Logo
Logo

वैचारिक विचलन कम्युनिष्ट आन्दोलनको समस्या


3.9k
Shares

नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस मनाइरहँदा आज त्यसको समीक्षा गर्नु आवश्यक छ । नेपालको हरेक राजनीतिक परिवर्तनमा कम्युनिष्ट पार्टीको निर्णायक भूमिका रहेर पनि सत्तामा पुगेपछि कम्युनिष्ट नेताहरु किन असफल हुन्छन् भन्ने कुरा महत्वपूर्ण हो ।

आजसम्म ६ जना कम्युनिष्ट पार्टीका नेताहरु प्रधानमन्त्री भइसके । त्यसमध्ये मनमोहन अधिकारीबाहेक अन्य कम्युनिष्ट प्रधानमन्त्रीहरुलाई जनताले किन सम्झँदैनन् ? मनमोहन र अन्य कम्युनिष्ट नेताहरुमा के गुण, के अवगुण थिए, त्यसको पनि आत्मसमीक्षा गर्नु आवश्यक छ ।

कम्युनिष्ट भन्नासाथ सादा जीवन, उच्च विचारका धनी भनेर जनताले बुझ्ने गर्छन् । कम्युनिष्ट भन्नासाथ राष्ट्रवादी छवि, निष्कलंक आचरण, सामान्य व्यवहार भएका नेता भनेर चिन्ने गर्छन् । यी सबै गुण मनमोहन अधिकारीमा थियो । त्यसैकारण नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारीको उच्च मूल्यांकन हुने गर्छ ।

तर, दुई तीनपटक प्रधानमन्त्री भएका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति जनताको त्यति सम्मान किन छैन भन्दा नेपाल कम्युनिष्ट आन्दोलनमा यी दुई नेता पात्र र प्रवृत्तिका रुपमा विकसित हुँदैछन् । पदका लागि जस्तोसुकै छलकपट गर्न सक्ने क्षमता यी दुई नेताहरुमा देखिन्छ ।

२०७४ सालको आमनिर्वाचन अगाडि नेपाल कम्युनिष्ट पार्टी बनाउने प्रचार यी दुई पाइलटले राष्ट्रियसभा गृहबाट घोषणा गरेका थिए । त्यो पनि यी दुई नेता आलोपालो प्रधानमन्त्री बन्ने शर्तमा । आखिर त्यो स्वार्थको खेल धेरै दिन टिकेन ।

साँच्चै, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने हो भने पुष्पलालले जुन उद्देश्यका साथ कम्युनिष्ट पार्टी स्थापना गरेका थिए, त्यसको मुलभूत सिद्धान्त, विचार र नीतिलाई अँगाल्न सक्नुपर्छ ।

अहिले फेरि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी मिलेर समाजवादी केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । यो पनि दुई नेताबीचको स्वार्थ हो । प्रतिनिधिसभामा ‘बार्गेनिङ’ गर्न सक्ने अंकगणित पुर्याउनकै लागि माधवकुमार नेपाल र प्रचण्डले यो सहमति गरेका हुन् ।

किनभने, प्रचण्डपछि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने सहमति गठबन्धन दलहरुबीच भएको छ । त्यो सहमति कतैबाट तोडिन्छ कि भन्ने डरले समाजवादी केन्द्रको स्थापना गर्ने प्रयास गरिएको हो । त्यो पनि कम्युनिष्ट आन्दोलनलाई दीर्घकालीनरुपमा बलियो बनाउने सोच होइन ।

साँच्चै, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने हो भने पुष्पलालले जुन उद्देश्यका साथ कम्युनिष्ट पार्टी स्थापना गरेका थिए, त्यसको मुलभूत सिद्धान्त, विचार र नीतिलाई अँगाल्न सक्नुपर्छ ।

जुन उद्देश्यले प्रचण्डले ‘जनयुद्ध’ सुरु गरेका थिए, त्यो उद्देश्य प्राप्तिका लागि प्रचण्ड स्वयंले प्रयत्न गर्नुपर्छ । प्रचण्ड कमजोर हुनुको पछाडि उनले जनयुद्धका एजेण्डा छोड्नु नै हो ।

अहिले कम्युनिष्ट आन्दोलनमा देखिएको सबैभन्दा ठूलो कुरा वैचारिक विचलन नै हो । गत प्रतिनिधिसभा, प्रदेशसभाको निर्वाचनमा आफूलाई माक्र्सवादी, लेनिनवादी भन्ने नेकपा एमालेले राप्रपाजस्तो प्रतिगामी, पुनरुत्थानवादी पार्टीसँग गठबन्धन मात्र गरेन, हरेक जनआन्दोलन दबाउन भूमिका खेल्ने कमल थापाजस्ता प्रतिगामीको पाउमा मदन भण्डारीले चुनाव लडेको ‘सूर्य’ चिह्न चढायो । यो भन्दा वैचारिक विचलन अरु के हुनसक्छ ?

२०७४ सालमा दुईतिहाइ मत ल्याएका तिनै ओलीले दुई–दुईपटक संसद् भंग गरे । यो भन्दा ठूलो अपराध के हुनसक्छ ? तर पनि ओलीलाई पश्चाताप छैन । बरु, गोर्वाचोभले सोभियत संघ ढलेकोमा पश्चाताप गर्दै भनेका थिए– ‘सोभियत संघभित्रभित्रै मक्किसकेको थियो । त्यसलाई सुधार गर्ने प्रयत्न गर्दा सिंगो सोभियत संघ नै विघटन हुन पुग्यो ।’

गोर्वाचोभकै भनाइलाई विश्लेषण गर्ने हो भने दुईतिहाइ सरकार ढल्नुमा अरु कोही नभएर स्वयं ओली जिम्मेवार छन् । प्रचण्डसँग गरेका सहमति तोड्नु उनको गल्ती थियो । तर पनि आफ्नो गल्तीलाई ढाकछोप गर्न उनले प्रचण्डले ‘कामै गर्न दिएन’ भन्दै आरोप लगाए ।

तत्कालीन नेकपाभित्र समस्याको जड आफैँ हुँ भन्ने ओलीले बिर्सिए । आफ्नो कमजोरी ढाक्न अरुमाथि दोष थोपर्दा हुँदाखाँदाको दुईतिहाइ ढल्यो । अहिले पनि संसद्मा जनमत कम्युनिष्ट पार्टीहरुकै छ । सबैले आफ्नो गल्ती कमजोरी सच्याउन सके भने नेकपा असम्भव छैन । जनताको चाहना पनि यही नै हो ।

प्रतिक्रिया दिनुहोस्