Logo
Logo

‘हाइप्रोफाइल’ अपराध खोतल्दै प्रहरी


4.2k
Shares

काटमाडौं । भनिन्छ, प्रहरी र न्यायलयमात्र बलियो भयो भने देशमा धेरै सुधार हुन्छ । प्रहरीले सक्रियता देखाउँदा कुन तहका अपराध बाहिर आउँछन् भन्ने कुरा हालै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरेको एउटा घटनाबाट प्रष्ट हुन्छ । प्रहरीले एक महिनाको अवधिमा आधा दर्जन ‘हाइप्रोफाइल’ अपराध बाहिर ल्याएर राज्यभित्रका अनेक चलखेलको पर्दाफास गरेको छ ।

प्रहरीले गृह मन्त्रालयकै आडमा शरणार्थीका नाममा भएको करिब एक अर्ब ठगी, पैसाका आधारमा तिब्बतीलाई नागरिकता दिने धन्दा, विदेशमा मृत्यु हुने कामदारको नाममा ठगी, चिनियाँ गिरोहको अपराध धन्दा तथा अनलाइनमार्फत हुने सट्टेबाजीमा संलग्न पेशेवर गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यीमध्ये सबैभन्दा चासो र चर्चाको विषयमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब एक अर्ब ठगी प्रकरणको छ । जसमा गृह मन्त्रालयकै पदाधिकारी र केही एमाले नेताहरुको संलग्नतासमेत प्रष्ट भइसकेको छ ।

यसमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरुको बयान प्रभावित पार्न यतिला केही उच्चपदस्थ प्रहरीदेखि नेताहरुसमेत लागिपरेका छन् ।

प्रहरीले मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भन्डारी र पाँचथरका टंककुमार गुरुङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । उनीहरुले प्रहरीसँग मौखिक रुपमा आफूहरुले उठाएको पैसा नेता तथा गृहका कर्मचारीलाई बुझाइसकेकाले फिर्ता गर्न नसकिने बताएका छन् । त्यसलाई प्रमाणित गर्ने अडियो तथा चेक प्रहरीले बरामद गरेको छ । तर, लिखित बयानको क्रममा त्यसरी पैसा बुझ्ने व्यक्तिहरुको नाम उल्लेख नगर्न दबाब दिइएको छ ।

दुलाल कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वपिए हुन् भने राई कांग्रेसकै पूर्ववडाअध्यक्ष हुन् । सानु भन्डारीको तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग निकटता देखिएको थियो । सोही आधारमा उनले धेरैलाई विश्वासमा पारेर पैसा उठाएका थिए ।

यो घटनामा फरार रहेका दाङका सन्देश शर्माको एमाले सचिव टोपबहादुर रायमाझीलगायत एमाले तथा माओवादीका नेतासँग घनिष्टता छ । उनी एक वर्षदेखि फरार छन् । राजनीतिक र प्रशासनिक आडमा भएको यो ठगी मुद्दामा प्रहरीले पक्राउ गर्ने आँट गरेपनि अहिले मुद्दा नै डिसमिस गराउने प्रयास भइरहेको छ । यसमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समेत अडान लिन नसकेको चर्चा प्रहरीमा छ ।

कसरी भयो हाइप्रोफाइल ठगी ?

यो ठगीको योजना गृह मन्त्रालयमै बनेको थियो । २०७६ को जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्याको स्थायी समाधानका लागि पूर्वसहसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । जबकि, त्यतिबेलासम्म भुटानी शरणार्थीको तेस्रो देशमा पुनस्थापना बन्द भइसकेको थियो । कार्यदलको उदेश्य ठगीमा सघाउनुमात्र थियो । सो कार्यदल गठन हुनुभन्दा अघि नै एजेन्टहरुले भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउन थालिसकेका थिए ।

