Logo
Logo

नेपाल नेपालीले नै बनाउने हो, अरुले होइन : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता

63
Shares

धुलिखेल, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको छोटो समयभित्रै नेपाललाई आधुनिक, विकसित र सम्पन्न राष्ट्र बनाइने बताएका छन् ।
काठमाडौँ विश्वविद्यालय (केयू)का कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबार धुलिखेलमा केयूको २५औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अरुले बनाइदिने नभई नेपालीले नै नेपाल बनाउने स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले देशको भविष्य उज्ज्वल रहेको बताउँदै भने, ‘हामीसँग सफल वर्तमान छ, भविष्य उज्यालो छ । अब ढुक्क भएर अगाडि बढ्न सक्ने क्षमता छ ।’ नेपाल उर्वर देश भएकाले सबैखाले उत्पादन गर्न सक्ने क्षमता रहेको उनले स्पष्ट गरे । ‘हामी केही कारणले आर्थिक रुपमा पछाडि प¥यौँ तर अब सधैँ पछाडि पर्दैनौँ, हिजो पछाडि पर्नका लागि अनेकौँ कारणमध्ये शिक्षाको अभाव एउटा थियो’, उनले भने ।
प्रधानमन्त्री ओलीले सरकार गुणस्तरीय शिक्षा प्रदान गर्ने बाटामा जाँदै गरेको बताउँदै केयूमा आज दीक्षितमध्ये ५४ प्रतिशत छात्रा रहेकामा खुशी व्यक्त गरे । नेपालमा उत्पादित चिकित्सा जनशक्ति ‘ग्लोबल लेभेल’ को रहेको समेत उनले बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘यस्तो आकर्षणले बालिकाहरु विद्यालयबाट ड्रपआउट हुने ठूलो चिन्ता हट्दै जानेछ, जनशक्ति उत्पादनमा छात्राको सङ्ख्या बढ्नु पनि ठूलो खुशीको कुरा हो, हामी खुशी छौँ, देश खुशी छ ।’ उनले नयाँ पुस्तालाई उत्साह र आत्मविश्वासका साथ अगाडि बढ्न पनि आह्वान गरे ।
सो अवसरमा भारतको जयपुरस्थित मणिपाल विश्वविद्यालय प्रमुख डा के रामनारायणले केयूसँगको सहकार्यमा मेडिकल क्षेत्रमा उल्लेख्य प्रगति भइरहेको बताए । केयूका उपकुलपति प्राडा रामकण्ठ माकजू श्रेष्ठले शिक्षा प्रणालीलाई कसरी सान्दर्भिक, सीपमूलक र उच्च गुणस्तरको बनाउने भन्ने विषयमा जोड दिनुपर्ने बताए । ‘हाम्रो मुलुकमा चुनौती र अवसर थुप्रै छन्, शिक्षाले यी चुनौती र अवसरप्रति गहन दृष्टिकोण प्रदान गर्न सक्नुपर्छ’ उनले भने ।
कार्यक्रममा एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अंक ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो । केयूका चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ दीक्षित भएका हुन् ।
दीक्षित हुनेमा एमसिएच, डिएम, एमडी, एमएस, एमएस्सी, र एमडीएसका एक हजार ९८, बिडिएसका २१८, बिएस्सी इन नर्सिङका ११६ र बिपिटीका २४ विद्यार्थी छन् । भारत, भुटान, श्रीलंका, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत आज दीक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्