Logo
Logo

अख्तियारको पत्रले प्रहरीमा हंगामा


53.6k
Shares

काठमाडौं । नेपाल प्रहरी अस्पतालमा चार करोड कमिसनको सेटिङ धरापमा परेको छ । महंगोमा एमआरआई खरिद गरी ठूलो रकम कमिसन खाने योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धक्का दिएको छ ।

आयोगले हालै पत्र लेखेर ठेक्कासम्बन्धि सबै कागजात मागेको छ । अख्तियारको प्रारम्भिक छानबिनमै बदनियत देखिएपछि ठेक्का रद्द हुने सम्भावना देखिएको छ ।

प्रहरी अस्पतालले करिब २८ करोड लागतमा एमआरई खरिद प्रक्रिया अघि बढाएको थियो । भएको एमआरआई मर्मत नगरी नयाँ खरिद गर्न लागिएकोमै प्रश्न उठेको थियो । कमिसनकै लागि एमआरआई खरिद गर्न लागिएको अहिले पुष्टि भएको छ ।

चिनियाँ कम्पनी सिमेन्सलाई मिल्ने गरी स्पेशिफिकेसन बनाएर टेन्डर प्रक्रिया अघि बढाइएको थियो । त्यसका लागि सिमेन्सका नेपाल प्रतिनिधि इष्ट वेष्ट कन्सर्नका सञ्चालक शेरसिंह श्रेष्ठले सेटिङ मिलाएका थिए । त्यसमा अस्पताल प्रमुख एआइजी डा.आशा सिंह विवादमा मुछिएकी थिइन् । अख्तियारले पत्र लेखेपछि उनको सेटिङ भत्कने सम्भावना बढेको छ । तर, अख्तियारलाई पनि मिलाउने भन्दै व्यापारी श्रेष्ठ दौडधुपमा लागेका छन् ।

अस्पतालमा सी–आर्म खरिदमा भने अनियमितता पुष्टि हुँदा पनि छानबिन भएको छैन । एफपिडी प्रविधिको ‘सी–आर्म’ आइसकेकोमा अस्पताल प्रशासनले सिसिडी प्रविधिको सि–आर्म उच्च मुल्यमा खरिद गरेको छ । जिई कम्पनीबाट उत्पादित सि–आर्मलाई मिल्ने गरी ‘लक स्पेशिफिकेन’ बनाएर खरिदमा अनियमितता भएको हो । स्पेशिफिकेसनका बुँदामा सो कम्पनीलाई मात्र मिल्ने सर्त राखिएको प्रष्ट हुँदा पनि छानबिन हुन सकेको छैन ।

एआइजी सिंहका साथै प्रहरी अस्पतालका इन्सपेक्टर सुरेन्द्र केसीले खरिदमा लामो समयदेखि अनियमितता गर्दै आएका छन् । इन्सपेक्टर केसी रक्षामन्त्री पूर्णबहादुर खड्काका भान्जा हुन् । खड्काकै आडमा उनी सधैं आकर्षक प्रहरी कार्यालयमा बसेर अुकत सम्पत्ति आर्जन गरिसकेका छन् । सोही कारण उनले हाकिमहरुलाई समेत टेर्ने गरेका छैनन् । प्रहरी अस्पतालमा पनि हरेक जसो ठेक्कामा उनको सेटिङ चल्ने गरेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्