काठमाडौं । साउथ इन्डियन शैलीमै साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर फिल्म ‘बाटो : रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ । केही दिनअगाडि सार्वजनिक फिल्मको फस्टलुकको चर्चासँगै निर्माण युनिटले शुक्रबार ट्रेलर ल्याएको हो ।
ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रुपमा देखाइएको छ । ट्रेलरमा फिल्मभित्रको कथा भने केही खुलाइएको छैन । काठमाडौं फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित छन् ।
भारतको चेन्नाइमा उत्कृष्ट प्राबिधिक कार्य भइरहेको फिल्म नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै ४ भाषामा तयार गरिएको निर्माणपक्षले जनाएको छ । फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ । फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झा काठमाडौं फिल्मका फाउन्डरसमेत हुन् ।
काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको रिलिज मिति भने सार्वजनिक गरिएको छैन । केही दिनपछि रिलिज मिति खुलाइने निर्माता चन्दन झाले बताए । फिल्म डब्बी एटमस साउन्डमा तयार हुनेछ । डब्बी एटमस साउन्ड सिष्टममा नेपालमा पहिलोपटक फिल्म तयार हुन लागेको हो ।