बुटवल, १० मंसिर । सिद्धार्थ राजमार्ग निर्माण भएपछि अर्थात २०२८ साल यता हालसम्मको अवधिमा बुटवल–पाल्पा सडक खण्डमा मात्रै ५ सय बढी यात्रुको ज्यान गएको छ । सवैभन्दा बढी २०५४ सालमा एउटै घटनामा ३२ जना यात्रुको ज्यान गएको प्रहरीको तथ्यांक छ । धेरैले यसलाई मृत्युमार्गको रुपमा समेत व्याख्या गर्ने गर्छन् ।
२०७३ साल असार २ गते लुम्विनी मेडिकल कलेज तानसेन पाल्पामा कार्यरत २ जना बरिष्ठ चिकित्सक यो सडकको शिकार बने । हरेक बर्ष यस सडकले दर्जन भन्दा बढीको ज्यान यसरी नै लिई रहेको छ । परिवारका लागि मात्र होईन मुलुकका लागि आशा लाग्दा धेरै जनाको ज्यान बुटवल–पाल्पा खण्डको शिद्धबाबा सडकले लिएको छ । बुटवल–पाल्पा सडक खण्डको यो क्षेत्र अत्यन्त त्रासदीपुर्ण छ । हरेक यात्रु नजिकैको शिद्धबाबा मन्दिरलाई प्रार्थना गरेर उक्त सडक खण्ड पार गर्छन् । बुटवलदेखि पाल्पा सम्मको यो सडकको समस्या नेपालका अन्य सडकको समस्या भन्दा फरक प्रकृतिको छ । चालक वा सडकको कमजोरीले होइन, सडकमाथि भिरबाट आउने पहिरोका कारण यहा वर्षेनी यात्रुको ज्यान जान्छ ।
२०७२ सालको बजेट भाषणमा अर्थमन्त्री बिष्णु पौडेलले शिद्धबाबा सडकखण्डमा सुरुङ बनाउन भन्दै विस्तृत अध्ययनका लागि बजेट बिनियोजन गरे । जुन अहिले निर्णायक अवस्थामा पुगेको छ । बहुप्रतिक्षित सिद्धार्थ राजमार्गको शिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने बजेट उपलब्ध गराउन अर्थमन्त्रालय तयार भएपछि दुर्घटनाको जोखिम अब निकट भविष्यमै हट्ने भएको छ । डिपिआरमा उल्लेख भए बमोजिम सुरुङमार्ग निर्माणका लागि चाहिने १० अर्व १५ करोड बजेटको स्रोत अर्थमन्त्रालयले हालैमात्र सुनिश्चित गरेको हो ।
रुपन्देहीका सांसद एवं तत्कालीन एमालेका उपमहासचिव बिष्णु पौडेलको समन्वयमा २०७० साल असार १४ गते सुरक्षित यात्रा अभियान नेपालले तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको कार्यकक्षमासडकको सुरक्षाका लागि ३ वटा विकल्प प्रस्तुत गरेको थियो । नेता पौडेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांण र तत्कालीन मुख्य सचिव लिलामणी पौडेल लगायतको उपस्थितिमा वातावरण ईन्जिनियर विवेकराज बस्यालले शिद्धबाबा सडकको यात्रा सुरक्षित गराउने विकल्प प्रस्तुत गरेका थिए ।
कार्यक्रमको केहीदिन पछि आएको त्यस बेलाको बजेटले सडक सुरक्षाको विकल्प अध्ययनका लागि केही रकम समेत विनियोजन भएको थियो । बुटवल–पाल्पा सडक सुरक्षित गराउन सुरुङमार्ग बनाउनुपर्ने माग गर्दै सांसद सोमप्रसाद पाण्डेको अगुवाइमा पाल्पाली सभासदहरुको टोली तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशिल कोइरालाकोमा समेत पुग्यो । प्रधानमन्त्रीको आश्वासन समेत टोलीले प्राप्त ग¥यो । तर २०७१ सालको बजेटले यो सडकलाई छुन सकेन ।
सोही निर्वाचन क्षेत्रका सांसद रहेका पाण्डेले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आए । पाण्डेले सरकारले शिद्धबाबा सडक खण्ड सुरक्षित गर्ने विकल्प नखोजे आफु अनसन बस्ने समेत घोषणा गरेर सुरुङमार्गका लागि दबाब श्रृजना गरे । जसले पनि सरकारलाई सुरुङ बनाउनका लागि बाध्य बनायो ।
२०७२ सालको बजेट भाषणमा अर्थमन्त्री बिष्णु पौडेलले शिद्धबाबा सडकखण्डमा सुरुङ बनाउन भन्दै विस्तृत अध्ययनका लागि बजेट बिनियोजन गरे । जुन अहिले निर्णायक अवस्थामा पुगेको छ । बहुप्रतिक्षित सिद्धार्थ राजमार्गको शिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने बजेट उपलब्ध गराउन अर्थमन्त्रालय तयार भएपछि दुर्घटनाको जोखिम अब निकट भविष्यमै हट्ने भएको छ । डिपिआरमा उल्लेख भए बमोजिम सुरुङमार्ग निर्माणका लागि चाहिने १० अर्व १५ करोड बजेटको स्रोत अर्थमन्त्रालयले हालैमात्र सुनिश्चित गरेको हो । अर्थमन्त्रालयले स्रोतको सुनिश्चितता गरेपछि अव सुरुङमार्ग निर्माणको बाटो खुलेको छ ।
