मस्को । रूसको एक लडाकू समूह, वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले शुक्रबार मस्कोको परम्परागत सेना पूर्वी युक्रेनको हटस्पट शहर बखमुत नजिकैको आफ्नो स्थानबाट ‘पछि हट्न’ लागेको बताएका छन् ।
रूसको रक्षा मन्त्रालयले बाखमुतको उत्तरमा बलियो रक्षात्मक पोजिसन खडा गर्न सेनालाई पुनः तैनाथ गरेको घोषणा गरेलगत्तै उनले यस्तो टिप्पणी गरेका हुन् । प्रिगोजिनले सामाजिक सञ्जालमा पोस्ट गरेको अडियो वक्तव्यमा भनेका छन्, ‘यसलाई ‘रिग्रुपिङ’ भनिँदैन, भगाइ हो ।’
प्रिगोजिनले अर्को एक भिडियो सन्देशमा रक्षा मन्त्रालयका एकाइहरू शहरको उत्तर र दक्षिणमा रहेका स्थानहरूबाट ‘भाग्न थालेको’ बताएका छन् । ‘सैन्य इकाइहरू असफल भइरहेका छन् । मोर्चा ढल्दैछ’ क्रेमलिनका सहयोगी रहेका उनले बताए ।
युक्रेनी सेनाले बाखमुत नदीको जलाशय र सामरिक उचाईमा रहेका स्थान कब्जा गरेको उनले बताए ।
कीएभको सेनाले यस पहिले रूसी सेनाले नियन्त्रणमा लिएको अर्को सानो शहर चासिव यारबाट बाखमुत जाने बाटोलाई पनि नियन्त्रणमा लिएको थियो । उनको दाबीलाई स्वतन्त्र पुष्टिका लागि एएफपीले गरेको प्रयास सफल हुन सकेन ।
यसअघि शुक्रबार युक्रेनले बाखमुत नजिकैको केही भूभाग फिर्ता लिएको दाबी गरेको थियो । यद्यपि, रूसले बाखमुत नजिकैको पूर्वी मोर्चाको ९५ किलोमिटर (६० माइल) क्षेत्रमा युक्रेनी आक्रमणलाई प्रतिकार गरेको बताएको छ ।
प्रिगोजिनले भने, ‘सूचनाको क्षेत्रमा रक्षा मन्त्रालयले स्थितिलाई छिपाउने प्रयास गरेको छ । यो अघि बढेको छ र यसले रूसका लागि विश्वव्यापी त्रासदी निम्त्याउनेछ । यस कारण हामीले तुरुन्तै झूट बोल्न छोड्नुपर्छ ।’
प्रिगोजिन र परम्परागत सेना प्रमुखहरूबीचको प्रतिद्वन्द्विता बाखमुतको लडाइँको क्रममा सतहमा आएको छ, जुन द्वन्द्वको सबैभन्दा लामो र रक्तपातपूर्ण थियो । प्रिगोजिनले रूसी रक्षा मन्त्रालयले गोलाबारुद उपलब्ध गराउन अस्वीकार गरेको दाबी गर्दै आएको छ ।