प्रकाश सपुत राम्रा सर्जक हुन्, यसमा दुईमत छैन । उनका गीत मन नपराउने सायदै होलान् । पछिल्ला केही वर्षयता उनी नेपाली सांगीतिक आकाशमा चम्किरहेका छन् । सपुतले एकपछि अर्का कर्णप्रिय गीतहरू गरिरहेका छन् ।
तर, सपुत जति लोकप्रिय छन्, उति नै विवादीत पनि । उनका गीतको चर्चा जति हुन्छ, उत्ति नै विवाद पनि । उनको गीतहरूमध्ये सबैभन्दा बढी हेरिएको/सुनिएको गीत हो- गलबन्दी । युट्युबमा अहिलेसम्म झण्डै साढे पाँच करोड पटक हेरिएको छ ।
गायक सपुतलाई यो गीतले जति चर्चामा ल्यायो, उति नै विवादमा पनि तान्यो । ‘गलबन्दी’ गीत आफ्नो देउसीभैलो गीत ‘आऊ नाचौं साथी हो’सँग मिलेको भन्दै गायक शम्भु राईले दाबी गरेपछि विवाद उत्कर्षमा पुग्यो । विवाद प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयसम्म पुग्यो । गीतको संगीत सिर्जनामा शम्भुको नाम समावेश भएपछि विवाद साम्य भयो ।
यस्तै, सपुतको ‘पीर’ गीत पनि विवादरहित बन्न सकेन । गीतको भिडियोमा सशस्त्र युद्धमा सहभागी महिला छापामार देह व्यापारमा संलग्न हुने देखाइएको थियो । माओवादीलगायत केही राजनीतिक दलले आपत्ति जनाएपछि भिडियो युट्युबबाट हटाउन बाध्य भए । र, देह व्यापारमा संलग्न भएको दृश्य काटेर फेरि अपलोड गरियो ।
सपुतको अर्को गीत अहिले विवादको उत्कर्षमा छ । उनको ‘सकम्बरी’ बोलको गीतबारे बहस भइरहेको छ । ‘सकम्बरी’ पारिजातको उपन्यास ‘शिरिषको फूल’को एकपात्र हो । त्यही पात्रको नाममा सपूतले बैशाख १ गते भिडियो सार्वजनिक गरेका थिए ।
गीत सुरु हुनुअघि भनिएको छ– ‘यस श्रब्य/दृश्य सामाग्री समसामयिक घटना र पात्रहरूबाट प्रभावित भइ कथानकरुपमा प्रस्तुत गरिएको छ ।’
अभावले मान्छेलाई के-केसम्म गराउन बाध्य बनाउँछ भन्ने भिडियोमा देखाइएको छ । मोडल बन्ने सपनाले सहर छिरेकी गाउँले युवतीको बाध्यतालाई भिडियोमा उतारिएको छ । भिडियोमा चाँडै चर्चित बन्ने र कमाउने युवतीको महत्वकांक्षा अनिश्चयको गर्तमा भासिएको देखिन्छ ।
छोरीमात्र जन्माएको भन्दै दोस्रो बिहे गरेर बुबाले छाडेपछि परिवारको जिम्मेवारी ‘फुलमाया’को काँधमा आइलाग्छ । उक्त जिम्मेवारी वहन गर्न फुलमाया सहर छिर्छन् । त्यसपछि ‘सकम्बरी’ बन्छन् ।
फूलमाया गरिबीबाट भागेर आफैं केही गर्ने अठोटसहित सहर पसेका हुन्छन् । उनलाई पाइला–पाइलामा पुरुषले दुरुपयोग गर्छन् । सबैसँग सम्झौता गर्दै जान्छन् । आफ्नो जवानीको सौदाबाजी गर्दै सफलताको उकालो चढ्छन् । म्युजिक भिडियो खेल्छन् । नाम र दाम दुवै कमाउछन् ।
