Logo
Logo

‘कानुनमै भ्रष्टाचार गर्ने छिद्र राखिएको छ’


परशुराम मेघी गुरुङ, तत्कालीन सभापति, विधायन व्यवस्थापन समिति

2k
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउन कानुन संशोधन गर्नुपर्ने विषय वर्षौदेखि उठ्दै आएको छ । अख्तियारले वार्षिक प्रतिवेदनमा वर्षैँपिच्छे कानुन संशोधनको सुझाव दिँदै आएको छ । विशेषगरी, वित्तीय, शिक्षण अस्पताल, शैक्षिक लगायत पब्लिक कम्पनीहरूमा हुन भ्रष्टाचारको विषयमा अख्तियारलाई छानबिन गर्न दिने विषय समेटिएर विधेयक आएपछि निजी क्षेत्र आत्तिएको छ । धितो मूल्यांकन र ऋण प्रवाहमा मनोमानी गरेर भ्रष्टाचार हुने गरेका गुनासो पनि धेरै आउने गरेका छन् । नयाँ विधेयकको व्यवस्थाले भ्रष्टाचार नियन्त्रणमा आउने विश्वास गरिएको छ ।

राज्यकोष परिचालन गरेका संस्था वा राज्यले दायित्व वा जिम्मेवारी लिएका संस्थालाई अख्तियारको छानबिनको दायरामा ल्याउन खोजिएको छ । पब्लिक कम्पनीका अधिकारीहरू पनि कसुरअनुसारको सजायको व्यवस्था गरिएको छ । विधेयकमा बैंक, मेडिकल कलेज र सोसँग सम्बन्धित अस्पताल वा यस्तै प्रकृतिका अन्य कुनै संगठित संस्थाको भ्रष्टाचारबारे अख्तियारले अनुसन्धान गरेर मुद्दा चलाउने प्रावधान राखिएको छ ।

भ्रष्टाचार निवारण ऐन–२०५९ अनुसार हाल सरकारले लगानी गरेको संस्थाभित्रका निकाय, पदाधिकारी र कर्मचारीविरुद्ध मात्र अनुसन्धान र अभियोजन गर्ने क्षेत्राधिकार छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धिले निजी क्षेत्रमा हुने अनियमिततालाई पनि ‘भ्रष्टाचार’को परिभाषित गरेको छ । पदीय हैसियतको दुरुपयोग गर्नेलाई पनि कारबाहीको प्रावधान राखिएको छ । खास अवधिभित्र कुनै निर्णय गरिसक्नुपर्नेमा मनासिब कारण भएको अवस्थामा बाहेक लाभ–हानी हुने गरी बदनियतपूर्वक निर्णय गरेमा कारबाही गर्ने प्रस्ताव गरिएको छ ।

तर, अख्तियारको क्षेत्राधिकार खुम्च्याउन विभिन्न चलखेल भइरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि सांसद, मन्त्रीसँगलाई निजी क्षेत्रले दबाब दिइरहेको अवस्था छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा प्रस्तुत भएको विधेयकप्रति आम चासो देखिएको छ । विशेषगरी, निजी क्षेत्रले विधेयकप्रति आपत्ति जनाएपछि थप चासो चुलिएको हो ।

विधेयकप्रति निजी क्षेत्र किन आत्तियो ? के सबै निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउन लागिएको हो ? कुन–कुन अवस्थामा अख्तियारको क्षेत्राधिकार बढाइएको हो ? यी र यस्ता विषयमा विधेयक तयार पार्न मुख्य भूमिका खेलेका विधायन व्यवस्थापन समितिका तत्कालीन सभापति परशुराम मेघी गुरुङसँग दृष्टिले गरेको अन्तर्वार्ता ।

भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७’ धेरै विवादित बन्यो, कसरी तयार पार्नुभयो यो विधेयक ?
भ्रष्टाचार विरुद्धको महासन्धीको नेपाल पक्षराष्ट्र हो । महासन्धीले निजी क्षेत्रको भ्रष्टाचारलाई पनि राज्यले हेर्नुपर्छ भनेको छ । पक्षराष्ट्र भइसकेपछि निजी क्षेत्रलाई पनि भ्रष्टाचारको दायरभित्र ल्याउनुपर्छ । अर्कोतर्फ, विधेयकमा निजी क्षेत्र भनेर सबै निजी क्षेत्रलाई अख्तियारको दायराभित्र ल्याउन खोजिएको छैन । राज्यकोषको लागनी भएको क्षेत्रलाई राज्यले निर्णय गरेर भ्रष्टाचार भएको बारेमा छानबिन गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको छ ।

