काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना ग्राहकलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोचेजस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकले ल्याएको नयाँ खातामा ग्राहकको इच्छाबमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुन सक्नेछ ।
यसका साथै सोचेजस्तै बैंक खाता खोल्ने ग्राहकले तीन वर्षसम्मका लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्करुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिँदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ ।
ग्राहकहरुमा नियमित बचत गर्ने बानीको विकास गर्ने अभिप्रायले बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी समयसमयमा यस्ता योजना ल्याउने गरेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
मुलुकको लगभग सबै वित्तीय सूचकांकहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।