Logo
Logo

चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?


नीरा गौतम

0
Shares

  • नीरा गौतम

रुपन्देही, २८ कार्तिक । चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय नेताहरुको बोली नै बन्द हुन्छ । कतिपय नेताको शिर निहुरिन्छ । केहीले असहज परिस्थितिलगायतका कारण देखाएर जनताका प्रश्न थामथुम गर्ने प्रयास गर्छन् । तर, रुपन्देहीमा भने त्यस्तो भएन ।
चुनावी प्रतिबद्धताको समीक्षासहितको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका प्रश्नको जवाफ दिन उपस्थित भएका यहाँका नेताले शिर ठाडो पारेर बोले । नेताहरुले चुनावी प्रतिबद्धताअनुरुप भइरहेका विकासे आयोजनाको फेहरिस्त जनता सामु राख्दा यहाँका सर्वसाधारण खुशी हुँदै ताली बजाए ।


नमस्ते नेपाल नामक संस्थाले बुधबार साँझ शंकरनगरमा आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा रुपन्देही क्षेत्र नं-२ का सांसद विष्णु पौडेल, क्षेत्र नं २ का प्रदेशसभा सदस्य लीला गिरी र तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेलाई निम्ता गरिएको थियो ।
कार्यक्रममा आयोजकले चुनावअघि जनतासामु गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो भनेर प्रश्न गर्दा सांसद विष्णु पौडेलले आफूले सम्पन्न गरेका कामको लामो सूची प्रस्तुत गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिदेखि भैरहवा बुटवल ६ लेन सडक, अन्तरर्रा्ष्ट्रिय सम्मेलन केन्द्र, स्थायी प्रदर्शनी केन्द्र, सरकारी मेडिकल कलेज, तिनाउ नदीमा निर्माण भइरहेका पाँचवटा पक्की पुल, ४ लेन बन्दै गरेको बुटवलकोे कालीकापथ, मोतिपुर औद्योगिक क्षेत्र, बेलवास नुवाकोट तथा बेथरी बेलवास पर्यटन सडक, बुटवल र सैनामैनाका नगर परिक्रमा पथलगायतका ठूला–ठूला विकासे आयोजनाका प्रगतीका विषयमा जानकारी दिए ।
पौडेलले आफ्नो निर्वाचन क्षेत्रमात्रै होइन सिंगो रुपन्देहीलाई विकासको नमूना जिल्ला बनाउने प्रतिबद्धता गर्दा मतदाता खुशीले गदगद भए । कालीगण्डकी डाइभर्सन प्रक्रिया, मोतिपुर औद्योगिक क्षेत्र निर्माण, सैनामैनामा नमूना संग्रहालय निर्माण जस्ता महत्वपूर्ण आयोजना निर्माणको काम पूरा गर्न स्रोत पहिचान गरी बजेटको व्यवस्था गर्ने उनले बताए ।
महासचिव पौडेलले भैरहवा–लुम्बिनी सडक, लुम्बिनी–तौलिहवा सडक, बुटवल– बेथरी सडक, बुटवल– नारायणगढ सडक, बुटवल–कोहलपुर, बुटवल–पोखरा सडक निर्माण तथा स्तरोन्नतिपछि रुपन्देही उच्चस्तरको सडक सञ्जालले विभिन्न जिल्लासँग जोडिने बताए ।

सो अवसरमा महासचिब पौडेलले आफ्नो अभिभारा काँधमा बोकेर नेकपा नेतृत्वको सरकार अगाडि बढेकाले जनताले यसको सही मूल्यांकन गर्ने धारणासमेत राखे । ‘हामीले चुनाबमा गरेका प्रतिबद्धता सिरानीमा राखेर यहाँहरुले अध्ययन गरिदिनुहोला’, महासचिव पौडेलले भने, ‘६० महिनापछि प्रतिबद्धताको समीक्षाका लागि फेरि आउनेछौ ।’
उनले सामाजिक सुरक्षा, गरीबी निवारण, पूर्वाधार विकास, राष्ट्रको सम्मान र स्वाभिमान वृद्धि गर्ने सवालमा महत्वपूर्ण काम भएको उल्लेख गरे । शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमासमेत धेरै काम अगाडि बढेको उनले बताए । महासचिव पौडेलले सुकुम्वासी समस्या स्थायीरुपमा समधानका लागि कानून निर्माण भएकाले अब काम अगाडि बढ्ने बताए ।
महासचिव पौडेलले प्रदेश– ५ को अस्थायी राजधानीलाई स्थायी राजधानीको रुपमा प्रदेशसभाले परिणत गर्ने विश्वास व्यक्त गरेका छन् । संसारले चिनेको लुम्बिनीसँग प्रदेशको नामाकरण जोडिने विषयमा कसैले प्रश्न नउठाउने उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्