पीडितहरुलाई विश्वासमा पार्ने अर्काे घटना कार्यदलमा एजेन्टका साथी नै सदस्य थिए । कार्यदलका सदस्य रहेका गणेशबहादुर केसी हाल पक्राउ परेका सानु भन्डारीका साथी हुन् । भन्डारीले नै उनलाई कार्यदलमा राखेको स्रोत बताउँछ ।

केसी त्यतिबेला माओवादी केन्द्रमा आबद्ध थिए । हाल कांग्रेस छिरेर ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष बनेका छन् । त्यसो त कार्यदलका अध्यक्ष पन्थी र सदस्य सचिव दीपक न्यौपाने पनि निजामतीमा राम्रो छवि नभएका कर्मचारी हुन् । न्यौपानेको त गिरोहसँग घनिष्टता नै थियो । हाल उनी बागमती प्रदेशमा उपसचिवका रुपमा कार्यरत छन् ।

सो समितिले चार सय २९ जना शरणार्थीको दर्ता छुटेको भनेर प्रतिवेदन दियो । ती व्यक्ति को हुन् भन्ने गोप्य नै राखिएकाले पनि गृहको भूमिका शंकास्पद देखिएको हो । तर, गिरोहले प्रतिवेदनको थप व्यक्तिको नाम राखेर पीडितहरुलाई झुक्याएका थिए । त्यस्तो गोप्य प्रतिवेदन एजेन्टहरुले सहजै पाउनुमा गृह मन्त्रालयको मिलेमतो प्रष्ट हुन्छ । गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, गृहमन्त्रीका छोरा प्रतिक थापा तथा इन्द्रजितका छोरा निरज गिरोहका सदस्यसँगै हिड्ने गर्दथे ।

सोही प्रतिवेदनका आधारमा उनीहरुको नक्कली परिचयपत्रसमेत बनाइएको थियो । पार्टी प्यालेसमा फोटो खिचेर परिचयपत्रसमेत बनाइएको थियो । त्यसबेला गृहका कर्मचारीसमेत आएको पीडितले बताएका छन् ।
पैसा बुझाएको लामो समयसम्म पनि अमेरिका लैजाने प्रक्रिया सुरु नभएपछि पीडितहरु गृह मन्त्रालयका अधिकारी भेट्न गए ।

गृहसचिव महेश्वर न्यौपाने, टेकनारायण पाण्डेले गिरोहले आर्थिक प्रभावमा पारिसकेको थियो । उनीहरुले उल्टो एजेन्टहरुलाई सघाएको स्रोत बताउँछ । तर, बयानमा दुवैको नाम पोल्नबाट रोक्न चलखेल भइरहेको छ । पछिल्लो समय बालकृष्ण खाण गृहमन्त्री हुँदा पनि उनीहरुले मन्त्रालयलाई प्रभावमा पारेका थिए । सोही कारण प्रहरीले अनुसन्धान समेत अघि बढाउन सकेको थिएन । अहिले उनीहरु पक्राउ परेपछि खाण समेत डराएर प्रहरी अधिकारीलाई भेटेर आफूलाई जोगाउन आग्रह गरेका थिए ।

पीडितहरु ठगी गर्नेलाई पक्राउ गर्न पटक पटक प्रहरीमा धाए । तर, झूटो आश्वासनमात्र पाए । किनकि, एजेन्टबाट उनीहरुले पनि फाइदा लिइसकेका थिए । अहिले प्रहरीले पक्राउ गरेपछि यसमा संलग्न उच्च पदस्थलाई जोगाउन ठूलै चलखेल भइरहेको छ ।

यसमा संगठित अपराधअन्र्तगत अनुसन्धान लगिएको छैन । तीनभन्दा धेरै व्यक्ति मिलेर संगठित रुपमा अपराध गर्दा संगठित अपराध निवारण ऐन २०७० आकर्षित हुन्छ । योजनाबद्ध रुपमा झन्डै एक अर्ब उठाएर ठगी भएको यो घटनामा संगठित अपराधतर्फ आकर्षित नहुनु अनौठो भएको प्रहरी अधिकारी बताउँछन् ।

