मोरङ । आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सोमबार प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-४ बस्ने ५५ वर्षीय प्रगती भन्ने गति पोखरेल र सोही महानगरपालिका-४ बस्ने ३६ वर्षीया सविना पोखरेल रहेका छन् ।
विराटनगर महानगरपालिका-३ बस्ने गोविन्द प्रसाद नेपालले वैशाख १४ गते बिहान सोही महानगरपालिका-४ तित्रिगाछी भन्ने स्थानमा आफ्नै शरीरमा प्रज्वलनशिल पदार्थ (पेट्रोल) खन्याई आगो लगाई आत्महत्याको प्रयास गरेका थिए ।
उनको तत्काल उद्धार गरी उपचारको लागि विराटनगरस्थित रेडप्लस अस्पताल लगिए पनि उपचारको क्रममा भोलीपल्ट (वैशाख १५ गते) मृत्यु भएको थियो ।
उक्त घटना सम्बन्धमा परिवारका सदस्यले आत्महत्या गर्न दुरूत्साहन गरेको भन्दै उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा दिएको जाहेरीको आधारमा गति पोखरेललाई उनकै घरबाट र सविना पोखरेललाई झापा कमल गाउँपालिका-४ बाट पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत मोरङबाट आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान कार्य भइरहेको छ ।