यसमा सबैभन्दा बुझ्नैपर्ने कुरा के छ भने, नेपालको संविधानले भ्रष्टाचार विरुद्धको मुद्दा दायर गर्ने अधिकार अख्तियारलाई मात्रै छ । त्यो भन्दा बाहेक अरु संघ संस्थाहरूको नियमनकारी निकायहरू छन् । तर, ती निकायहरूले रकम हिनामिना, दुरुपयोग आदि इत्यादि भनेर छानबिन गर्न सक्छन । तर, भ्रष्टाचार भनेर कारबाहीको दायरामा उनीहरूले ल्याउन सक्दैनन् ।

भ्रष्टाचार त राज्यविरुद्धको अपराध हो । भ्रष्टाचारी ठहर भएपछि विभिन्न अवसरबाट बञ्चित हुनुपर्ने हुन्छ । त्यसकारण पनि निजी क्षेत्रलाई अख्तियारको दायराभित्र ल्याउनुपर्छ भन्ने समितिको साझा धारणा हो । यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा प्रस्तुत भइसकेको छ ।

निजी क्षेत्रले विधेयकमाथि धेरै नै आपत्ति जनायो किन ?
निजी क्षेत्रले आपत्ति जनाउनुपर्ने कुनै जरुरी नै छैन । अब एउटा खरदारले १ सय रुपैयाँ भ्रष्टाचार गर्यो भने, उसलाई भ्रष्टाचारसम्बन्धि मुद्दा लाग्छ । तर, सार्वजनिक सरोकार राख्ने बैंक, सहकारी, शिक्षण संस्था, अस्पताल लगायतका संस्थामा करोडौँको दुरुपयोग भयो भने पनि भ्रष्टाचारको मुद्दा लगाउन सक्ने अवस्था छैन । त्यसकारण नियमणकारी संस्थाले कारबाही गर्छ भन्ने कुरा त ठिक छ, छानबिन गर्छ पनि । तर, भ्रष्टाचार भनेर मुद्दा गर्न त अख्तियारले मात्रै सक्छ । अरु निकायलाई त त्यो अधिकार नै छैन । वित्तीय संस्था जनता, शिक्षिण संस्था, मेडिकल कलेज व्यापक जनसरोकारको विषय हो । त्यहाँ भएका भ्रष्टाचारको छानबिन गरेर कारबाही नहुनुको कारण कानुन अभावकै कारण हो ।

सबै निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउनुपर्छ भन्ने होइन ?
अहिलेको विधेयकमा सबैलाई छानबिन गर्नुपर्छ भनिएको छैन । जहाँ राज्यकोषको प्रयोग भएको छ, त्यहाँ दुरुपयोग भयो भने मात्र अख्तियारले छानबिन गर्ने कुरा हो । अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट राज्यलाई जिम्मा राखेर ऋण लिएको अवस्था पनि छ । त्यस्ता ठाउँहरूमा भ्रष्टाचार भयो भने, त्यो त सार्वजनिक विषय भयो । त्यसमा त छानबिन गरेको हुनुपर्छ । केही बदमासी देखियो भने राज्यले नै निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेर पारदर्शी ढंगले गर्नुपर्छ भन्ने कुरा हो । जहाँ राज्यकोषको रकम प्रयोग भएको छ, राज्यले जिम्मेवारी, दायित्व लिएको छ । ती क्षेत्रमा छानबिन हुनुपर्छ भन्ने हो । समितिमा विभिन्न कोणबाट व्यापक छलफल भएर मस्यौदा पारित भएको हो ।

गैरसरकारी संस्था पनि अख्तियारको छानबिनको दायरामा आउने भए होइन ?
राज्यले जिम्मेवारी लिएर रकम परिचालन भएको छ भने त्यस्ता गैरसरकारी संस्था अख्तियारको छानबिनको तयारमा पर्न पर्छन । त्यो पनि राज्यले निर्णय गरेर मात्रै छानबिन हुन्छ ।

