काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान बिहीबार रिहा भएका छन् । उनलाई गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो ।
पाकिस्तानी सञ्चार माध्यम डनका अनुसार रिहा भएपछि उनी शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने छन् ।
बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा तीन न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको हो । प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको उक्त इजलासले उनको गिरफ्तारीलाई अमान्य र कानुनसम्मत नभएको जनाएको छ ।
आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्नसमेत आदेश दिएको छ । उनलाई शुक्रबार ११ बजे अदालतमा उपस्थित हुन भनिएको छ । बिहीबार अल कादिर ट्रस्ट प्रकरणमा नेसनल अकाउन्टिबिलिटी ब्युरोले गरेको गिरफ्तारीलाई अदालतले अमान्य भएको बताएको हो । उनलाई रिहा गरे पनि अहिले घर जान भने नपाउने अदालतको आदेशमा उल्लेख छ ।
‘पेसीको समयमा खान इस्लामाबाद पुलिसको सुरक्षामा रहनेछन् । पुलिस लाइन मुख्यालयमा आफूले भेट्न चाहेका आफन्त र कानुन व्यवसायीको नाम लिस्ट भने खानले दिनुपर्नेछ‚’ प्रधानन्याधीश बन्दियालको भनाइलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।
पूर्वप्रधानमन्त्री खानले भने अदालतमा आफूलाई इस्लामाबादभन्दा बाहिर रहेको आफ्नो फार्म हाउसमा फर्किनका लागि स्वीकृति दिन आग्रह गरेका थिए । आदेशपछि खान सर्वोच्च अदालतको हिरासतमा रहने र आफ्ना नजिकका आफन्तहरूसँग मात्र भेट्न सक्ने खानका वकिल बाबर अवानले बताए । उनी पक्राउ परेपछि पाकिस्तानका विभिन्न सहरहरूमा प्रदर्शन चर्किएको थियो ।