Logo
Logo

तलब भत्ता हिनामिना गर्ने दुई डिएसपीलाई कैद सजाय


23.4k
Shares


काठमाडौं । कर्मचारीको तलब÷भत्ता अनियमितता गर्ने जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालिन दुई डिएसपी दोषी ठहर भएका छन् । हाल अवकाशप्राप्त प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण बहादुर कुँवर र त्रिलोक बहादुर चन्दलाई बिशेष अदालतले बुधबार दोषी ठहर गरेको हो ।


विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य यमुना भट्टराईको इजलासले बुधबार यस्तो फैसला गरेको हो । विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कुँवरलाई एक वर्ष ९ महिना कैद र लेखापाल रहेका प्रहरी नायव निरीक्षक माधव चन्द ठकुरीलाई एक वर्ष ८ महिना कैद सजाय हुने फैसला सुनाइएको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तलब तथा भत्ता बावपतको रकम हिनामिना गरेको दाबीसहित एकै मितिमा दायर दुई मुद्दा लगाउमा राखेर सुनुवाई गर्दै आइरहेकोमा बुधबार फैसला सुनाएको हो । हुम्लाको प्रहरी कार्यालयमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १३ फागुन २०७६ मा मुद्दा दायर गरेको थियो । एउटा मुद्दामा कृष्णबहादुर कुँवरसमेत ९ र अर्कोमा त्रिलोक बहादुर चन्दसमेत ५ जनालाई प्रतिवादी कायम भएको थियो ।


कुँवरसमेत ९ जना प्रतिवादी रहेको मुद्दामा सजाय सुनाए पनि चन्दसमेत पाँच जना प्रतिवादी रहेको मुद्दामा भने ८ वैशाखमा सजाय निर्धारण हुने प्रवक्ता योगीले बताए । यी दुवै मुद्दामा प्रतिवादी बनाइएका प्रहरी नायव निरीक्षक माधव चन्द ठकुरी दोषी ठहर भएका छन् ।

प्रतिक्रिया दिनुहोस्