प्रायः अरु देशको राजनीतिक आन्दोलनभन्दा नेपालको राजनीतिक आन्दोलनको केही फरक विशेषताहरू छन् । त्यो फरक विशेषता भनेको नेपालको संसदीय लोकतान्त्रिक आन्दोलनको केन्द्रबिन्दुमा कम्युनिष्टहरू हुनु हो ।
सामान्यतया संसदीय लोकतान्त्रिक आन्दोलनको नेतृत्व पुँजीवादीहरूले गर्ने गर्छन् । कतिपय देशहरूमा कम्युनिष्टहरूले संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो भन्दै भण्डाफोर गरे ।
कतिपय देशहरूमा त्यस्तो आन्दोलनमा कम्युनिष्टहरूको भूमिका सहयोगीको मात्र देखिएको थियो । तर, नेपालको लोकतान्त्रिक आन्दोलनमा कम्युनिष्टहरूको नेतृत्वदायी भूमिका रह्यो ।
सबैलाई थाहा छ, कम्युनिष्टहरूको अभिष्ट संसदीय लोकतन्त्र मात्र होइन, उनीहरू संसदीय लोकतन्त्रलाई प्रयोग गर्दै समाजवादसम्म पुग्न चाहन्छन् । त्यसकारण के भन्न सकिन्छ भने, नेपालमा संसदीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण संवर्द्धन र विकासको अभियान र अर्कोतिर समाजवाद निर्माणको आन्दोलन एकसाथ चलिरहेको छ ।
त्यसबाहेक अर्को शक्ति पनि छ । त्यो हो पश्चगमनकारीहरू । उनीहरु समाजवाद निर्माणको त कुरै छाडौँ, संसदीय लोकतन्त्र पनि भत्काउन चाहन्छन् । संसदीय लोकतन्त्रवादीहरू र समाजवादीहरूका साझा दुश्मनका रुपमा रहेका ती पश्चगमनकारीहरूको अस्तित्व पनि पूरै नामेट भइसकेको छैन ।
गएको निर्वाचनको परिणामले संसद्मा उनीहरूको उल्लेख्य उपस्थिति देखियो । यसरी विश्लेषण गर्दा नेपालको समकालीन राजनीतिमा मूलतःः तीनवटा शक्ति देखिएको छ– समाजवादी, संसदीय लोकतन्त्रवादी र पश्चगमनकारी ।
अब यी तीन शक्तिहरूको प्रतिस्पर्धामा केपी शर्मा ओली कहाँ छन् ? उनको भूमिका के छ ? यो प्रश्नको उत्तरमा धेरै मथिङ्गल गरिरहनु पर्दैन । दुईदुई चोटी गरेको संसद्को विघटन, संविधानविपरीत गतिविधि, तानाशाही मनसुवा, वामपन्थी विचारबाट वैचारिक पतन, संघीयता र धर्मनिरपेक्षताका सन्दर्भमा उनको छलछामपूर्ण अभिव्यक्ति र दुर्गा प्रसाईँको पछिल्लो आरोपले उनको वास्तविक भूमिका र स्थान निर्धारण गरिसकेको छ ।
उनका सन्दर्भमा राजनीतिकवृत्तमा कुनै भ्रम नभए पनि एमाले पार्टीका सन्दर्भमा भने फरक ढंगले विश्लेषण गर्नुपर्छ । ओलीको बारेमा निस्केको निष्कर्षले समग्र एमालेको मूल्यांकन गर्न हुँदैन । किनकि त्यहाँ प्रशस्त मात्रामा समाजवादीहरू छन् । त्यसबाहेक त्यस पार्टीभित्र संसदीय लोकतन्त्रवादी र एउटा हिस्सा पश्चगमनकारीहरूको पनि छ ।
