काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूको महत्वाकांक्षाका कारण देशको एक मात्र गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभाग अस्तव्यस्त हुन थालेको छ । हालका प्रमुख हुतराज थापाले संगठनलाई झन् गिराएको विभागका अधिकारीहरू बताउँछन् ।
थापालाई एआइजी र डिआइजीले नै नटेर्ने गरेको स्रोत बताउँछ । जसकारण विभागभित्र चेन अफ कमान्ड ध्वस्त हुन पुगेको छ । विभागका दुई डिआइजीहरू हाल दरबन्दी थप्नका लागि दौडधुपमा छन् । सुमन बैद्य र मधु कार्कीले आगामी जेठमा अवकाश पाउने भएकाले उनीहरु एआइजीको दरबन्दी थपेर बढुवा हुने खेलमा छन् ।
एआइजीको दरबन्दी थपेर बढुवा हुन सके जागिर लम्बिने र पछि प्रमुख समेत बन्ने सम्भावना भएकाले उनीहरु दौडधुपमा लागेका हुन् । वैद्यले कांग्रेस नेता प्रकाशमान सिंहमार्फत चलखेल गरिरहेको स्रोत बताउँछ ।
विभागमा पहिलेदेखि नै एआइजीको दरबन्दी थपघट हुँदै आएको छ । ओली सरकारले एक मात्र दरबन्दी राखेकोमा गत वर्ष दुई बनाइएको थियो । देश आर्थिक संकटमा रहेका बेला फेरि व्यक्तिका लागि दरबन्दी थप्ने खेल भइरहेको छ ।
त्यस्तै, रिक्त रहेका डिआइजीका दुई पदमा गत साता किशोर श्रेष्ठ र संजय यादब बढुवा भएका छन् । बढुवाको प्रतिस्पर्धामा इन्द्रसिंह लामा र माधव तिमल्सिना पनि थिए । उनीहरु अब आगामी असारमा बढुवा हुने भएका छन् ।
उता उपनिर्वाचनको विषयमा गुप्तचरको रिपोर्टले हावा खाएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार तनहुँ कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार मतले जित्ने गुप्तचरको रिपोर्ट थियो । जुन हावादारी भएपछि प्रधानमन्त्रीले पनि गुप्तचर प्रमुख थापालाई विश्वास गर्न छाडेका छन् । सुराकीको पैसा खल्तीमा हालेर गुप्तचर प्रमुखले हावादारी विश्लेषण बुझाउने गरेको चर्चा प्रधानमन्त्री कार्यालयमा छ ।