काठमाडौं । गत बुधबार धादिङको गल्छी बजारमा डरलाग्दो घटना सार्वजनिक भयो । होटलको बिल तिर्ने विवादलाई लिएर एक महिलाले छुरा हानेर ग्राहकको हत्या गरिन् । घटनापछि गल्छी बजार तनावग्रस्त बन्यो । होटलमै तोडफोड भयो ।
घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान गर्दा प्रहरी अधिकारी अचम्ममा परेका छन् होटल सञ्चालिकाको कतुर्त सुनेर ।
होटल सञ्चालिका स्थानीय सरस्वती(सरु) पण्डित हुन् । उनको होटलका नियमित ग्राहक थिए स्थानीय २७ वर्षिया विनोद थापा मगर । बुधबार पनि उनी मदिरा पिउन त्यस होटलमा गए । तर, निस्कने बेला बिलको विवाद भयो । त्यही क्रममा सरु, उनका छोरा निरज र अर्का किरण रानाले ग्राहकलाई छुरा हानेर हत्या गरिदिए । विनोदलाई काठमाडौंको नर्भिक अस्पताल पु¥याइएकोमा उनको मृत्यु भयो । तीनै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
यो मुद्दामा पक्राउ परेकामाथि हत्याको मात्र होइन मानब बेचबिखनको समेत मुद्दा दर्ता गरिएको छ । किनकी, सरस्वतीले चलाउने होटल राजमार्गको एउटा सामान्य होटल थिएन, यहाँ युवतीहरुको लाइन लगाएर वेश्यावृत्ति धन्दा चलाउने गरिन्थ्यो । गाउँका गरिब केटीहरुलाई होटलमै राखेर यौनधन्दा सरुले चलाउँदै आएको खुलेको छ । यही धन्दाबाट उनले करोडौंको सम्पत्ति जोडेकी थिइन् । होटलको भवनका साथै हालै मात्र उनले धन्दाबाट कार पनि किनेकी थिइन् ।
विनोदको हत्यापछि स्थानीयले सो कार पनि जलाइदिएका छन् भने होटलमा पनि तोडफोड गरेका छन् । आमा–छोरा नै थुनामा परेपछि होटल बन्द भएको छ ।
यो होटलका कारण स्थानीयहरु पनि लज्जित हुँदै आएका थिए । अवैध धन्दाका कारण गल्छी क्षेत्रकै बदनाम भएको स्थानीयको भनाई छ । स्थानीयले पहिला पनि यसबारेमा प्रहरीमा सूचना दिदै आएका थिए । तर, प्रहरीलाई पनि सरुले सेटिङ मिलाउँदै आएको आरोप लागेको छ ।
‘उनको यहाँ डनगिरी थियो,’ एक स्थानीय भन्छन्,‘कसैले उसको विरुद्ध कुरा गर्न सक्दैन थिए । गुन्डासमेत पालेर अवैध धन्दा चलाउँदै आएकी थिइन् ।’
पक्राउ परेपछि उनका टिकटक पनि भाइरल भएका छन् । कतिपय टिकटक बियर पिइरहेको बनाएकी छिन् । एउटा टिकटकमा २० वर्षअघि आफुलाई श्रीमानले छाडेको र एक्लै संघर्ष गर्दै आएको बताएकी छिन् ।
कतिपय किशोरीलाई धम्काएरसमेत धन्दामा लगाउने गरेकी थिइन् । यसरी अपराधबाट कमाएको उनको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट समेत छानबिन गराउनेबारे प्रहरीमा छलफल चलिरहेको छ ।
हुन त यो मात्र होइन, धादिङका राजमार्ग क्षेत्रमा यस्ता धेरै होटलमा वेश्यावृत्ति धन्दा चल्ने गरेको र स्थानीय प्रहरीको संरक्षण रहेको स्रोत बताउँछ ।