निजी क्षेत्र विरोधमा आउनुपर्ने कारण चाहिँ के त ?
निजी क्षेत्र विरोधमा आउनुपर्ने कारण नै छैन । निजी क्षेत्रले राज्य कोषभन्दा बाहिर रहेर काम गर्छन भने त्यसमा अख्तियारले छानबिन गर्ने कुरै छैन । जहाँ राज्यको दायित्व र जिम्मेवारी छ, राज्य कोषबाट रकम प्रयोग भएको छ । ती क्षेत्र छानबिनको दायरामा आउने हुन् । जस्तो, विकास निर्माणमा उपभोक्ता समितिमार्फत राज्यको पैसा खर्च भएको हुन सक्छ । अथवा, कुनै संघसंस्थाहरूले राज्य कोषको रकम खर्च गरेका हुन सक्छन । त्यो त सार्वजनिक विषय हो नि । हो, त्यसमा अख्तियारले छानबिन गर्ने गरी विधेयक आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियारको क्षेत्राधिकार बढाउने विषय संशोधन गर्न तयार छु भन्ने प्रतिवद्धता जनाइसकेको अवस्था छ । यसलाई कसरी लिने ?
प्रधानमन्त्रीले कसरी लिने भन्ने उहाँकै कुरा भयो । तर, हामी सबै जिम्मेवार नागरिकको कुरा के हो भने, सार्वजनिक सरोकार राख्ने, सार्वजनिक सम्पत्तिको हिनामिना र दुरुपयोग गर्ने कुरा भ्रष्टाचार नै हो । प्रधानमन्त्रीको बुझाइ के हो, त्यो अनुसारको कुरा होला । तर, सबै निजी क्षेत्रलाई भ्रष्टाचार छानबिन गर्नुपर्छ भन्ने पनि होइन ।

जो सुकै सरकारमा आएपनि भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलताको नीति भन्ने गर्छन । तर, व्यवहारमा भ्रष्टाचार अन्त्य गराउन कोही पनि चाहँदैनन् किन ?
कानुन बनाउने बेला भ्रष्टाचार गर्ने छिद्र राखेपछि के को भ्रष्टाचार नियन्त्रण हुन्छ ? संविधानलाई हेर्नुस त एकपटक । भ्रष्टाचारजन्य मुद्दा कसले हेर्छ ? भ्रष्टाचारविरुद्ध कसले मुद्दा दायर गर्न पाउँछ ? कुनै नियमनकारी निकायले पैसा दुरुपयोग भयो, हिनामिना भयो, ठग्यो भन्न सक्ला । तर, अख्तियारबाहेक अन्य निकायले भ्रष्टाचार ग¥यो भन्न पाउँदैन । हिनामिना भयो, दुरुपयोग भयो भन्नु र भ्रष्टाचार भन्नु फरक कुरा हो । सबैभन्दा पहिला यो कुरा बुझ्न जरुरी छ ।

भ्रष्टाचारकै कारण मुलुक जर्जर भएको छ । तर, भ्रष्टाचार छानबिनको दायरा फराकिलो बनाउने प्रयासमै किन अंकुस लगाउन खोजिन्छ ?
भ्रष्टाचारी ठहर भएपछि निर्वाचनमा उम्मेदवार बन्नदेखि राज्यका निकायमा प्रतिनिधित्व गर्न पाउँदैन । कसुर अनुसारको सजाय पनि भोग्नुपर्छ । त्यही कारण अहिले विरोध भएको हुनुपर्छ ।

कानुन जतिसुकै राम्रो बनेपनि कार्यान्वयनमा समस्या रहन्छ भनिन्छ, कार्यान्वयन पक्ष प्रभावकारी बनाउन कसले कस्तो भूमिका खेल्नुपर्छ ?
सबैभन्दा पहिला कानुन नै कार्यान्वयन हुने खालको बनाउनुपर्छ । कानुनले नै मानिसलाई भाग्न दिने छिद्र दिएपछि कसरी कारबाही हुन्छ त ? त्यस्तो कानुन कसरी प्रभावकारी कार्यान्वयन हुन्छ ?

सानालाई ऐन ठूलालाई चैन भन्ने त नेपाली उखान नै छ, भ्रष्टाचारीलाई कारबाहीको सन्दर्भमा पनि यो उखान लागू हुन्छ होइन ?
अहिलेको अवस्था त त्यस्तै देखिन्छ । एउटा सामान्य खरदारलाई कारबाही भएको समाचार आइरहन्छ । तर, अर्बौँ भ्रष्टाचार गरेकाहरू त कारबाहीमा परेका समाचार कमै सुनिन्छन् । फेरि थोरै भ्रष्टाचार गर्नेलाई छुट दिनुपर्छ भन्ने मेरो कुरा होइन । साना–ठूला जो सुकै भएपनि राज्यकोषको दुरुपयोग गर्ने सबै कारबाहीको दायरामा आउनुपर्छ ।

