काठमाडौं, १० मंसिर । ‘नपाउनेले केरा पायो, बोक्रासँगै खायो’ भन्ने उखान पक्कै पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका लागि बनाइएको होइन होला । यो उखानसँग मिल्दोजुल्दो व्यवहार गत मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा थापाले देखाएका कारण त्यहाँ उपस्थित पत्रकारहरुले यो कुरा सम्झन बाध्य भए ।
बहुदलीय व्यवस्था पुनःस्थापनापछि धेरै प्रधानमन्त्री बने । हरेक प्रधानमन्त्रीले आवश्यकताअनुसार प्रेस सल्लाहकार राखे । तर, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका प्रेस सल्लाहकारले जस्तो प्रधानमन्त्रीकै कुर्चीमा बसेर कसैले पदभार गरेको सम्झना छैन । प्रधानमन्त्री ओलीले नियुक्त गरेका प्रेस सल्लाहकारले जस्तो पद बहाली कार्यक्रम कुन्दन अर्याल, प्रमोद दाहाललगायत अरुले राखेको सम्झना छैन । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको कार्यकालमा खनालका प्रेस सल्लाहकार बनेका यिनै थापाले पनि अहिले जस्तो हर्कत त्यतिबेला गरेका थिएनन् । उनी त्यतिबेला लुसुक्क आए, खुसुक्क गए ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएको बीस महिना पुग्दा पनि सरकार असफल हुनुको कारण उनको सचिवालय हो भन्ने दोष धेरैले दिएका थिए । सोही बमोजिम प्रधानमन्त्रीले योग्य, सक्षम र इमान्दार व्यक्तिहरुलाई नयाँ सचिवालयमा ल्याउलान् भन्ने अपेक्षा थियो । तर, विष्णु रिमाल, राजन भट्टराई, असगर अली, इन्द्र न्यौपानेजस्तालाई निरन्तरता दिएपछि सरकार अलोकप्रिय हुनुको कारण सल्लाहकार होइन, ओली आफ्नै कारणले असफल भएका हुन भन्ने निष्कर्ष निकाल्न कार्यकर्ताहरु बाध्य भए ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारको एउटा बैठक कोठामा प्रधानमन्त्री बस्ने छुट्टै कुर्सी छ । त्यही कुर्सीमा बसेर सरकारी सञ्चारमाध्यमका पत्रकारहरुलगायत निजी क्षेत्रका पत्रकारहरुलाई थापाले अर्ति उपदेश दिए । नवनियुक्त प्रधानमन्त्रीकै झल्को आउने गरी, प्रधानमन्त्रीको कुर्चीमा बसेर अर्ति उपदेश दिइरहेको उत्ताउलो दृश्य देखेर उपस्थित पत्रकारहरु लाजले भुतुक्कै भएका थिए ।
गत कात्तिक २९ गते शुक्रबार प्रेस सल्लाहकारमा नियुक्त भएका थापाले गत मंगलबार प्रधानमन्त्री कार्यालयमा औपचारिक रुपमा काम थालेको बताए । पद बहालीको अवसरमा खादा र माला लगाएर पत्रकारलाई अर्ति उपदेश दिनु थियो भने, उनले आफ्नै कार्यकक्षमा उक्त कार्यक्रम राखेको भए त्यसलाई सबैले सकारात्मक मान्थे । तर, पदीय मर्यादा उल्लंघन गरी प्रधानमन्त्री बस्ने कुर्चीमै बसेर प्रधानमन्त्रीकै जस्तौ शैलीमा उपस्थित पत्रकारहरुलाई निर्देशन दिएको कुरालाई पत्रकारहरुले पचाउन सकेनन् ।
