविताहरु ।
हेराैँ यी हरफहरु –
युद्धका घाइते घाउ सिलाएका शैयाहरु
अथवा तिनका रगतले लत्पतिएका कम्ब्याटहरु, हतियारहरु
या सहिद भएका वीरहरुको ना लेखेको समाधि ।
केही त राख्नु थियो चिनो ।
गोठमै जलेका गाईवस्तुको किलोदाम्लो,
त्यो कम्युन खेतीपातीको जोहो या त्यसै खेतमा फलेको जौँको धुलो,
अथवा जलेर बाँकी रहेका दुई–चार थान घरका जगहरु
केही त राख्नु थियो ।
(पृ.९३)
‘म ठान्छु, कविताको आकाङ्क्षा सदैव मानिसको आकांक्षासँग मिल्छ । संसार रचना गर्ने शक्ति जब अरु कुनै उपायले ह्दयलाई सम्झाउन सक्दैन अनि कविताको ह्दय सुम्सुम्याउन थाल्छ । सबैतिर उसका आशाहरु सकिए भने कवितासँग आशा र सपना पैँचो माग्छ र संसारको निर्माण गर्न आफ्नो शक्तिलाई पुनर्जागृत गरिरहन्छ ।
समाजका अघिकांश परीक्षा कविताको अभिव्यक्तिलाई पत्याउँछन् र उत्तर निकाल्छन् । कविताका अभिव्यक्तिलाई सत्यको भिल्को मान्छन् र त्यसैबाट स्वाभिमानको बत्ती सल्काउँछन् ।’
कविता लेखनसँगै कवितामार्फत आफ्ना यस्तै सुन्दर विचारहरु प्रवाहित गर्ने ज्योति नाममा मात्र होइन, कवितामार्फत समाजका अँध्यारो पक्षलाई उज्यालोको ज्योति लिएर आएका छन्, आधा शिर उचालेर कवितासङ्ग्रहमार्फत ।
कवितामार्फत काठमाडौलाई चेतावनी पनि दिएका छन्– ‘काठमाडू, त्यो अँध्यारो उमार्नै सिंहदरवारको नाम सुहाउँदैन अब, तँ कहिले उभिन्छेस् र स्वयम्भूबाट हेर्छस् समय ? पशुपतिको लिङ्ग उखेलेर जलाइदे आर्यघाटमा र विद्रोह मचा भन्दे, कति विघ्न बढेको छ सहरी गरिबी र यौनधन्दा ? कति छन् वृद्ध आत्मालाई बाटामा छाडेर जुवा चुस्ने महाशयहरु ? नस्लीय छाता ओडाएर रगतको वर्षा गराउन को–को सल्लाहमा छन् ? आउँदो शताब्दीमा घटेर कति हुने हो नेपालको चौडाइ ?’
कवितामार्फत गम्भीर प्रश्नहरु उठेका छन्, यी गम्भीर प्रश्नहरुको उत्तर दिने महाशयको खोजीमा यी र यस्ता कविताहरु कतिन्जेल लेख्नुपर्ने हो सर्जकले ? प्रश्नले प्रश्न जन्माएका यी गम्भीर सिर्जनाहरु युगौँयुगसम्म सम्झिरहने नै छन् ।
समाजमा व्याप्त रुढीवादीका जंजीरहरुलाई तोड्न कविहरुले यस्ता कवितामार्फत आवाज बुलन्द गरिरहेका छन् । ज्योति जङ्गलका कविताहरु अझै सशक्त र बुलन्द आवाजका साथ प्रस्फुटित भएका छन् ।
कवि नारी भएकै कारण कवितामा नारीका पीडा दुखेका छन् । छोरा र छोरीको भेदभावका कारकतत्व कवितामा अटिएका छन् । समग्रमा कविता पठनीयका साथै हाम्रो समाजमा व्याप्त विकृतिविरुद्ध शालिन विद्रोहका झिल्काका उदाएका छन् ।
छोरालाई पुरुष हुन सिकायौ कि मान्छे हुन ?
आफ्नै छोराका अगाडि आमा हुन सक्याैँ कि आइमाई नै रह्यौँ ?
रातमा अबेर घर फर्केपछि
कसकसलाई सम्झायौ उज्यालेमा आउनू भनेर ?
मात्र छोरीलाई कि छोरालाई पनि ?
(पृ.६३)