काठमाडौं । एकातिर नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार्न दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा समिति गठन गरिएको छ । अर्कोतर्फ समितिको प्रतिवेदन नआउँदै निगम व्यवस्थापनले नयाँ जहाज किन्ने विवादास्पद निर्णय सार्वजनिक गरेको छ ।
निगम सञ्चालक समितिका सदस्य सुधिर राईको संयोजकत्वमा गठित नौ सदस्यीय उपसमितिले ट्रकरुट र स्टलरुटका लागि ३ वटा जहाज खरिद गर्ने निर्णय गरिएको हो । जबकि निगमसँग भएका ६ वटा चिनियाँ जहाज वर्षौंदेखि ‘ग्राउण्डेड’ छन् ।
निगम स्रोतका अनुसार ‘ट्रंकरुट’ र ‘स्टलरुट’का लागि केही वर्ष अगाडि निगमले वाई–१४ चारवटा एमए–१६ दुईवटा जहाज चीनसँग सहुलियत ऋणमा खरिद गरिएको थियो । पहाडी क्षेत्र र प्रमुख सहरमा उडाउने गरी ल्याइएको उक्त चिनियाँ जहाजले केही समयसम्म सेवा दिएको थियो । तर, तत्कालीन कार्यकारी अध्यक्ष सुशील घिमिरेले उक्त जहाज बिनाकारण ‘ग्राउण्डेड’ गर्ने निर्णय गरे । जसबाट निगमले करोडौं नोक्सानी व्यहोर्नुपरेको छ ।
भ्रष्ट र कमिशनखोर व्यवस्थापनका कारण निगम दिनप्रतिदिन ओरालो लागेको छ । भएका जहाजलाई कसरी सञ्चालन गर्ने भन्ने चिन्ता व्यवस्थापनलाई छैन । कमिशन खानकै लागि नयाँ जहाज किन्ने निर्णय गरेको छ । जबकि, निगमले ४ वटा एयरवस किनेको ब्याजसमेत तिर्न सकेको छैन । ५०औँ अर्व ऋणमा डुबेको निगमलाई थप डुबाउन नयाँ जहाज किन्ने निर्णय गरिएको छ ।
निगम सूत्रका अनुसार पर्यटनमन्त्री सुदन किरातीलाई फसाउन व्यवस्थापनले उक्त जहाज ‘जिटुजी’ माध्यमबाट खरिद गर्ने योजना बनाएको छ । जबकि, बैंकबाट ऋण लिएर खरिद गरिने उक्त जहाज ‘जिटुजी’ गर्न मिल्दैन । नेपालको खरिद ऐनले पनि जिटुजी गर्ने अनुमति दिँदैनन् ।
सो स्रोतका अनुसार मन्त्रीलाई कमिशनको प्रलोभनमा पारेर ठूलै कमिशन कुम्ल्याउन कार्यकारी अध्यक्ष युवराज अधिकारीले यो योजना बनाएका हुन् । अधिकारीले जहाज खरिदमा मन्त्री किरातीलाई फसाउन मन्त्रिपरिषद्बाट निर्णय गराउने योजना बनाएका छन् । त्यसमा मन्त्री किराती पनि सहमत भएबाट मन्त्री किराती पनि ‘खानेदाउ’मा लागेको स्पष्ट हुन्छ ।
पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्दा किरातीको एकसूत्रीय अभियान निगम सुधार थियो । त्यसका लागि उनले वर्तमान भ्रष्ट व्यवस्थापन फाल्ने योजना बनाएका थिए । तर, प्रधानमन्त्री प्रचण्ड निकट बिचौलियाहरुले भ्रष्ट अधिकारीलाई जोगाए । प्रचण्डको आड पाएपछि अधिकारीले प्रचण्ड र सुदन किरातीलाई विवादमा पार्न कहिले दुईवटा एयरबस किन्ने त कहिले आन्तरिक उडानका लागि नयाँ जहाज किन्ने योजना बनाइरहेका छन् ।
मन्त्रिपरिषद्को २०७९ असार ६ गते बसेको बैठकले भ्रष्टाचारको आरोपमा बर्खास्त गरेका युवराज अधिकारीलाई सर्वोच्च अदालतको अन्तरिम आदेशले जोगाएको पनि एक वर्ष बित्न थालिसक्यो । तर मुद्दाको टुंगो अझैसम्म लाग्न नसकेको कारण निगममा अधिकारी र क्याप्टेन उद्धव घिमिरेको गिरोहले लुट मच्चाइरहेका छन् ।
निगमकै महिला कर्मचारीहरूलाई यौनजन्य व्यवहार गरेको आरोप लागेका अधिकारीमाथि अब सार्वजनिक लेखा समितिले छानबिन गर्ने पूर्वमन्त्री प्रेम आलेले दृष्टिलाई जानकारी दिए ।
प्रेम आलेसँग सुरक्षित रहेको अधिकारीको मोबाइलबाट धेरै गोप्य कुरा खुल्ने आलेले बताए । आलेका अनुसार अष्ट्रेलियामा बैंक खाता खोलेकोदेखि जनकराज कालाखेतीलाई विदेश पठाएर जहाजका दलालहरु भेटेसम्मको रेकर्ड उनको मोबाइलमा सुरक्षित छ ।
त्यसबाहेक निगमका महिला कर्मचारीहरुलाई राति राति ‘म्यासेज’ पठाएर यौनजन्य काम गरेको रेकर्ड पनि उनको मोबाइलमा सुरक्षित छ । यसमा भ्रष्ट र नैतिकपतन व्यक्तिलाई अदालतले त जोगाएकै छ, रकार पनि त्वम् शरणम् गर्दैछ ।