दिनको संकेत बिहानीले गर्छ भनेझै दोस्रो पटक प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त भएका थापाको यो शैलीले उनी मिडियामैत्री बन्लान् भन्ने कुरामा पत्रकारहरुले विश्वास गरेका छैनन् । प्रेस सल्लाहकारको काम आवश्यकताअनुसार प्रधानमन्त्रीलाई सुझाव दिने, प्रधानमन्त्रीले लाए, अह्राएको काम गर्ने मात्र हो । तर, थापाले अन्य मन्त्रालयका प्रेस सल्लाहकारसँग पनि समन्वय गरेर काम गर्ने बताएपछि उनी प्रधानमन्त्रीको मात्र सल्लाहकार होइनन्, अन्य मन्त्रीका प्रेस सल्लाहकारहरुको पनि प्रमुख प्रेस सल्लाहकार हुन् भन्ने जस्तो देखिन्छ । प्रधानमन्त्री ओलीले दुईतिहाइको सरकारको नेतृत्व गरिरहँदा पनि परिणाम हात लाग्यो ‘शून्य’ जस्तै भएपछि ओलीले सचिवालय परिवर्तन गर्ने हल्ला मच्चाए । सचिवालयका सबैले ओलीलाई सफल पार्न राजीनामा दिए । तर, यो हल्ला ‘मुर्खको सल्लाह, खरानीको डल्ला’ भनेझै भयो । धेरैको अपेक्षा थियो, सचिवालय सुधार्ने काम प्रमुख सल्लाहकार विष्णु रिमाल, विदेश विभाग सल्लाहकार राजन भट्टराईलाई हटाएर हुनेछ । यी दुई व्यक्ति यस्तो व्यक्ति हुन्, जसले प्रधानमन्त्री ओलीलाई बीस महिनासम्म बालुवाटारमा मदारीले बाँदर नचाएजस्तो नचाएर राखे । प्रधानमन्त्रीलाई मन्त्री, पार्टीका नेता, कार्यकर्तालगायत सबैबाट टाढा राख्ने काम रिमाल र भट्टराईले गर्दै आए । तर, दोष भने सचिवालयका अन्य सदस्यमाथि थोपरे । यत्ति कुरा पनि प्रधानमन्त्री ओलीले बुझ्न सकेनन् र उनी ‘इम्परर न्यू क्लोथ’का बादशाह जस्तै बने । यिनै अनुहारलाई लिएर ओली अब आफ्नो बाँकी कार्यकालमा सफल होला भन्ने विश्वास कसैलाई छैन । किनभने, ओलीले आफू सफल हुन होइन, ईश्वर पोखरेललाई सफल बनाउन सूर्य थापाजस्ता योग्य तर, असक्षम व्यक्तिलाई प्रेस सल्लाहकारमा नियुक्ति दिएका छन् ।
यसअघिका प्रेस सल्लाहकार कुन्दन अर्यालले घमण्ड गर्दा प्रधानमन्त्री ओलीले उनको कार्यालयलाई डाँडा कटाएर उनको कार्यालय नै ऊर्जा मन्त्रालय पु¥याएका थिए । पत्रकार र प्रधानमन्त्रीलाई नजिक ल्याउने काम अर्यालबाट कहिले पनि भएन । प्रधानमन्त्रीलाई देख्नासाथ मुन्टो लुकाउने अर्यालको प्रवृत्ति प्रधानमन्त्री ओलीलाई मन परेको थिएन । त्यसैले अर्याल प्रधानमन्त्रीको प्रेस सल्लाहकार भए पनि विगत ६ महिनादेखि उनको प्रधानमन्त्रीसँग भेट हुँदैन थियो । अर्याललाई प्रधानमन्त्री ओलीले ‘सेतो बिरालो’को संज्ञा दिएका थिए ।
ओली प्रधानमन्त्रीमा नियुक्त भएको बीस महिना पुग्दा पनि सरकार असफल हुनुको कारण उनको सचिवालय हो भन्ने दोष धेरैले दिएका थिए । सोही बमोजिम प्रधानमन्त्रीले योग्य, सक्षम र इमान्दार व्यक्तिहरुलाई नयाँ सचिवालयमा ल्याउलान् भन्ने अपेक्षा थियो । तर, विष्णु रिमाल, राजन भट्टराई, असगर अली, इन्द्र न्यौपानेजस्तालाई निरन्तरता दिएपछि सरकार अलोकप्रिय हुनुको कारण सल्लाहकार होइन, ओली आफ्नै कारणले असफल भएका हुन भन्ने निष्कर्ष निकाल्न कार्यकर्ताहरु बाध्य भए । किनभने ओलीका सहयोगी, शुभचिन्तक र उनी निकटका कार्यकर्ताले ओलीकै सामु उनको सचिवालय परिवर्तन गर्न धेरै पहिलादेखि आग्रह गर्दै आएका थिए । तर, माछो माछो भ्यागुता जस्तो भयो सचिवालय परिवर्तन । यस घटनाले ओलीको ‘हाइट’ घटेको छ, बदनाम सल्लाहकारहरुको भने ‘हाइट’ बढेको छ ।