म्युजिक भिडियो खेल्ने रहर पालेका उनलाई सुरुमा गाउँकै एक युवकले रेस्टुरेन्टमा वेटरको जागिर दिलाउँछन् । त्यहीबाट विभिन्न पुरुषसँग उनको संगत सुरु हुन्छ । तीमध्ये एक प्रौढ उमेरका धनाढ्य पुरुषसँग निकट भएर फूलमाया ठाँटको जीवन बाँच्न थाल्छन् ।
यही क्रममा उनले कुनै ब्युटी पेजेन्टमा भाग लिन्छन् । त्यसपछि उनलाई म्युजिक भिडियोका लागि अफर आउँछ । भिडियो खेल्न अफर गर्ने निर्देशकलाई ‘मसँग डिनर चाहिँ खानुहुन्न ?’ भन्दै झ्याप्प अँगालो हाल्छन् ।
सपुतले महिलालाई लक्षित गर्ने नियतले भिडियो बनाएको नहुन सक्छ ! अभाव र कमजोरीको फाइदा उठाउनेहरू जताततै रहेको यथार्थलाई उधिन्ने प्रयास हुनसक्छ । शब्द र संगीत पनि लालित्य छ । मीठो भाका र कर्णप्रिय ध्वनि ।
तर, महिलाको अन्तिम विकल्पको रुपमा देह व्यापारलाई बारम्बार देखाइनुले सपुतमाथि प्रश्न उठ्छ । चाहे ‘सुकम्बरी’मा होस् या त ‘पीर’मै किन नहोस् । सुकम्बरीमा पीरबाट सपुतले कुनै पाठ सिक्न सकेको देखिँदैन ।
भिडियोमा पूँजीवादले महिलालाई ‘बिकाउ बस्तु’मा परिणत गरेको देखाइएको छ । महिलालाई उपयोगिताको साधन र पुरुषको इच्छा पूर्तिको साधनका रुपमा चित्रण गरिएको छ ।
नाकमा झुम्का, कानमा बुलाकी, हातमा चुरा, खुट्टामा पाउजु लगाउनु वा स्कुटर चढेर हिँड्नु समाजको लागि प्रश्न र सन्देहको विषय हो ? छोटो समयमै आत्मनर्भिर भएर राम्रो कमाइ गर्दा सन्देहकै विषय हुन्छ । चरित्रमाथि टिकाटिप्पणी हुन थाल्छ । संकुचित समाजको यो स्वभावलाई सपूतको गीतले प्रशय दिएको छ ।
समाजमा ‘समम्बरी’ नभएका होइन, केही छन् । तर, सबैलाई एउटै डालोभित्र हाल्न पनि मिलेन । कतिपय बाध्यताले यौन व्यवसायमा लाग्ने पनि छन् । तर, समाजमा भएका सबैलाई जस्ताको जस्तै देखाउनु पनि त मिल्दैन होला ! कपडाबिनाको हाम्रो शरीर सबैलाई थाहा छ । त्यसो भन्दैमा नाङ्गै हिड्नु त मिल्दैन होला नि !
बाध्यताले अरु पेसा रोज्ने पनि यहाँ छन् । बालुवाटारमा ‘मकै पोल्ने दिदी’ र नदी किनारमा बालुवा चाल्ने भाउजू पनि छन् । उनीहरूबाट प्रभावित भइ कथानक गर्न सकिन्थ्यो । एकपटक बाध्यताले यौनकर्मीको रुपमा देखाइसकेपछि अर्को पेशा रोजेको देखाउन सकिन्थ्यो । फेरि त्यसैलाई रोज्न जरुरी थियो र ?
आर्थिक रुपमा कमजोर महिलासँग पुरुषले सजिलै फाइदा उठाउन सक्छन् भनेर किन मलजल गरिरहेका छन् ? महिलाहरू अपठ्यारोमा पर्नेबित्तिकै शरीर नै बेच्छन् भन्ने भाष्य किन निर्माण गरिँदैछ ? बाध्यतामा अन्तिम विकल्प यौन व्यवसाय नै हो त ?
