काठमाडौं । स्वास्थ्य सचिव डा.रोशन पोखरेलका कारण मन्त्रालयमा बेथिति बढेको छ । मन्त्रालय अन्र्तगतका हरेक ठूला ठेक्कामा सचिव पोखरेल आफैँ सक्रिय हुन थालेका छन् ।
आफूअनुकुल ठेक्का नभए उनले रद्द गराइदिने गरेका छन् । उनकै स्वार्थका कारण हालै गेटा अस्पतालले मेसिन, उपकरण तथा औजारलगायत सामग्री खरिदका लागि गराएको १३ करोड रूपैयाँभन्दा बढीको टेण्डर रद्द गरिएको छ ।
गेटामा यो आर्थिक वर्षमा २ सय शै¥याको अस्पताल सञ्चालन टेण्डर अघि बढेको थियो । अस्पतालले करिब १३ करोड ७१ लाख १२ हजार मूल्य बराबर सामग्री किन्न टेण्डर आह्वान गरेकोमा सचिव पोखरेल निकट कम्पनीले नपाउने भएपछि रद्द गराइएको स्रोत बताउँछ । पछिल्लो समय स्वास्थ्य सामग्री खरिदमा स्वास्थ्यसचिव पोखरेलले लगातार हस्तक्षेप गर्दै आएका छन् ।
भरतपुर अस्पतालको एमआरइ खरिदमा उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । २४ करोडको एमआरआई २९ करोड रूपैयाँमा खरिद गर्ने सेटिङ अन्तिम चरणमा पुगेको छ । बजेट कटौतीको कारण देखाउँदै टेण्डर रद्द भएको हो । जबकि, स्रोत सुनिश्चित भएपछि मात्र टेण्डर प्रक्रिया अघि बढ्छ ।
अस्पतालले २०७९ चैत १९ मा मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको थियो । प्रिबिड मिटिङका लागि २०८० वैशाख ८ लाई तोकेको थियो । स्वास्थ्य सचिव डा. पोखरेलको मौखिक निर्देशनपछि प्रि–बिड मिटिङको अघिल्लो दिन नै अस्पतालले टेण्डर रद्द गर्ने निर्णय गरेको हो । यससँगै गेटा समयमा सञ्चालन हुनेमा समेत प्रश्न उठेको छ ।
टेण्डरका लागि सप्लायर्स कम्पनीले प्रस्ताव पेश गर्नुपर्ने अन्तिम मिति २०८० वैशाख १९ तोकेको थियो । सोही दिन दिउँसो २ बजेलाई टेण्डर खुल्ने समय राखिएको थियो । सचिव पोखरेल केही मेडिकल माफियाको स्वार्थमा चलेको मन्त्रालयका कर्मचारी बताउँछन् ।