भैरहवा । गत बिहीबार बुद्धजन्मस्थल लुम्बिनीमा एकैदिन दुईवटा अन्तर्राष्ट्रिय स्तरका म्याराथन प्रतियोगिता आयोजना भए । अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर मदन भण्डारी स्पोर्टस् एकेडेमीले हाफ म्याराथन प्रतियोगिता आयोजना गरेको थियो भने, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्ले संयुक्त रुपमा ४२ किलोमिटरको म्याराथन प्रतियोगिता आयोजना गरेका थिए । तर, पार्टीको भातृ संगठनले आयोजना गरेको म्याराथनले राम्रो प्रशंसा पाउँदा सरकारी निकायको संलग्नतामा भएको म्याराथन भने निकै ‘झुर’ रह्यो ।
अन्तर्राष्ट्रिय म्याराथन भनिए पनि विदेशी खेलाडी निकै कम सहभागी थिए । धन्न एकजना श्रीलंकन धावक सहभागी भए र अन्तर्राष्ट्रिय भन्ने शब्दको गरिमा जोगियो । महिला धावक सहभागी भएनन् । खेलकुद परिषद् र ओलम्पिक कमिटीले आयोजना गरेको म्याराथन प्रतियोगिता ‘झुर’ रहेको धावकहरू बताउँछन् ।
लुम्बिनी प्रदेश खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीले शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको दावी गरेका थिए । तर, खेल खल्लो हुँदा यसको आलोचना भइरहेको छ । कपिलवस्तुको तिलौराकोटबाट खेलाडी दौड्न सुरु गर्नुभन्दा पहिला खेलाडीलाई नै कुनु–कुन ठाउँ हुँदै लुम्बिनी पुग्ने भन्ने पत्तो थिएन । न बाटोमा राम्रा गेटनै देखिए । खाली झारा टार्न गरेजस्तै प्रतियोगिता भएको दौडमा सहभागी एक धावकले गुनासो पोखे ।
खेलकुदको माध्यमबाट लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने लक्ष्यसहित २०७ राष्ट्रका खेलाडीलाई निमन्त्रणा गरिएको बताइएको थियो । तर, श्रीलंकका धावकबाहेक अन्य विदेशी खेलाडी सहभागी भएनन् । आयोजकले अपेक्षा गरेअनुसार धावक सहभागी नहुँदा धेरै आलोचना भयो । ७ बजे सुरु हुने भनिएको दौड सवा ८ मा बल्ल सुरु भएको थियो ।
‘खर्च मनलाग्दी गरेको पाइयो तर खेलाडी र कार्यक्रम व्यवस्थापन निकै फितलो भयो’, म्याराथनमा सहभागी एक धावकले भने, ‘आयोजक धेरै ठाउँमा चुकेको देखियो ।’ म्याराथनको सुरुवात लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गरेका थिए । तर, आयोजकको ढिलाइले म्याराथन सुरु हुने स्थान तिलौराकोटमा आएर करिब सवा घण्टा कुर्न बाध्य भए । जेनतेन म्याराथन सुरु भयो तर, धावक निकै कम सहभागी भए । लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव जयप्रकाश भट्टराईले एक श्रीलंकनसहित ३३ धावक म्याराथनमा सहभागी भएको बताए ।
उनले कार्यक्रमस्थलमै प्रतियोगिता सोचेजस्तो नभएको स्वीकारेका थिए । पुरस्कारका लागि ४ लाख २४ हजार खर्च भएको थियो । प्रतियोगितामा ४० लाख खर्च भएको अनुमान गरिएको छ । तर, अझै कहाँ कति खर्च भयो भन्ने एकीन विवरण आइसकेको छैन । ४० लाख हाराहारी खर्चेर आयोजना गरिएको म्याराथन भने सोचेअनुसार नहुँदा अहिले आयोजकको चौतर्फी आलोचना भइरहेको छ ।
कार्यक्रमका लागि काठमाडौंदेखि अतिथि आएका थिए । कार्यक्रम सफल पार्न भन्दा खानपानमै आयोजकको ध्यान केन्द्रित थियो । जसले गर्दा खर्च अत्यधिक भएको बताइएको छ । कपिलवस्तुको तिलौराकोटदेखि लुम्बिनीसम्मको ४२ किलोमिटर लामो म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम भए । नेपाल प्रहरीका निरन खड्का द्वित्तीय र श्रीलंकाका अमिला सनाथ तृत्तीय भए । म्याराथनमा उत्कृष्ट १० औं स्थानसम्मलाई पुरस्कारको व्यवस्था गरिएको थियो ।
पुरस्कारबाहेक अन्य सबै खर्च अतिथि आउजाउ र खानपानमै भएको थियो । दुई–चारवटा सामान्य गेट बनाए पनि सबै खर्च बचाउने प्रयासमा आयोजक रहेको स्रोत बताउँछ । ‘आयोजकको व्यवस्थापन हेर्दा १०–१२ लाखमा कार्यक्रम सकिएको होला’, ओलम्पिक कमिटीका एक सदस्यले भने, ‘तर, ४० लाख जति खर्च भएको भनिएको छ । यसमा माथिल्ला पदाधिकारीले राम्रो रकम कुम्ल्याउने प्रयास गरेको देखियो ।’ धावकहरूले पनि म्याराथनमा १०–१२ लाख खर्च भएको अनुमान गरेका छन् ।