रुपन्देही । सीमा क्षेत्रमा लामो समय सशस्त्र प्रहरीको घुमुवा बसेका दुई जना सहायक हवल्दारले कार्यालयबाट विदा बसेर अहिले पनि असुली धन्दा मच्याइरहेको पाइएको छ । वर्षौंसम्म रुपन्देहीमा घुमुवा बसेका सशस्त्र प्रहरी सहायक हवल्दार प्रदीप जवरा र पुण्य पौडेलले घुमुवाबाट हटेपछि पनि असुली धन्दा चलाइरहेका हुन् ।
जवरा सशस्त्र प्रहरी बल नं. २७ गण, भैरहवा, रुपन्देही लगातार ५ वर्ष घुमुवा बसेका थिए । यस्तै, पौडेल बीओपी डण्डा, भैरहवाको घुमुवा थिए । घुमुवा बसेर असुली धन्दा मच्याइरहेका उनीहरुविरुद्ध सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसमक्ष नै उजुरी पुगेपछि उनीहरुलाई सरुवा गरेर स्याङ्जा गुल्म पठाइएको थियो ।
रुपन्देहीमा सशस्त्र प्रहरी प्रमुखका रुपमा एसपी दीपक थापा आएका छन् । त्यसअघि जवरा र पौडेल घुमुवा थिए । एसपी थापाले अहिले घुमुवा राखेका छैनन् । सीमा क्षेत्रमा हुने चोरीतस्करी रोक्न उनले सीमा सुरक्षामा खटिएका प्रहरीलाई जिम्मेवार बनाएर काम गर्ने तर घुमुवा नराख्ने जनाउँदै आएका छन् । यता एसपी थापाले सीमामा निगरानी बढाइरँदा पूर्व घुमुवाले भने स्याङ्जाबाट आएर असुली धन्दा मच्याइरहेका छन् ।
जवरा र पौडेले दुबैजना अहिले स्याङ्जा गुल्मबाट विदा लिएर घरमा आएका छन् । जवराको घर बुटवल हो भने पौडेलको कपिलवस्तु हो । विगतमा घुमुवा बसेर लाखौं असुली गर्दै आएका उनीहरुले विदामा घर आएका बेला पनि असुली धन्दा छाडेका छैनन् । घुमुवा बस्ता तस्करहरुसँग उनीहरुको राम्रै साँठगाँठ थियो । जसले गर्दा घुमुवा हटेर स्याङ्जा जाँदा समेत उनीहरुले विगतमा असुली गर्दै आएका तस्करहरुसँग मोलतोल गरिरहेका छन् ।
सीमा क्षेत्रमा भेटिएका एक पूर्व तस्कर भन्छन्, ‘उनीहरु (जवरा र पौडेल) स्याङ्जा गएको भन्ने सुनेको थिएँ । तर, मलाई फोन गरेर पैसा मागिरहेका छन् । सायद अहिले सशस्त्रले घुमुवा नराखेको मौका छोपेर हुनुसक्छ । म जस्ता धेरैजनालाई फोन गर्दै पैसा मागिरहेका छन् ।’ उनले आफूहरु छिट्टै फर्किएर आएर फेरि घुमुवा बस्छौं, पछि अप्ठ्यारो पर्न सक्छ भन्दै जवरा र पौडेलले थर्काएर असुली धन्दा गरिरहेको जनाए ।
जवरा र पौडेलले कपडा, हार्डवेयर, मोटर पार्टस्, काजुबदाम लगायतका तस्करीहरुलाई फोन गर्दै रकम माग्ने गरेको सशस्त्र प्रहरी जुनियर अधिकृतले बताएका छन् । रुपन्देहीका तस्करी हुने नाका र तस्करहरुसँग राम्रो परिचय भएका उनीहरु अहिले घर विदामा बसेको बहानामा दैनिक असुली गरिरहेका हुन् ।
‘तल्लो तहका सबै कर्मचारी चिन्छन्, विगतमा घुमुवा बसेका मान्छे फेरि फर्किने हुन् की भनेर तल्लो तहका सशस्त्रका कर्मचारीले केही भन्दैनन्, तर, उनीहरुले असुली गरेको गर्यैं छन्’, नं. २७ गणका एक असईले भने, ‘एसपीसावले घुमुवा नराखेको फाइदा जवरा र पौडेलले उठाइरहेका छन् । सशस्त्र प्रहरी स्रोतका अनुसार पूर्व घुमुवा सन्नी चौधरी अहिले पाल्पामा कार्यरत रहे पनि रुपन्देही आएर उनले पनि असुली धन्दा मच्याइरहेका छन् ।