काठमाडौं । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित चर्चित अनुहारविच बारा– २ मा चुनावी भिडन्त हुने देखिएको छ ।
बारा–२ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि रिक्त स्थानमा चुनावी भिडन्त हुन थालेको हो । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचन क्षेत्रमा ३६ जनाको उम्मेदवारी परेको छ । यि मध्ये २४ जना स्वतन्त्र उम्मेदवार छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बारा– २ मा १ लाख ५ हजार २ सय ९८ मतदाता छन् । जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको उक्त निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ ।
मंसिर ४ को चुनावमा सप्तरी– २ बाट जनमत पार्टीका डा.सिके राउतसँग पराजित जसपा अध्यक्ष उपेन्द्र यादव पनि बारा–२ बाट प्रतिस्पर्धामा उत्रेका छन् । उनलाई सत्ता गठवन्धन दलमा रहेका नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीको साथ छ ।
यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीबाट पनि यसअघि पराजित उम्मेदवार शिवचन्द्र कुशवाहा उम्मेदवार छन् । उनी उप निर्वाचनको मुखमा नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका हुन् । कुशवाह गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार थिए । हालका उपराष्ट्रपति यादवसँगको प्रतिस्पर्धामा निकतम् प्रतिद्वन्द्वी हुँदै कुशवाह पराजित भएका थिए ।
यता, मंसिर ४ को निर्वाचनमा सुशासन पार्टीका तर्फबाट काठमाडौं–१ बाट उम्मेदवार भएका पूर्व डिआइजी रमेश खरेल पनि बारा–२ मै भिड्न आइपुगेका छन् । खरेल यतिवेला भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिस्पर्धामा छन् । मंसिर ४ कै निर्वाचनमा गत निर्वाचनमा बारा–२ बाट स्वतन्त्र निर्वाचन लडेका अरुण ज्ञवाली समेत यसपल्ट यही क्षेत्रबाट भिड्दै छन् । ज्ञवाली पनि लोकप्रिय मत ल्याएका व्यक्ति हुन् । गएको निर्वाचनमा उनले सात हजार ६ सय ९८ मत ल्याएका थिए । ज्ञवाली अहिले प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार छन् ।
बारा– ३ बाटै लोकप्रिय मत ल्याएर हारेका अर्का चन्द्रप्रकाश सुवेदी हाम्रो नेपाली पार्टीबाट बारा–२ मै प्रतिस्पर्धामा उत्रेका छन् । सुवेदीले मंसिर ४ को चुनावमा ६ सय ७२ मत ल्याएका थिए । एमालेले पूर्व मन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । उनी २०७० सालमा बारा– ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । पौडेल नौ बर्षपछि आएर एमालेको उम्मेदवार बनेका छन् ।
बारा–२ को उप निर्वाचनमा राजनीतिक दलभन्दा स्वतन्त्र उम्मेदवारको संख्या दोब्बर छ । १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दिँदा स्वतन्त्र उम्मेदवारको संख्या २४ छ । स्वतन्त्र उम्मेदवारले कति मत काट्छन् भन्ने जोड घटाउले पनि जित हारमा अर्थ राख्ने देखिएको छ ।
यद्यपि सत्ता गठवन्धन दलमा रहेका नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र एकीकृत समाजवादी पार्टीको साथ रहेका कारण मतदानमा इमान्दार देखिए तुलनात्मक रुपमा यादवको स्थिति मजबुत रहेको जनाइएको छ । यादव र जनमत पार्टीका कुशवाहविच मुख्य प्रतिश्पर्धा हुने आँकलन गरिएको छ ।