बेइजिङ । चीनले ताइवानको स्वतन्त्रताको वकालत गर्ने सङ्गठनहरूविरुद्ध दण्डात्मक कारबाही थालेको छ ।
ताइवानी सङ्गठन प्रस्पेक्ट फाउण्डेशन र एशियन लिबरल एण्ड डेमोक्र्याटिक काउन्सिलविरुद्ध बेइजिङले दण्डात्मक कारबाहीको घोषणा गरेको हो ।
दुवै सङ्गठनलाई मुख्यभूमिका सङ्गठन वा व्यक्तिसँग सहकार्यमा प्रतिबन्ध लगाइएको छ । अब ती सङ्गठनले मुख्यभूमिका साथै हङकङ र मकाउ विशेष प्रशासनिक क्षेत्रमा पनि प्रवेश पाउने छैनन् ।
मुख्यभूमिका सङ्घसंस्थालाई पनि प्रस्पेक्ट फाउण्डेशन र एशियन लिबरल एण्ड डेमोक्र्याटिक काउन्सिलसँग सहकार्य नगर्न आदेश दिइएको छ ।
ताइवान मामिलासम्बन्धी चीनको राज्यपरिषद् कार्यालयले ती दुई सङ्गठनले लोकतन्त्र, शैक्षिक आदानप्रदान, कार्यशाला तथा सहयोगको बहानामा गैरकानुनी काम गरेकाले कारबाही गरिएको जनाएको छ ।
उक्त कार्यालयका प्रवक्ता झु फेङलियानले ती संस्था चीन विरोधी शक्तिसँग मिलेर सङ्गठन विस्तारमा लागेका तथा एक चीन सिद्धान्तलाई उल्लङ्नमा लागेकाले कारबाही गरिएको बताएका छन् ।