वैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन हुँदैछ । सत्ता गठबन्धन एकढिक्का भएर निर्वाचनमा होमिदा पनि प्रमुख दललाई राष्ट्रिय स्वतन्त्र पार्टी चुनौती बनेको छ । खासगरी परिवर्तन चाहने युवाको रोजाइ राष्ट्रिय स्वतन्त्र पार्टी बनेको छ । कांग्रेस र एमालेजस्तो जनाधार बलियो भएको पार्टीका उम्मेदवारहरुसमेत ‘घण्टी’देखि तर्सन थालेका छन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणामले ठूला दललाई झस्काएको छ । विगतको निर्वाचनमा पनि ठूला दलका नेताहरुले राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही ठानेका थिएनन् । तर नपत्याउने खोलाले बगायो ।
‘घण्टी’को शक्ति भन्नु नै भ्रष्टाचार, विकृति, विसंगतिविरुद्धको अभियान हो । ढाकाकुमार श्रेष्ठको दुई करोड बार्गेनिङको अडियो काण्ड बाहिरिएको ७२ घण्टाभित्र छानबिन र कारबाहीको सार्वजनिक घोषणा भयो । नभन्दै ढाकाकुमार श्रेष्ठको सांसद पद गयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमा नैतिक बल नभएको भए, यो काण्ड पनि ७० करोडको काण्डजस्तै फासफुस हुने थियो । वर्षौँवर्षदेखि कांग्रेस र एमालेले गरेका यस्ता धेरै काण्डहरु फासफुस भएरै गएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीहरुलाई ऐया आच्छु पनि भन्न नपाउँदै ठाउँका ठाउँ कारबाही गर्छु भने । तर, उनको कार्यकालमा अर्बौंको घोटाला काण्ड बाहिरियो । ओलीले एउटा माखोसमेत मार्न सकेनन् । यसर्थ, ओलीभन्दा लामिछाने धेरै अर्थमा नैतिकवान छन् भन्ने देखियो ।
हिजो ‘जनयुद्ध’मा गाउँका युवाले बन्दुक काँधमा बोकेका थिए । आज सहरका युवाले हातमा घण्टी बोकेका छन् । हिजो माओवादी युवाको जुन सपना थियो, आज घण्टीका पछाडि कुद्ने युवाको सपना पनि त्यही नै हो ।
प्रतिनिधिसभामा ओलीको दल दोस्रो अर्थात् प्रमुख प्रतिपक्षमा छ । लामिछानेको रास्वपा चौथो स्थानमा छ । संख्याको हिसाबले एमाले दोस्रो स्थानमा भए पनि नैतिक बलको हिसाबले रास्वपा एमालेभन्दा धेरै माथि छ भन्ने कुरा ढाकाकुमारको कारबाहीले प्रमाणित गरिदिएको छ ।
ओलीले सुशासनलाई प्राथमिकतामा राखेर सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री मातहत राखे । सम्पत्ति शुद्धीकरणमा अजय सुमार्गी र ३३ किलो सुन प्रकरणमा दीपक मल्होत्राको नाम देख्नासाथ ओली तर्सिए । कारबाही अगाडि नबढाउन आदेश दिए । यसको मतलब ओलीमा नैतिकता नै छैन भन्ने हो ।
राजनीतिमा लाग्ने जो सुकै किन नहुन्, तिनमा उचो नैतिकता भएन भने त्यस्ता नेताको पतन ढिलो चाँडो निम्तन्छ । दुईतिहाइ सरकारको पतन ओलीको नैतिक पतन हो । तिनै ओली अहिले पनि चर्का कुरा गर्दै जनतालाई उल्लु बनाउँदैछन् ।
ओलीले जस्तै चर्का कुरा लामिछानेले पनि घोक्रो सुकाइसुकाइ गर्छन् । फरक यति हो, भ्रष्टाचारविरुद्ध लामिछाने आक्रामक शैलीमा प्रस्तुत हुन्छन्, ओली लुरुक्क पर्छन् । किन भन्दा ओलीमा नैतिक बल नै छैन । औषधिको बलले थुतुनो पड्काउँदैमा कहाँबाट सुशासन आउँछ । सुशासनका लागि दृढ अठोट, आत्म संकल्प चाहिन्छ, जुन लामिछानेको बोलीमा देखिँदैछ ।
कांग्रेसको कुशासन र भ्रष्टाचारले माओवादी जन्मायो । माओवादीको कुशासनले रास्वपा जन्मायो । यदि माओवादीले यो १०–१५ वर्षमा जनताको पक्षमा काम गरेको भए रास्वपाजस्तो पार्टी जन्मिने नै थिएन, सायद, स्वयं लामिछाने माओवादी बन्ने थिए ।
हिजो ‘जनयुद्ध’मा गाउँका युवाले बन्दुक काँधमा बोकेका थिए । आज सहरका युवाहरुले घण्टी हातमा बोकेका छन् । हिजो माओवादी युवाको जुन सपना थियो, आज घण्टीका पछाडि कुद्ने युवाको सपना पनि त्यही नै हो । यदि, घण्टी पनि माओवादीकै बाटोमा लाग्ने हो भने युवाले फेरि विद्रोह गर्नेछन् । अर्कै पार्टी रोज्ने छन् ।
रवि लामिछानेप्रति युवा आकर्षण प्रमुख राजनीतिक दलहरुको विकृति, विसंगतिविरुद्ध विद्रोह हो । यसलाई व्यवस्थाविरोधी जनमतका रुपमा बुझ्ने गल्ती गर्न हुन्न । हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न यिनै युवाले बलिदानी दिएका थिए । यो कुरालाई प्रमुख राजनीतिक दलका नेताले मनन गरेर आफूलाई सुधार्नुको विकल्प छैन ।