Logo
Logo

नेता नसुध्रि देश सुध्रिन्न


4k
Shares

स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएको यही वैशाख अन्तिममा एक वर्ष पूरा हुँदैछ । उक्त निर्वाचनको स्पष्ट सन्देश थियो, ‘स्थापित र पुराना राजनीतिक शक्तिहरू सच्चिने कि सक्किने ?’ त्यो समयमा हामीले भनेका थियौं, ‘समय बाँकी छ, सच्चिनु पर्छ ।’

पूर्वमा हर्क साम्पाङ, काठमाडौँमा बालेन साह र पश्चिममा गोपाल हमालहरू जन्मिनुको कारण स्वयं पुराना दलका नेता/कार्यकर्ताहरूको जडता, अक्षमता र अराजकता नै मूल कारण हो भन्ने विश्लेषण थियो । तर, उल्टै हर्क, बालेन र गोपालहरू खहरे हुन् भनेर टार्ने काम भयो ।

त्यतिमात्रै होइन, पार्टीले टिकट नदिएका बागी उम्मेदारहरूले पनि निर्वाचन जितेका थिए । निर्वाचनको परिणामलाई लिएर निर्मम समीक्षा गर्नुको साटो उल्टै उनीहरूमाथि दलहरूले कारबाहीको डण्डासम्म चलाए ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिनापछि अर्थात् मंसिर ४ मा सम्पन्न संघ र प्रदेशको निर्वाचनमा पुराना राजनीतिक दलहरूको भविष्यमाथि खतराको घण्टी नमजाले बज्यो ।

त्यो बेला हामीले फेरि भन्यौं, ‘खतराको घण्टी जोड्ले बज्यो । अब त पुरानो नेतृत्वले सुन्छ कि ?’ के को सुन्नु ? मुखामुख गरेर चुनावी हारलाई केवल हारका रूपमा लिए ।

अवस्था अघि बढ्यो । सरकार गठनको किचलोमा उही पुरानै पारा देखियो । सत्ता गठबन्धन बनाउने र भत्काउने क्रम पुनः दोहोरियो । को प्रधानमन्त्री बन्ने ? को मन्त्री बन्ने ? कसले अवसर पाउने ? यस्तै अशोभनीय राजनीति आजका दिनसम्म जारी छ ।

राजनीति परिस्थितिको उपज हो भनेर नबुझेका कमै नेता होलान् । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर आफूलाई परिमार्जित गर्नुको साटो लाजलाई पनि लज्जित बनाउने गरी उही पुरानो प्रवृत्तिमा अघिल्लो पुस्ता रमाइरहेको देखिन्छ ।

हुन त इतिहासलाई भजाएर खान पल्लेकाहरूलाई के को लाज ? जेल, नेल, ढुंगामुढा गरेको, मसाल बालेको, जुलुस निकालेको, रेलिङ भाचेको ब्याज खाएर अझै पुगेको छैन । आफन्तलाई संरक्षण पुगेको छैन ।

तीनपुस्ते सम्पत्ति जम्मा भएकै छैन । किन सच्चिनु ? कसका लागि सच्चिनु ? देश, जनता र कार्यकर्ताको भविष्यमाथि यसरी छुरा चलाउन सफल नेता/नेतृत्वलाई अरू सबै तपशिलका विषय बनेपछिको अवस्थाका बारेमा प्रायः मान्छेहरू जानकार छन् । केवल आफू, आफ्ना र आफ्नो पक्ष प्रदान बनेपछि कसरी सङ्लो बग्छ राजनीतिको खोला ? कसरी गर्व गर्न लायक बन्छ नेपाली राजनीति ?

सोचौं, विचार गरौं
यस्तो अवस्थामा स्थापित दलहरूका सामुन्नेमा एउटा गम्भीर प्रश्न उभिएको छ, ‘नयाँ भनिनेहरूले भनेझैं (यिनीहरू सच्चिदैनन्, सक्नुपर्छ) के हामी सक्किन तयार हो ? हामी सच्चिन नसक्ने गरी भत्किसकेका हौँ ? के हो आजको वास्तविक अवस्था ? अवसरवाद र दलाल पुँजीवादको दलदलमा फसेका नेता कार्यकर्ताहरूले यी प्रश्नको जवाफ दिने नैतिकता राख्छन् ?

उनीहरूलाई जनताले पटकपटक सच्चिनका लागि सूचित गराउँदा पनि सच्चिन तयार नभएको सत्य घामजस्तै छ । घिनलाग्दो राजनीति, सीमाहीन नातावाद, पक्षपात, अवसरवाद र आपराधिक गतिविधिमा रमाइरहेका पुराना दलका नेताहरूले समयमै सोच्न नसक्दा आजको दिन आएको हो ।

स्वतन्त्र नामधारीहरूको उदय र असन्तुष्टि पोखिरहेको जनताको अवस्थालाई ठोस विशलेषण गरेर आफ्ना क्रियाकलाप सञ्चालन गर्नुको साटो पुरानै नारा र पारामा व्यस्त छन् पुराना नेता र ढोंगी कार्यकर्ता ।

