काठमाडौं, २८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ, नेपालले एकता प्रक्रिया टुंग्याएको छ । संघको यही १६ कात्तिकमा बसेको कार्यालय बैठकले संघको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुंग्याएको संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमाले निकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादी निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) रहेका छन् । पार्टी एकतापछि जनवर्गीय संगठनमा तल्लो तहसम्मको एकता प्रक्रिया टुंग्याउने संघ पहिलो संगठन हो ।
जिल्ला संयोजक र सहसंयोजकले जिल्ला कमिटीको एकता टुंग्याउनेछ । संघको ३३५ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । बैठकले आगामी शनिबार काठमाडौँमा केन्द्रीय समितिको शपथग्रहण तथा केन्द्रीय कमिटी बैठक र मंसिर १ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको संघका संयोजक सापकोटाले जानकारी दिए । रासस