केही प्रहरीले त्यसतर्फ लैजानुपर्ने बताएपछि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले त्यसमा चासो दिएको छैन । सहन्यायधीवक्ता अच्युतमणि न्यौपाने यो प्रकरणमा मुछिएका गृहका पूर्वसचिव महेश्वर न्यौपानेका निकटस्थ भएकाले उनले नै मुद्दालाई कमजोर बनाउने प्रयास गरिरहेका छन् ।

संगठित अपराध ऐनअनुसार अनुसन्धान गरेका प्रहरीले अभियुक्तलाई लामो समय थुनामा राख्न सक्छ भने सजाय पनि ५० प्रतिशत थप हुने प्रावधान छ । संगठितमा अनुसन्धान गर्दा गिरोहका धेरै जनासम्म पुग्नसक्ने सम्भावना भएकाले छिटो–छिटो मुद्दा टुंग्याउन प्रहरी परिसरको सक्रियता छ । परिसरका एसएसपी दानबहादुर कार्कीकै भुमिका शंकास्पद देखिएको प्रहरी अधिकारीहरु बताउँछन् । एसएसपी मात्र होइन उच्च पदस्थ प्रहरी पनि ठग गिरोहसँग मिलेको आशंका गरिएको छ ।

नागरिकता बिक्रीको पर्दाफास

देशको राजधानीमा कर्मचारीको मिलेमतोमा नागरिकताको बिक्री भइरहेको प्रकरणसमेत हालै प्रहरीले बाहिर ल्याएको छ । सयौं तिब्बती शरणार्थीलाई आर्थिक चलखेलका आधारमा नेपाली नागरिकता दिलाएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका नायब सुब्बा देवराज गौतमसहित ६ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
लेखापढी व्यवसायी कृष्णबहादुर कटवाल, हिरालाल शिवाकोटी, नक्कली बाबु बनेका न्युल्केश श्रेष्ठ र तनहुँको शरणार्थी क्याम्पमा बस्दै आएका लोब्साङ ठिन्लेलाई ५ चैतमा पक्राउ गरेको थियो । उनीहरुमाथिकै बयानको क्रममा नासु पक्राउ परेका हुन् । साथै, पाँच लाख खर्च गरेर निमा ल्हामो गुरुङलाई पनि २३ चैतमा प्रहरीले पक्राउ गरेको छ ।

सो गिराहले करिब पाँच सय तिब्बतीलाई मिलेमतोका आधारमा नागरिकता दिएको प्रहरी आकलन छ । धेरै जसो यही वर्ष दिइएको थियो । यो घटनाले जिल्ला प्रशासन कार्यालयभित्र हुने धन्दा बाहिर आएको छ भने नागरिकता बिक्री तत्कालका लागि रोकिएको छ ।

चिनियाँ गिरोह पनि फन्दामा

नेपालीलाई संगठित रुपमा ठगी गर्दै आएका चिनियाँ गिरोह पनि हालै प्रहरी फन्दामा परेको छ । नौ चिनियाँसहित १९ जनालाई दुई साताअघि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

अनलाइन व्यापारमा उच्च प्रतिफलको प्रलोभनमा पारी उनीहरुले ठग्दै आएका थिए । अनलाइनमार्फत सामान किनबेच गर्दा केही दिनमै उच्च नाफा हुन्छ भनी प्रलोभनमा पारेर पैसा हाल्न लगाउने र लगानी बढाउँदै लगेर सो रकम नै ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

एक पीडितले ४८ लाख रुपैयाँ ठगिएको भनेर दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरी सो गिरोहलाई पक्राउ गरेको हो । यसअघि पक्राउ परेका चिनियाँहरुले अन्य देशका नागरिकलाई ठगी गर्दै आएकोमा पछिल्लो पटक पक्राउ परेकाले नेपालीलाई नै ठग्दै आएका थिए ।