एमाले एउटा सिंगो पार्टी नभएर विभिन्न विचार प्रवृत्तिहरूको संगमस्थल भएकाले पनि यसलाई तत्तत् प्रवृत्तिअनुसार छुट्टाछुट्टै केलाउनु पर्छ । त्यसकारण राष्ट्रिय राजनीतिमा ओलीको भूमिकाको चर्चा गर्दा एमाले पार्टीलाई शंकाको सुविधा दिन कन्च्युस्याइँ गर्नु पर्दैन ।
सामान्यतया नेपालको संसदीय लोकतन्त्रवादीहरू धर्मनिरपेक्षता, संघीयता र वर्तमान संविधानको रक्षाका सन्दर्भमा दृढ देखिन्छन् । यो दृढताले गर्दा नै उनीहरू ओलीको विपक्षमा उभिएका हुन् ।
ओलीको संविधानप्रतिको आस्थाका सन्दर्भमा उनको ढुलमुले चरित्रले संसदीय लोकतन्त्रवादीहरू समेत सशंकित छन् । त्यसबाहेक रामको जन्मभूमिको असफल उत्खननको प्रयास र धर्मनिरपेक्षताका सन्दर्भमा उनको अस्पष्ट बयानहरूले अन्य धर्मावलम्बीहरू र धर्मनिरपेक्षतावादीहरू समेतले ओलीलाई रुचाइरहेका छैनन् ।
त्यसबाहेक पश्चगमनकारीहरूलाई आफ्नै ‘सूर्य’ चुनाव चिन्हमा निर्वाचन लडाउनेदेखि अर्काथरि राजावादी पार्टीलाई संसद् प्रवेशमा गरेको सहयोगका कारणले समेत संसदीय लोकतन्त्रवादीहरूको नजरमा उनी त्यति प्रिय छैनन् ।
सत्तामा जानका लागि जायज÷नाजायज र जे पनि गर्ने र जे पनि बोल्ने प्रवृत्तिका कारणले संसदीय राजनीतिमा उनको विश्वसनीयतामा ठूलो ह्रास आएको छ ।
त्यसबाहेक समाजवादी कित्ताभित्र त उनलाई घोर दक्षिणपन्थी अवसरवादी र सत्तालोलुप प्रवृत्तिका नायकका रूपमा नै चर्चा गरिन्छ । लोकतन्त्रवादीहरू र कम्युनिष्ट उम्मेदवारका विपक्षमा राजवादी पार्टीलाई सहयोग गर्ने तरिका कसैलाई मन परेको थिएन । त्यतिमात्र होइन, एमसीसी र एसपीपी सम्झौताका सन्दर्भमा उनको दोहोरो भूमिकाका कारणले पनि राष्ट्रवादी पार्टीहरू र स्वतन्त्र नागरिकहरू समेत उनको विपक्षमा देखिन्छन् ।
उनका भाषणहरूमा प्रायः मार्क्स, लेनिन, माओ र रोजाका विचारहरू होइन, वेद, रामायण, महाभारत र ऋषिमुनिहरूलाई उद्धरण गरेको पाइन्छ । त्यसबाहेक राजावादीहरूसँगको उनको मित्रतालाई समाजवादीहरूले शङ्काको दृष्टिकोणले हेर्नु अस्वभाविक होइन ।
त्यतिमात्र होइन, उनी सत्तामा हुँदा दलाल पुँजीपतिहरूका हितमा ल्याएका कार्यक्रमहरूले समाजवादी अर्थशास्त्रीहरू समेत उनलाई वामपन्थी नेता मान्न तयार छैनन् । जनजाति र मधेसी समुदायका विरुद्धमा बोलीले मात्र होइन, व्यवहारमै उनी भेदभावको पक्षमा उभिएको पाउँछौँ ।
