काठमाडौं । सीमा सुरक्षाको विषयमा हालै सशस्त्र प्रहरी बलले सबै बाहिनीका डिआइजीलाई मुख्यालय बोलाएर तीन दिनसम्म छलफल ग¥यो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले तस्करी रोक्न बिशेष निर्देशन दिए । तर, फिल्डमा खासै सुधार हुन सकेको छैन ।
माथिल्लो तहका अधिकारी नै गम्भीर नहुँदा सीमामा तस्करीको सेटिङ भत्किन सकेको छैन । मधेस र लुम्बिनी प्रदेशका डिआइजीकै कारण तस्करी न्यूनीकरण हुन नसकेको सशस्त्र प्रहरी अधिकारीहरू बताउँछन् । हाल रौतहट, बारा र कपिलवस्तुबाट पुरानै सेटिङमा तस्करी भइरहेको छ ।
रौतहटमा एसपी माधब रेग्मीकै संरक्षणमा विभिन्न नाकाबाट तस्करी भएको स्रोत बताउँछ । संगठनले नीतिविपरीत उनले असइ रामविश्वास यादव, सिपाही वीरेन्द्र साह र मुकेश साह घुमुवाको रुपमा खटाइएका छन् । घुमुवा सक्रिय भएसँगै तस्करी पनि बढेको छ ।
बाराको सिम्रौनगढ नाकाबाट समेत तस्करी मौलाएको रिपोर्ट सशस्त्र प्रहरी मुख्यालय पुगेको छ । सिम्रौनगढको कोचर्बा, कबलपुर, गोलागंज नाका हुँदै नेपालबाट मदिरा केराउ तथा भारतबाट लत्ताकपडा, हार्डवयरका सामानको तस्करी भइरहेको छ ।
बाराका एसपी टोपबहादुर डांगीको तस्करीमा साँठगाँठ देखिएको छ । केही समयअघि तस्करी गराएको प्रतिबेदन बनाएर डांगीले केही एसपीलाई हटाएका थिए । अहिले उनी आफैं सोही धन्दामा लागेका छन् ।
उता कपिलवस्तुको कृष्णनगर नाकामा त प्रहरीले पैसा लिएर तस्करी गराएको भिडियो नै यतीबेला भाइरल भएको छ । सो नाकामा कार्यरत पुराना प्रहरीको सेटिङ कायमै रहेको स्रोत बताउँछ ।
मधेस र लुम्बिनी प्रदेशमा कार्यरत डिआइजी कमजोर कार्यक्षमताका मानिन्छन् । मधेसमा दिपेन्द्र शाह र लुम्बिनीमा बिदुर खड्का बाहिनीपति छन् । उनीहरूको कमजोर कमान्डका कारण सबैजसो जिल्लामा तस्करी रोकिन सकेको छैन ।
तराईमा तस्करीकै कारण भन्सार राजश्व घटेको सरकारको निष्कर्ष छ । अर्थ मन्त्रालयले यसमा सुरक्षा निकायको सहयोग मागेको छ । तर, सुरक्षा निकायको कार्यशैली फेरिन सकेको छैन ।