विगतका भ्रष्टाचारका फाइल खोल्न के ले रोकेको छ ?
यो त राज्य फितलो भएर हो । राज्य बलियो भयो भने भ्रष्टाचारका सबै फाइल खुल्ने वातावरण बन्छ । भ्रष्टाचार भन्ने कुरा नै यस्तो हो, जुन कुरालाई नियन्त्रण गर्न राज्य बलियो हुनुपर्छ । राज्य कमजोर भएपछि भ्रष्टाचारीलाई कारबाही हुन सक्दैन ।

राज्यका माथिल्ला तहमा रहेका अधिकारी नै भ्रष्टाचारमा डुबेका छन्, त्यसकारण भ्रष्टाचारीलाई कारबाही हुन सकेको छैन भनिन्छ नि ?
सोलोडोलो त्यसरी भन्न त मिल्छ कि मिल्दैन । तर, कुरा के हो भने, राज्यको औजार भनेको ऐन हो । त्यसकारण लाग्ने खालको औजार हामीले तयारी अवस्थामा राख्नुपर्छ । ऐन कार्यान्वयन हुने खालको भयो भने कोही पनि उम्कन पाउँदैनन् ।

नयाँ विधेयकअनुसार मन्त्रिपरिषदको निर्णय अख्तियारले हेर्न पाउँदैन कि पाउँदैन ?
सार्वजनिक खरिद–विक्रीसँग सम्बन्धित कुरा नीतिगत निर्णय हुन सक्दैन भन्ने प्रावधान विधेयकमा राखिएको छ । त्यो सार्वजनिक खरिद–विक्रीसँग सम्बन्धित कुरा हो । नीतिगत निर्णय भनेर कोही पनि उम्किन नपाओस् भन्ने उद्देश्यले नै यो प्रावधान राखिएको हो । त्यो कुरालाई पनि हटाउन खोजिरहेका छन् । तर, यो विषय बाहिर आएको छैन । विभागले गर्दा पनि हुने, मन्त्रीस्तरमा गर्दा पनि हुने निर्णय अख्तियारको डरले मन्त्रिपरिषदमा लगेर निर्णय हुँदै आएको छ । नीतिगत निर्णय के हो, के होइन भन्ने कुरालाई पनि विधेयकले स्पष्ट पारेको छ ।

प्रतिनिधि सभाले संशोधन गर्ने ठाउँ त छ नि होइन ?
प्रतिनिधि सभालाई कुनै पनि विधेयक संशोधन गर्ने अधिकार त छ । प्रतिनिधि सभाले संशोधन गरेको कुरा भोलि राष्ट्रिय सभाले मान्यो भने अगाडि बढ्ने नै भयो । यदि, प्रतिनिधि सभाले संशोधन गरेको विषय राष्ट्रिय सभाले स्वीकार गरेन भने, त्यो विधेयक राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा जानुपर्ने अवस्था आउन सक्छ ।

भ्रष्टाचार नियन्त्रणमा हाम्रो सामाजिक मनोविज्ञानले कतिको प्रभाव पारेको छ ?
यसमा सामाजिक मनोविज्ञानले ठूलो प्रभाव पार्छ । समाजको मनोविज्ञान भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्नेमै छ । नीति निर्माताहरूले समाजको मनोविज्ञानलाई सम्बोधन गर्ने गरी कानुन बनाउनुपर्छ र कडाइका साथ लागू गर्नुपर्छ । सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने कुरालाई भ्रष्टाचारको दायरामा ल्याउनुपर्छ ।

अहिलेको विधेयकले भ्रष्टाचार निवारणमा ठूलो सहयोग पुर्याउँछ होइन त ?
सार्वजनिक क्षेत्र पनि भ्रष्टाचारमा तानिने भयो भनेपछि धेरै सचेत हुने अवस्था बन्छ । राज्यकोणको रकम दुरुपयोग हुने सम्भावना कम रहन्छ । यदि, दुरुपयोग भयो भने अख्तियारले छानबिन गरेर मुद्दा दर्ता गर्ने वातावरण बन्छ । जहाँ राज्यको सम्पत्ति जोडिएको हुन्छ, त्यो क्षेत्रसम्म अख्तियारको दायरा बढाउन खोजिएको हो । त्यो पनि सिधै अख्तियारले छानबिन गर्ने भन्ने छैन । राज्यले निर्णय गरेर सार्वजनिक सूचना प्रकाशित गरेर छानबिनको दायरामा ल्याउने कुरा गरिएको छ । यो कुरा नबुझी बैंकरहरु विधेयकको विरोधमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्