Logo
Logo

एसएसपीहरू तनावमा


20.3k
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले पदभार ग्रहण गरेको भोलिपल्टै एआइजी बढुवा निकाले पनि डिआइजी बढुवामा भने उनी दबाबमा परेका छन् । बढुवा सूचीमा सहमति हुन नसक्दा तत्कालका लागि डिआइजी बढुवा स्थगित हुन पुगेको छ ।

प्रहरीमा डिआइजीका १३ पद रिक्त हुँदा विभिन्न कार्यालयहरु निमित्तका भरमा छन् । १३ पदमा १९ एसएसपीबीच प्रतिस्पर्धा छ । बढुवामा चलखेल हुँदा आइजिपी र गृह नेतृत्वबीच सहमति हुन सकेको छैन ।

स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री निकट व्यक्तिहरू बढुवाका आकांक्षी एसएसपीहरू समेत भेटेर डिल गरिरहेका छन् । जसका कारण पनि बढुवा प्रभावित बनेको हो ।

बढुवा लम्बिदा केही एसएसपीहरु भने अवकाशमा जाने जोखिम बढेको छ । तत्काल बढुवा नगर्दा एसएसपीको ५५ वर्षे उमेरहदका कारण केही एसएसपीले अवकाश पाउनेछन् ।

एसएसपी विकाराज खनालले ७ बैशाखमा अवकाश पाउनेछन् । त्यसको कम्तीमा आठ दिन अगाडि बढुवा सिफारिस नभए उनले अवकाश पाउने जोखिम छ । त्यसका लागि ३० चैतभित्र बढुवा सिफारिस हुनुपर्ने छ । अवकाशको जोखिम बढेपछि खनाल दौडधुपमा लागेका छन् ।

त्यस्तै, बैशाखको दोस्रो साता चक्रबहादुर सिंह र राजेन्द्रसिंह खड्काको पनि ५५ वर्ष उमेर पुग्नेछ । त्यस्तै १ जेठमा एसएसपी सुरेन्द्र मैनालीले अवकाश पाउनेछन् । बढुवामा ढिलो हुँदा चारै जना तनावमा परेका छन् ।

यी चारसहित जनक भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रबिन्द्र केसी, राजेश बाँस्तोला, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल, चन्द्रकुबेर खापुङ, अर्जुन चन्द ठकुरी, कृष्णहरी शर्मा पोखरेल, दिल्लीराज पन्त, मधुसुदन लुइटेल, मोहनप्रसाद पोख्रेल प्रतिस्पर्धामा छन् । खासगरी वरियतामा पछि रहेका एसएसपीहरुले अस्वस्थ चलखेल थालेपछि बढुवा रोकिएको छ ।

आइजिपी कुँवरले गत शुक्रबार नै बढुवा टुंगाउन चाहेका थिए तर गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग कुरा नमिलेपछि बढुवा लम्बिएको हो ।

त्यस्तै, एसएसपीका १६ पदको बढुवा पनि चर्काे प्रतिस्पर्धा छ । भावी आइजिपी बन्ने ११२ टोलीका अधिकृतहरुबीच अग्रस्थानमा बढुवा हुन प्रतिस्पर्धा छ । पहिलो नम्बरमा बढुवा हुन सानुराम भट्टराई, ओम अधिकारी, भूपेन्द्र खत्री, मुकुन्द मरासिनीबीच प्रतिस्पर्धा छ । सुशासनको चर्काे भाषण गर्ने गृहमन्त्री श्रेष्ठका लागि पनि डिआइजी र एसएसपी प्रतिस्पर्धा अग्निपरीक्षा बनेको छ ।

प्रतिक्रिया दिनुहोस्