सुरुङमार्ग निर्माणका लागि गत असारमा डिपिआर सकिएको भएपनि स्रोतको सुनिश्चितता नहुँदा टेण्डरको प्रक्रिया अगाडि बढ्न सकेको थिएन । सरकारले बजेटको प्रवन्ध गरेपछि अव भने टेन्डर आह्वानको बाटो खुलेको छ । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता सहित बहुवर्षिय ठेक्काको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सहमति प्रदान गरेको छ । अब छिट्टै सडक विभागले ग्लोबल टेण्डर आह्वान गर्नेछ ।
शिद्धबाबामा सुरुङमार्ग निर्माणको सपना बिगत लामो समयदेखिको हो । गएको निर्वाचनमा समेत नेकपाका महासचिव विष्णु पौडेलले सुरुङमार्ग निर्माणलाई आफ्नो चुनावी एजेण्डा बनाएका थिए । २०७२ सालमा पौडेल अर्थमन्त्री हुँदा सुरुङमार्ग निर्माण गर्ने भन्दै यसका लागि बजेट समेत छुट्टयाएका थिए । आफ्नो निर्वाचन क्षेत्रमा आउँदा हरेक कार्यक्रममा उनले यो विषयलाई महत्वका साथ उठाउँदै आएका थिए । अब भने अर्थले बजेटको स्रोत सुनिश्चित गरेसँगै अब यसका लागि टेन्डर प्रक्रिया अघि बढ्ने पौडेलले बताए । ‘शिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि अव ब्रेक थ्रु भएको छ’, दृष्टिसँग उनले भने ।
सडक विभागका महानिर्देशक केशव शर्माले अव एक डेढ महिनाभित्रै ग्लोवल टेण्डर प्रक्रिया अघि बढ्ने बताए । “अर्थ मन्त्रालयले स्रोतको सुनिश्चितता गरेसँगै अव टेण्डर आह्वानका लागि प्रक्रिया अघि बढ्छ”, उनले भने– “अव एक डेढ महिनाभित्रै टेण्डरको काम सुरु हुन्छ ।”
यो सडक हुँदै बाह्य पर्यटकहरु समेत पाल्पा रिडी, पोखरा र मुक्तिनाथसम्म घुम्न जाने गर्छन् । पाल्पाको ऐतिहासिक रानीमहल, श्रीनगरलगायतका क्षेत्र पर्यटकका आकर्षण केन्द्रबिन्दु हुन् । भैरहवामा निर्माण सम्पन्न हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि अव यो सडक हुँदै धेरै पर्यटकको आवागमन हुनेछ । त्यसैले पनि यो सडकमा सुरुङमार्ग जरुरी भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।
यसरी बन्यो डिपिआर
सिद्धार्थ राजमार्गमा पर्ने शिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि सरकारले गतवर्ष स्वीटजरल्याण्ड सरकारलाई आग्रह गरेको थियो । गतवर्षको कात्तिकमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाले डिपिआर तयार गरिदिन आग्रह गर्दै स्विस सरकारलाई पत्राचार गरेको थियो ।
स्वीट्जरल्याण्डले नै यो सुरुङ मार्गको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । सरकारको पत्रपछि डिपिआरमा पनि सहमति जनायो । त्यसपछि करिव ६ महिना लगाएर सुरुङ मार्गको विस्तृत अध्ययन गत असारमा पूरा गरेको छ । डिपिआरमा उल्लेख भए अनुसार करिब ३ किलोमिटर सुरुङमार्ग निर्माणका लागि १० अर्व १५ करोड रुपियाँ बजेट लाग्ने छ भने करिव तीन वर्षमा यसको निर्माण पूरा भइसक्ने छ । पहिरोको अति जोखिम क्षेत्र मानिने सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो शिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब तीन किलोमिटर क्षेत्रमा सुरुङमार्ग बनाउन सरकारले योजना अघि सारेको हो ।
शिद्धबाबा सुरुङको विस्तृत अध्ययन प्रतिवेदनका आधारमा स्रोतको सुनिश्चितता गरिएको अर्थमन्त्रालयले जनाएको छ । सुरुङ मार्ग निर्माण भए पहिरोको कारण वर्षेनी दर्जनौको संख्यामा हुने अकाल मृत्यु रोकिने अपेक्षा गरिएको छ ।
बुटवल–दोभान सडक खण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने ढुंगे पहिरोमा परि पछिल्लो १० वर्षमा करिब ७० जनाले ज्यान गुमाएका छन् । यसअघि अर्थ मन्त्रालयले ६ वटा सुरुङ मार्गको अध्ययन गर्न दातृ मुलुकहरूसँग प्राविधिक सहयोग दिन प्रस्ताव गरेको थियो । – लक्ष्मण पौडेल