मानौँ, महिलामा स्वाभिमान र आर्थिक हैसियत नै हुँदैन । अझ सपुतले सकम्बरीलाई ‘साझा रुपमा’ लिन आग्रह गरेका छन् । मोडलिङ क्षेत्रमा लागेका महिलालाई कुन रुपमा साझा रुपमा लिनुपर्ने ? ‘सकम्बरी’ हेरिसकेपछि मोडलिङमा लागेर छोटो समयमा प्रगित गर्नेहरुलाई हर्ने नजरिय कस्तो होला ?
मोडलिङ क्षेत्रमा काम गर्ने महिलाको मिहिनेत, क्षमता र परिश्रमको कमाइको धज्जी उडाइदिएको छ । कुनै मोडललाई आफ्नै कमाइको बलमा राम्रो जीवन बाँच्न सक्छ कि सक्दैन ? के यहाँ पुरुषले नवआगन्तुक कलाकारलाई कुदृष्टि मात्रै हेर्छन् ? महिलालाई यौनको साधनको रुपमा मात्रै लिन्छन् ?
गीतले प्रश्न गरिएको छ– घाँटीनिरै डाम के को होला नि ? रातितिरै काम के को होला नि ? सुरक्षाकर्मी, जनताको सुरक्षा खटिन्छन् । स्वाथ्यकर्मी, रातभर बिरामीको सेवा गर्छन् । सञ्चारकर्मी, सूचना दिन्छन् ।
‘सकम्बरी’ नेपाली साहित्यकै मानक पात्र हो । जसको चेतना सौन्दर्यलाई हुर्मत लिनेगरी आधुनिक सकम्बरी नाम दिएर पात्रको धज्जी उडाएको छ । साहित्य कृतिका स्थापित पात्रको खिल्ली उडाउने गरी बनाएको गीतले कस्तो साहित्य सिर्जना गर्ला ?
मुख्यतः महिलाका कुन मुद्दा कसरी प्रस्तुत गरियो र दर्शकमा के र कस्तो सन्देश सम्प्रेषण हुन्छ वा भयो भन्ने हो । अझैपनि महिला कलाकारप्रति हाम्रो समाजको धारणा सकरात्मक बन्न सकेको छैन । सकम्बरीले उठाएको भाष्यले महिलाप्रति समाजको दृष्टिकोण झनै नकारात्मक हुन सक्छ ।
समाजले महिला कलाकारलाई जे आक्षेप लगाउँछ, तिनै प्रश्न सपुतले आफ्नो गीतमा सोधेका छन् । तर, त्यहाँ उसैबाट सबैभन्दा पहिला आफू यौन दुव्र्यवहारमा परेको युवतीले खोल्छिन् । जसले आर्थिक स्थिति कमजोर भएका महिलाहरू अन्याय सहेर बस्छन् भन्ने भाष्य भिडियोमा देखाइएको छ । यसले अपाराधिक सोच भएका पुरुषलाई हौसला प्रदान गर्न सक्छ ।
‘सकम्बरी’लाई राजनीति गर्न आग्रह गरिएको प्रशंग पनि छ । जसले कलाकारिताबाट राजनीतिमा लाग्ने महिलालाई ‘हर्ट’ गर्न सक्छ । गीत संगीत मनोरञ्जनमा मात्रै नभएर समाजको गाइडलाइन पनि हो । त्यसैले गीत निर्माण गर्दा मसला थप्नेभन्दा पनि संवेदनशीलतामा ध्यान दिन जरुरी छ ।
अन्त्यमा एउटा कुरा । सपुतले महिलाको अन्तिम विकल्प देह व्यापारलाई जति पटक देखाएपनि त्यहीँ हुन्छ भन्ने कदापी सोच्नु हुँदेन । बरू एकपटक आनी छोइङ डोल्मालाई सम्झौँ– फूलको आँखमा फूलै संसार, काडाँको आँखामा काँडैं…।