Logo
Logo

नेपाल प्रहरीले मालीमा एफपियु पाउने सम्भावना


12.7k
Shares


काठमाडौं । दुई वर्षदेखि राष्ट्रसंघीय शान्ति मिसनमा न्यून सहभागिता रहेको नेपाल प्रहरीले अफ्रिकी देश मालीमा आफ्नो एफपियु(फम्र्ड पुलिस यूनिट) पठाउन प्रक्रिया अघि बढाएको छ । एफपियू मिसनका लागि बन्दोबस्तीका समानको तयारी अघि बढिसकेको प्रहरीले जनाएको छ ।


‘एफपियु स्थापनाका लागि तेस्रो चरणसम्मको काम पूरा भइसकेको छ,’ प्रहरी प्रवक्ता डिआइजी पोषराज पोखरेलले भने ।
बन्दोबस्तीका सबै सामान खरिदका लागि राष्ट्रसंघको पिस किपिङ विभागले स्वीकृत दिएलगत्तै प्रहरीले थप प्रक्रिया अघि बढाउने उनको भनाइ छ । बन्दोबस्तीका सामान तयारीका लागि करिब ९० दिनको समय हुन्छ । त्यसपछि परिचालनपूर्वको अनुगमनका लागि राष्ट्रसंघको टोली नेपाल आउने छ । सो अनुगमनमा पास भएमा एफपियु टोली मिसनमा खटिनेछ ।


‘यसमा प्रहरीले एफपियु मिसन पाउने सम्भावना धेरै छ,’ प्रवक्ता पोखरेलल भने, ‘त्यसका लागि एपिसीलगायत सामानको तयारी गरिसकेका छन् ।’ हाइटी मिसनबाट ल्याइएका एपिसीलाई मर्मत गरी नयाँ मिसनमा पठाउन लागिएको हो । नयाँ गाडी खरिदलगायत अन्य बन्दोबस्तीका सामानको भने थप स्वीकृत आएपछि मात्र अघि बढाउने प्रहरी तयारी छ । यसका लागि प्रहरीले विशेष टिम नै बनाएर तयारीको काम गरिरहेको छ । पूर्वतयारीकै लागि करिब एक अर्ब खर्च हुने प्रहरी अनुमान छ । प्रहरी कल्याणकोषबाट सो रकम खर्च हुनेछ । कोषमा हाल करिब तीन अर्ब रुपैयाँ छ ।


विगतमा प्रहरीका दुई एफपियु रहेकामा ती बन्द भइसकेका छन् । हाइटी र सुडानमा रहेका एफपियु मिसन बन्द भएसँगै प्रहरी सेवाको एउटा आकर्षण रहेको शान्ति मिसन लगभग बन्द अवस्थामा छ । राष्ट्रसंघले लिने परीक्षा पास गरे जाने ‘आइपिओ’ मिसनको कोटा पनि कटौती भइरहेको छ ।


देशको कूटनीतिक नेतृत्वको लबिइङ नहुँदा र विगतमा प्रहरी नेतृत्वले गरेको गल्तीका कारण प्रहरीले यसरी शान्ति मिसनविहीन बनेको प्रहरी अधिकारी बताउँछन् । सुडान मिसनमा खरिद भएका बन्दोबस्तीका सामानमा करिब २८ करोड भ्रष्टाचार भएको मुद्दा दायर भएयता प्रहरी नेतृत्व कल्याणकोषबाट सामान खरिद गर्नै डराए । पटकपटक अवसर आउँदा पनि पूर्वतयारी नपुगेकै कारण एफपियुबाट प्रहरी वञ्चित भएको उच्च प्रहरी अधिकारी बताउँछन् । पछिल्लो एक वर्षयता प्रहरीले नयाँ एफपियुका लागि तयारी अघि बढाएको छ । मालीमै सशस्त्र प्रहरी बलको पनि एक एफपियु खटिने अन्तिम तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्