Logo
Logo

ओलीको दबाबपछि प्रहरी ब्याक !


50.6k
Shares


काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी भएको घटनामा उच्चपदस्थलाई जोगाउन चलखेल सुरु भएको छ । यसमा संलग्न हाइप्रोफाइललाई जोगाउन दबाब आएको प्रहरीले जनाएको छ ।


बिहीबार प्रहरी टोली एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न गएकोमा दबाबपछि फर्किएको छ । लगत्तै रायमाझी फरार भएका छन् । उनलाई मुद्दा नै नचलाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिएका छन् । जसकारण अहिले अनुसन्धान प्रभावित भएको छ । एमाले उपाध्यक्ष बादल समेत तानिन सक्ने भएपछि यसरी सोही विषयमा कुरा गर्न बिहीबार ओली आफैं प्रचण्डलाई भेट्न गएका थिए ।


ओलीको आश्वासनपछि रायमाझी प्रहरीमा उपस्थित नभई फरार भएका छन् । बुधबार उनले आफुले प्रहरीलाई सघाउने बताएका थिए । स्रोतका अनुसार ओलीले केही दिन भूमिगत हुन सुझाव दिएका थिए । सोही आधारमा रायमाझी भागेका हुन् । उनी बिहीबार प्रहरीमा आफैं उपस्थित हुने बताएका थिए ।


यो प्रकरणमा अन्य हाइप्रोफाइलहरुको पनि संलग्नता खुलिसकेको छ । पैसा उठाउने बिचौलियाहरू केशब दुलाल, सानु भन्डारी र सन्देष शर्माले पीडितसँग उठाएको पैसा धेरै उच्चपदस्थलाई बुझाएको स्रोत बताउँछ । प्रहरी अनुसन्धानमा त्यसको प्रमाण भेटिसकेको छ । तर, हाइप्रोफाइल जोगाउन ठूला नेता नै लागेपछि प्रहरी अन्योलमा परेको छ ।


प्रहरीले तत्कालिन गृहसचिव टेकनारायण पान्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, टोपबहादुरका छोरा सन्दीप लगायतलाई पक्राउ गरिसकेको छ । उनीहरु पक्राउ परेलगत्तै सो गिरोहबाट पैसा लिने अन्य प्रशासक र नेताहरुको छटपटी सुरु भएको छ । उनीहरुले पनि अनुसन्धान प्रभावित पार्ने प्रयास गरिरहेका छन् ।


प्रहरीले संगठित अपराध ऐनअनुसार उनीहरुमाथि छानबिन गरिरहेको छ । जसमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । तर, छिटो मुद्दा बुझाउन समेत दबाब आउन थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारी बताउँछन् ।
हालसम्म प्रहरीले आठ जनालाई पक्राउ गरेको छ भने थप पाँच जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । काठमाडौंका एसएसपी दानबहादुर काकीले अझै १०–११ जना पक्राउ गर्ने बताएका छन् तर टोपबहादुर लगायतलाई पक्राउ गर्न भने चासो दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्