काठमाडौं । देशमा आर्थिक मन्दीको बेला पनि बेथिती कुन हदसम्म बढेको छ भन्ने कुरा काठमाडौको गोकर्णेश्वर नगरपालिकाको हालैको एक कार्यक्रमले देखाएको छ । नगरपालिकाको एक कार्यक्रम नाटक गरी महंगो रिसोर्टमा भोज गरी २० लाख रुपैयाँ सिध्याइएको छ ।
गत शुक्रबार र शनिबार नगरपालिकाले कर्मचारीका लागि क्षमता अभिबृद्धि विकास तालिम आयोजना गरेको थियो । धुलिखेलको महंगोमध्येको एक हिमालय दृश्य रिसोर्टमा दुई दिने आवासिय कार्यक्रम राखिएको थियो । जहाँ तालिमका नाममा मदिरा पार्टी समेत भएको छ । जसमा नगरपालिकाको २० लाख रुपैयाँ खर्च भएको स्रोत बताउँछ ।
यो कुरा थाहा पाएपछि मेयर दीपक रिसाल तथा प्रशासकीय अधिकृत बैकुन्ठ प्रसाद सापकोटामाथि स्थानीयले आक्रोश पोखेका छन् । नगरपालिकाभित्रका कतिपय स्थानमा आधारभुत विकास समेत नपुगेको अवस्थामा रिसोर्टमा भोज गरे जनताको कर हिनामिना गरेको उनीहरुको आरोप छ ।
‘यो कार्यक्रम एक त आवश्यक नै थिएन, भए पनि नगरपालिकामै गर्न सकिन्थ्यो,’ एक वडाअध्यक्ष भन्छन्,‘तर, सरकारी बजेटमा मोज गर्नकै लागि मात्र त्यसरी महंगो रिसोर्टमा कार्यक्रमको आवरणमा खर्च गरिएको हो ।’
त्यसो त नगरपालिकाभित्र विगतदेखि नै अनेक हिनामिना हुँदै आएको छ । नगरपालिकामा आठौं तहका सिनियर कर्मचारी हुँदा हुँदै छैंटौं तहका भूपेन्द्र बोहरालाई प्रशासनको जिम्मा दिइएको छ । कतिपय करारका कर्मचारी नियुक्तिमा पनि बोहराले चलखेल गरेको आरोप लाग्दै आएको छ ।