सुरुमा थोरै रकम लगानी गर्न लगाउने र त्यसमा केही दिनमै ३० प्रतिशत नाफाको रकम उनीहरुको खातामा पठाउथे । तर, लगानी रकम भने उनीहरुले चलाएको गोप्य वेभसाइटमा नै ब्लालेन्सका रुपमा देखाइन्थ्यो । नाफा आएपछि थप पैसा लगानी गर्न लगाई उनीहरुले फसाउँदै लग्थे ।

जसअनुसार एकै व्यक्तिले ४८ लाख रुपैयाँसम्म गुमाएका छन् । आफ्नो लगानी फिर्ता गर्न खोज्दा नपाएपछि ती व्यक्ति प्रहरीमा पुगेका थिए । सोही आधारमा अनुसन्धान गर्दा एउटै खाताबाट एक करोड ६४ लाख रुपैयाँसम्म निकालिएकाले यसमा धेरै जना ठगिएको प्रष्ट हुन्छ ।

अनलाइन बजारमा जस्तै विभिन्न सामानको खरिद गरी तत्कालै बिक्री गरेको देखाएर ठगी हुन्थ्यो । खासमा कुनै पनि सामानको त्यसरी खरिद बिक्री नै हुने गरेको थिएन । बिक्री भएको देखाएर उनीहरुले भ्रममा पार्दै आएका थिए ।

आर्थिक कारोबारका लागि उनीहरुले नेपाली नागरिकको नाममा बैंक खाता खोलेर त्यसमार्फत लेनदेन गर्दै आएका थिए । चिनियाँलाई सघाउने मुख्य व्यक्ति दोलखाका अर्जुन श्रेष्ठसहित बुद्धिराज श्रेष्ठ, नुवाकोटका इन्द्र तामाङ, राजकुमार लामा, बुढानिलकन्ठका प्रयास भन्डारी छन् ।

त्यस्तै, रामेछापकी रविना सुनुवार र लमजुङकी सुनिता गुरुङ, मकवानपुरकी जमुना गुरुङ, उदयपुरकी अनिता मगर र गोरखाकी अनु गुरुङ छन् । प्रहरीले उनीहरुको थप गिरोहमाथि छानबिन गरिरहेको छ ।

शवमा ठगीदेखि सट्टेबाजीसम्म

वैदेशिक रोजगारमा जाँदा मृत्यु भएका कामदारका परिवारले पाउने बिमा रकममा समेत ठगी हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यसमा आठ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । बैदेशिक रोजगार बोर्डका कर्मचारी पशुपति अधिकारीसहित रामबहादुर तामाङ, विनोद कुमार लामा, डिकबहादुर मल्ल, रबिन्द्र मोक्तान, प्रकाशबहादुर गोले, रुद्रमान गोले र उमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

त्यस्तै, करोडौंको बेटिङ कारोबार गर्ने गिरोह पनि दुई साताअघि पक्राउ परेको छ । जुम्लाका दिलिपसिंंह कठायतसहित ६ जनालाई प्रहरीले पक्राउ गरेकोमा उनीहरुले ९ करोड आठ लाखको कारोबार गरेको पाइएको हो । वान एक्सबेटमार्फत यसरी खुलेआम सट्टेबाजी भएको हो ।

संयोग, अपराध अनुसन्धान कार्यालयमा नयाँ नेतृत्व गएसँगै ठूला अपराधको सफल अनुसन्धान भइरहेको छ । एसएसपी डा.मनोजकुमार केसीले अपराध अनुसन्धानमा आफ्नो क्षमता र इमान्दारीता देखाएका छन् । तर, उनले आगामी दिनमा दबाब कत्तिको झेलेर यसलाई निरन्तरता दिन सक्छन् त्यो आगामी दिनले देखाउनेछ ।

प्रतिक्रिया दिनुहोस्