लुम्बिनी । भैरहवा भन्सार नजिकैको कोटही माई मन्दिर क्षेत्रबाट अवैधरुपमा नेपाल भित्रिएको २४ वटा आइफोन-१४ प्रो म्याक्सको चर्चा यतिबेला रूपन्देहीमा चुलिएको छ ।
सेतो एफजेट मोटरसाइकलबाट अवैधरुपमा नेपाल भित्र्याइएको ५० लाख मूल्यभन्दा बढिको २४ वटा आइफोन प्रहरीले बरामद गरेको थियो । उक्त फोन अहिलेसम्म भन्सार कार्यालय पठाइएको छैन ।
१०/१५ केजी सामान बरामद गर्दा भन्सार पठाउने प्रहरीले लाखौँ मूल्यको मोबाइल बरामद गर्दा भन्सार नपठाएपछि मोबाइल कहाँ गयो भनेर खोजी हुन थालेको छ ।
घटना चैत २८ गते बेलुकाको हो । कोटहि माई मन्दिर नजिकैको दसगजा क्षेत्रबाट रुकसाद भन्ने क्यारियरले सेतो एफजेट मोटरसाइकलमा २४ वटा आइफोन -१४ प्रो म्याक्स ल्याएका थिए । बेलहिया बसपार्कमा आउँदा नेपाल प्रहरीले पिछा गरेपछि रुकसाद कोटही माई मन्दिरतिरै फर्किएका थिए ।
त्यसपछि त्यहाँ रहेको सशस्त्रको टोलीले उक्त आइफोन समाएको बुझिएको छ । सशस्त्रले मोबाइलसहित मान्छे पक्राउ गरेपनि सोही दिन साँझ छाडेको स्रोतको दाबी छ । स्रोतका अनुसार ४ लाख रकम बुझाएपछि बरामद गरेको मोबाइल र मोटरसाइकलको कुनै पनिको रेकर्ड नराखी छाडिएको छ ।
अहिले नपाली बजारमा आइफोन-१४ फ्रो म्याक्सको मूल्य एक लाख ९८ हजारदेखि ३ लाख ५ हजारसम्म रहेको छ ।
भैरहवा भन्सारको कोटही माई मन्दिरको क्षेत्र विगतमा सुपारी तस्करीको ट्रान्जिट थियो । यतिबेला उक्त क्षेत्रबाट मोबाइल, इलेक्ट्रिक सामानहरू अवैध रुपमा नेपाल भित्रिरहेको छ ।
सशस्त्र प्रहरीको डन्डा विओपि यतिबेला गणमा परिवर्तन भएर डिएसपीको कमान्ड भएतापनि प्रभावकारी काम हुन नसकेको स्थानीय बताउँछन् ।