न कार्चोपी भरिएको
न रङ्गीचङ्गी
एउटा साधारण कपडालाई
सिरको टोपी बनाएको
सक्कली ढाका भनेर
पोखराको प्रसिद्धि ढाकाको
तर टाँका लगाउन जान्दैमा
ढाका बन्दैन
महको फक्लेटोमा पुगेपछि
जागेको वासनाले मात्र पुग्दैन
चाका निचोर्न नजान्नेलाई
अरिङ्गालले होइन
माउरीले नै चिल्छन्
माटोको प्रेमबाट जन्मेको इमानले
निसास्सिएर डाँडा काट्यो
आकाशमा हलो जोतेर
गरिएको झूटको विकासे खेती
झाँगिएको झाँगिएकै छ
त्यसैमा नोट टिपिरहेका छन्
ग्रे कोट लगाउनेहरू
घट्दो सम्पत्ति देखाएर
बढ्दो लुट गरिरहेका छन्
गाउँ पाखा बाझो छोडेर
आँसु पिएका तन्नेरीहरू
मुलुक छोडिरहेका छन्
तिनले पठाएको रगत पसिनामा
झुट उत्पादन गर्ने तानहरू
अहोरात्र चलिरहेका
यसको अदलीबदलीको –
सय दिने विकासको चकाचकमा
नयाँ नयाँ ढाका बुनिरहेका
दाउराको चट्टाबाट सुनको चट्टामा पुगेका
कागजको फूल देखाएर
टोपीबाट खरायो निकाल्नेले
बुनेको ढाकाको टोपी लगाएका
ग्रे कोटधारीको कतारले
मरुभूमिकरण भएको मुलुकमा
ढाकाधारी नै हो डाँका बन्ने
फस्टाएको यो नोटको खेतीमा
हुर्केका छन् यस्ता बिरुवा
कोही छहारी दिने अजङका रूख बनेर
कास्कीकोटमा होस् या बालकोटमा
प्रत्यारोपित भएका ती खुमलटारमा
या बालुवाटारमा
किन यत्रो हल्लाखल्ला?
सुकेको स्वर र फुलेको सासमा
के आकाश खसेको छ र ?
भइरहेको कुरा त भएको हो
रूपान्तरणको अर्को शृङ्खला –
नयाँ युगको
नयाँ नेपालको ।