काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युट प्रालिमा उपचार गराउँदा छुट पाउने भएका छन् । छुट दिने विषयमा बैंक र अस्पतालबीच सम्झौता भएको हो ।
बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलका निर्देशक सञ्जीव राजभण्डारीले हस्ताक्षर गरेको जनाइएको छ ।
सम्झौताअनुसार चिरायु नेसनल हस्पिटलले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई बेड चार्ज, डाइग्नोस्टिक प्रोस्युटर, फार्मेसी तथा हेल्थ प्याकेजलगायतका स्वास्थ्य सेवाहरू आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्ने जनाइएको छ । स्वास्थ्य चेकजाँचमा १५ प्रतिशत छुट हुने सम्झौतामा उल्लेख रहेको बैंकले जनाएको छ ।