आजसम्मको अवस्थालाई हेर्दा पाँच वर्षपछिको निर्वाचनमा योभन्दा पनि खराब स्थिति नआउला भन्न सकिन्न । उक्त अवस्थाको जिम्मेवार सच्चिन नसक्ने दलहरू र नेताहरूको जडता, अनावश्यक जाम, पालोप्रथा, नातावाद, जातिवाद, नश्लवाद, पक्षपात, कृपावाद, गुटवाद नै हुनेछ ।

दक्ष, योग्य, उपयुक्त, जनताले रोजेको र खोजेको उम्मेदारलाई पाखा लगाएर गोजीको पात्रलाई अघि सार्ने काम आजका दिनसम्म पनि जारी छ । गलत पात्र खडा गर्दा जनताले विकल्प छानेको कुरा भुल्न मिल्छ ? मिल्दैन । हालै मात्र पाटन क्याम्पसमा सम्पन्न स्ववियू निर्वाचनमा बागी उम्मेदारले चुनाव जितेको दृष्टान्तलाई उदाहरणका रूपमा लिन सकिन्छ ।

आजका दिनसम्म पनि पुराना र स्थापित दल, संगठनहरूको मनमा हरि पलाएको देखिँदैन । एकपछि अर्को धक्का प्रहार भइरहँदासम्म पनि कुनै महसुस गरेको देखिन्न । जनताको अवस्था र आवश्यकता के हो ? जनताको मनोविज्ञान के हो ? जनताको चाहाना, भावना र माग के हो ? को व्यक्तिको खाँचो हो समाज र देशको लागि ? कुन व्यक्तिको जनमत राम्रो छ ? त्यसको समयमै पहिचान गर्नुपर्छ कि पर्दैन ?

दर्शनबिनाका दलहरू ४/६ महिनाको अवधिमै मुलुकको चौथो दल कसरी बने ? त्यसको समीक्षा गर्नुपर्ने होइन ? इतिहास भजाएर डकारिरहेका नेतृत्वसँग जवाफ छ ? छैन । पहिलो कुरा उनीहरू ठूलो जडतामा छन् । त्यसैमाथि खुट्टा मोल्ने कार्यकर्ताहरूको गम्भीर घेराबन्दीमा छन् । यस्तो नेतृत्वले जनताको चाहाना कसरी बुझ्छ ? देशको अवस्थाबारे कसरी जानकार हुन्छ ?
यता स्वतन्त्र पार्टीका नेताहरूले काम गर्न आएका हौँ, राजनीति होइन भनेरै निर्वाचन जिते । उनीहरूले विचार, सिद्धान्त केही चाहिँदैन, काम, काम र काम भनेकै नाममा जनताले मुलुकको चौथो शक्ति बनाइदिए ।

विचारका हिसाबले निक्कै गरूङ्गा नारा लगाएका राजनीतिक दलहरूको अवस्था निराशाजनक छ । जनताले आफ्ना आवश्यकता, अवस्था बदल्ने नेतृत्व खोजिरहेका छन् । सार्वजनिक संस्थानको सेवामा पारदर्शिता, जवाफदेहिता, छिटो छरितो, सर्वसुलभ सेवा चाहिरहेका छन् ।

पुराना दलहरूले यत्ति कुरा गर्न सकेको भए नयाँ दललाई जनताले अनुमोदन किन गर्थे ? अर्को कुरा नयाँ भनिनेहरूको ढंग पनि खासै गतिलो छैन । तर, जनताले चाहेर÷नचाहेर उनीहरूलाई विकल्प ठानिरहेका छन् ।

यता राजनीतिक विश्लेषणको पाटोबाट हेर्दा सतहमा आएका कुनै पनि नयाँ दलहरूको हैसियत ‘नयाँ बोत्तल, पुरानो रक्सी’ भन्दामाथि उठ्न सकेको देखिँदैन । बरू आजको आवश्यकता नयाँ दलभन्दा पनि पुराना दल र नेतालाई सुधार्ने, प्रश्न गर्ने नै हो ।

अन्त्यमा, अझैं पनि समय घर्किसकेको छैन । सच्चिने समय बाँकी नै छ । प्रवृत्तिगत सुधार, रूपान्तरणकारी सांगठनिक चेत, असल र सफल नेतृत्वको आजको खोजीको विषय हो । नयाँ भनिनेहरूसँग स्पष्ट विचार, सिद्धान्त, नीति र विधि नै छैन ।

क्षणभरको आवेग, आलोचना, गाली र तालीले राजनीतिको दूरगामी रथ चल्दैन । राजनीतिको दूरगामी यात्रा विचार, सिद्धान्त, नीति र विधिमै निर्भर रहन्छ । अनावश्यक र सुनियोजित निराशा, कुण्ठा, आलोचना, विरोध र भत्सर्नालाई चिर्दै यिनै सैदान्द्धिक कुराहरूलाई ध्यानमा राखेर जनताको आवश्यकता र अवस्थालाई ठोस विश्लेषण गर्नुपर्छ । पुराना दलहरूले विगतको निर्मम समीक्षा गर्नुपर्छ ।

साथै, आगतमा राम्रो गर्छौँ भन्ने विश्वस्त आधार पेस गरेर जनतालाई विश्वासमा लिन सक्नुपर्छ । अनि मात्रै लोकतन्त्र र संविधानको रक्षा हुनसक्छ । समृद्धि र समाजवादको यात्रा अघि बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्