प्रदेशको नामकरणका बेलामा उनले विभिन्न सभ्यताका विरुद्धमा खुलेआम बोलेका छन् । जनजाति, दलित र मधेसी समुदायका जनताहरू उनलाई नेता मान्न तयार नदेखिनु यसैको परिणाम हो । हालै कोशी किनारामा विकसित भएको मानवीय सभ्यताको पहिचानलाई स्वीकार गर्न अस्वीकार गरेर ओलीले त्यो क्षेत्रका जनतालाई भड्काएका छन् ।
निर्धक्क भन्न सकिने तथ्य के हो भने उनीमा डरलाग्दो प्रकारको हिन्दू अहंकारवाद छ । रामको जन्मभूमि पत्ता लगाउने अभियान यसको ज्वलन्त उदाहरण हो । आफ्ना समर्थकहरूलाई आफ्नै जयजयकार गर्न लगाएर कम्युनिष्ट संस्कृतिलाई समेत नराम्रोसँग भ्रष्टीकरण गरे । यसरी उनी लोकतन्त्रवादीहरू र समाजवादीहरूको शङ्काको घेरामा परेको हुनाले राष्ट्रिय राजनीतिमा एक्लिँदै गइरहेका हुन् ।
राजावादीहरू लोकतन्त्रका विरुद्ध ओलीलाई प्रयोग गर्ने हदसम्म मात्रै सहयोग गरिरहेका छन् । जुन दिन ओलीको उपादेयता सकिन्छ, त्यो दिनबाट उनलाई दूधमा परेको झिँगाझैँ कुनै पनि बेला फ्याकिने कुरामा कुनै शंका छैन । उनको अविश्वसनीय चरित्रलाई राजावादीहरूले समेत नियालिरहेका छैनन् होला भन्न सकिन्न ।
अब आयो उनकै पार्टीका कुरा । राष्ट्रिय राजनीतिमा दिनप्रतिदिन एक्लिरहेका ओली अब संसदीय राजनीतिमा बिकाउको वस्तु रहेनन् । यो तथ्य एमालेभित्रका समाजवादीहरूलाई राम्रोसँग थाहा छ । उनीहरू उपर्युक्त मोडको प्रतीक्षामा होलान् जस्तो लाग्छ ।
कुनै एकदिन यस्तो आउनेछ, उनकै पार्टीले समेत उनलाई बोक्न इन्कार गर्नेछ । किनकि एमालेभित्र रहेका समाजवादीहरू राष्ट्रिय राजनीतिमा ओलीको एक्लो यात्राप्रति सन्तुष्ट छैनन् ।
एमालेभित्रका समाजवादीहरूले ओलीका विरुद्धमा विद्रोह गर्ने बित्तिकै त्यहाँभित्र रहेको अर्को हिस्सा जो संसदीय लोकतन्त्रलाई मात्र आफ्नो गन्तव्य ठान्छ, उनीहरुसमेत ओलीका विरुद्ध उभिने निश्चित छ ।
एमालेभित्र ओलीको समर्थनमा पश्चगामीहरुको एउटा हिस्सा अन्तिमसम्म उभिएलान्, तर ऊनीहरूको न्यून सङ्ख्याले ओलीलाई जोगाउन सक्ने छैन ।
यसरी माथि उल्लेखित विभिन्न कारणहरूले गर्दा राष्ट्रिय राजनीतिमा ओली दिनप्रतिदिन एक्लिँदै गइरहेका हुन् । उनको पतन लोकतन्त्रको सुरक्षाका लागि मात्र होइन, कम्युनिष्ट आन्दोलनको पुनःएकीकरणका लागि पनि जरुरी छ ।
यसका सन्दर्भमा नेपालका वामपन्थीहरू र खासगरी एमालेभित्रकै समाजवादीहरूको जति छिटो कुरा बुझ्छन्, त्यति नै मात्रामा मुलुकको यात्रा समाजवादतर्फ मोडिने हो । कतिपय घटनाहरुले समयको माग गर्दछ । हामी त्यही सकारात्मक घटनाको प्रतीक्षामा छौँ ।