Logo
Logo

हुलाकी सडकको सुस्त गति : ३३ महिनामा ४ किमी कालोपत्रे


- दृष्टि न्युज/संवाददाता

0
Shares

भीमदत्तनगर, ५ मंसिर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने निमार्णाधीन हुलाकी सडकको काम गति कति सुस्त भन्ने कुरा यहीबाट थाहा हुन्छ, जबकि तीस महिनाभित्र निर्माण सक्ने गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण व्यवसायीलाई जिम्मा दिइएपनि हालसम्म डोकेबजार–बेलौरी खण्डमा जम्मा चार किलोमिटर सडकमात्रै कालोपत्र गरिएको छ ।
‘सडक निर्माणको ३३ महिना पूरा भयो’, हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इञ्जिनीयर पदमबहादुर मडैले रासससित भने, ‘अहिले तीनवटै प्याकेजमा करीब ६० प्रतिशत काम सकिएको छ ।’ तीन वटा प्याकेजमा ठेक्का गरिएको सडकको पहिलो र दोस्रो खण्डको समयावधि गत भदौमा सकिएपछि आठ महिना म्याद थपिएको उनले बताए । डोकेबजारदेखि बलौरीसम्मको २० किलोमिटर र बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा–राजेन्द्र जेभीले पाएको थियो । ‘यी दुई प्याकेजमा ६० प्रतिशत काम सकिएको छ’, इञ्जिनीयर मडैले भने, ‘अन्तिम प्याकेज (बेल्डाँडीदेखि दैजीसम्म) को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले रुख कटान प्रक्रिया नै एक वर्षपछि थालिएको थियो ।’
त्यसैगरी बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धीसाई जेभीले पाएको भएपनि निर्माण भने अहिलेसम्म ५५ प्रतिशत मात्रै हुन सकेको छ । ‘पहिलो प्याकेजमा चार किलोमिटर सडक बनेर छेउछाउमा नालीलगायतका अन्य संरचना बन्दैछन्’, मडैले भने, ‘काम द्रुत गतिमा भएकाले पहिलो र अन्तिम प्याकेज आगामी चैतमा सम्पन्न हुनेमा आशावादी छौँ ।’
रु एक अर्ब नौ करोडभन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले भने सास्ती खेप्नुपरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्