मान्छे जब दास बन्छ
दुई टुक्रा रोटीको आस हुन्छ
गन्हाएको सासमा
न बोलीको हेका,
न शब्दको, न संवादको,
न सामाजिक मर्यादाको
यस्तै यस्तै पालिएका दासहरू
राजनीतिको फेरोभित्र
राजनीतिको भट्टाबाट निस्केर
चुनावी गङ्गा स्नान गरेका
साँढे सरह चरिरहेका दासहरूलाई
जति नोलले हिर्काए पनि
लुटेर खान छोड्दैनन्
लुट्ने धर्म हो, लुट्ने कर्म हो
पर शासित हुन पाउँदा
दासहरू इज्जत बढेको ठान्छन्
मसिहा बनेको नाटक गरेर
फोहोरको आहालमा रमाएका च्वाँचे सरह
भ्रष्टाचारमा डुबुल्की लगाउन पाउँदा
आल्हादित हुन्छन्
भ्रष्टाचारको मूल फुटेको छ
ढल फुटे सरह
सर्वत्र गन्हाएको छ
गन्ध नसहनेको लागि
यो गन्ध आउँदैन
भ्रष्टाचारको प्रमाण
भित्ता भित्तामा लेखिएको छ
तर त्यो नदेखेको अभिनय गर्दै
उल्टो हुङ्कार प्रश्न गर्छन्
खै प्रमाण, खै ?
सर्वत्र देखिएको प्रमाणलाई
सिंहदरबारमा सफेदा पोतेजस्तो
प्रमाण ‘ह्वाईटवास’ गर्नु पर्दा
फलामको चिउरा चपाउन पुगेका दासहरू
लुट्दा जति आल्हादित थिए
त्यति तिलमिलाएका छन् अहिले
कोही रोइकराइ गरिरहेका
कोही निडर भएको अभिनयमा
कोही फरार, कोही काँडे तारमा
कोही अझ निराकार हुन खोज्दै
जुराएको चारको तयारीमा
असङ्ख्य बूँदहरूको सम्मिलन
उद्गम भएको छ दिव्य हाँसोमा
तर ’अन्तिम हाँसो’ कसको हुने हो?
दासहरूको कि दिव्य चेतनाको?
उदाउँदै गरेको उदयाचलमा